अर्थ

किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट

जुनार बगैचामा किरा मार्न प्रोटिनबेट विषादी छर्दै एक स्प्रकर्ता।  तस्विर अनिल भण्डारी / नागरिक

सिन्धुली –  लकडाउनकै बीचमा सिन्धुलीका जुनारको बगैचामा बर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सरू गरिएको छ। जुनार क्षेत्रमा नमुनाको रूपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गत बर्ष प्रभावकारी देखिएपछि यस बर्ष जुनारको बगैचामा प्रोटिनबेट (औषधि) छर्न सुरू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ। 

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि मुलुक लकडाउन भइरहेकै समयमा सिन्धुलीका जुनार बगैचामा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सुरू गरिएको हो। जिल्लाकै मुख्य नगदे बालिको रुपमा रहेको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले आक्रमण गर्न थालेपछि उक्त किरा नियन्त्रणका लागि जुनार बगैचामा प्रोटिन बेट छर्नका लागि स्प्रे कर्ता खटाइएको छ। जुनार तथा सुन्तलाजात फलफुलको औसा किरा व्यवस्थापनका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्र्तगत प्रोटिनबेट छर्न सुरु भएको छ, जुनार सुपरजोन कार्यालयका प्रमुख देबराज अधिकारीले भने, सुनकोसी गाँउपालिका–७ मझुवाबाट जुनारको किरा व्यवस्थापन गर्न स्प्रे सुरु भएको छ।

लकडाउनकै बिचमा प्रोटिनबेट खरिद गरि बगैचामा छर्न सुरू भएको हो। प्रोटिनबेट कमलामाई नगरपालिका ३ जलकन्या, गोलञ्जोर गाँउपालिका विभिन्न वडाहरुमा वितरण गरि स्प्रे गर्न सुरु भएको छ। कोरोना भाइरसका कारण बैशाखको दोस्रो साताबाटै प्रोटिनबेट स्प्रे गर्नुपर्ने भएपनि ढिलो गरि स्प्रे गर्न सुरु भएको किसान बताउँछन्। किरा व्यवस्थापनका लागि स्प्रे विगतका बर्षमा बैशाखकको दोस्रो हप्ताबाटै सुरु गर्नुपर्ने भएपनि यसबर्ष ढिलो सुरु गरिएको जुनार किसान लोकबहादुर आलेले बताए। ५० प्रतिशत किसानको रकम र बाकी ५० प्रतिशत नेपाल सरकारको अनुदानमा प्रोटिनबेट खरिद गरि जुनार बगैचामा स्प्रे गरिदै आएको छ।

क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको विधि अनुसार फलेका ३ बोट मध्ये एक बोटमको निश्चित ठाँउमा चिन्हो लगाई एक भागमा प्रोटिन बेटमा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको एक पटकका दरले जम्मा १० पटक स्प्रे गर्नुपर्ने कार्यालय प्रमुख अधिकारीले जनाए। उनका अनुसार स्प्रे गर्नका लागि जुनार बगैचामा ३० जना स्प्रेकर्ता खटाइएको छ। जुनारको फल कुहाउने औषाधि पार्ने किराको पोथी झिगाले फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक जहानसिंह कार्कीले बताउँछन्। 

यो सस्तो र भरपर्दा विषादी हो, उनले भने–‘स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन्, र मर्छन्। जुनारको फल लाग्ने सिजनमा किराले जुनारमा आक्रमण गर्ने र फल भित्र औषा पारेपछि फलमा गुलियो पस्दै जाँदा किराले खोक्रो पार्ने समस्या जुनारमा २०७२ सालबाटै सुरु भएको थियो। कोरोना भाइरसका कारण जुनार किसानहरु सेवा लिन कार्यालयमा आउन नपाएकाले यस बर्ष समस्या भएको किसानहरु बताउछन्। उत्पादित कृषिजन्य सामाग्रीको बजारीकरणमा समेत समस्या भएको उनिहरुको भनाई छ। 

 

 

प्रकाशित: २८ वैशाख २०७७ ११:०० आइतबार

लकडाउन जुनार सिन्धुली