काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको वहुपक्षिय असरलाई न्यूनीकरण गर्न केन्द्रित रहेर बनाउने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले आइतबार संघिय संसदको संयुक्त बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै नयाँ बजेट मुलत कोभिड १९ को सेरोफेरोमा केन्द्रित हुने जानकारी दिए।
खतिवडाले बजेट कोभिड १९ मा केन्द्रित भए पनि कार्यान्वयनको चरणमा भएका आयोजनाहरुलाई भने प्रयाप्त रकमको व्यवस्था गर्ने जानकारी दिए। अति आवश्यक बाहेक बजेटमा कुनै पनि नयाँ आयोजना समावेश नहुने उनले संकेत गरेका
अर्थमन्त्री खतिवडाले कोभिड १९ ले असर पारेका क्षेत्रको पुनरुत्थान गर्न आगामी बजेटमा विभिन्न नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए। नयाँ रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन बढाउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेलगायतका कार्यक्रम बजेटमा समेटिने छन्।
'आगामी बजेट मूलतः कोभिड १९ को कारणबाट परेको बहपक्षीय असरको निराकरण, पूवार्धार सहितको गुणस्तररिय स्वास्थ्य सेवाको विस्तार, निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थान र राष्टिय पूँजी निमार्णमा प्रोत्साहन गर्ने किसिमले निर्माण हुनेछ,' अर्थमन्त्री खतिवडाले भने, 'थप काम र रोजगारीको सिर्जना, सामाजिक सुरक्षा र संरक्षणतर्फ बजेट केन्द्रित हुनेछ।'
मुलुकको संविधानले जेठ १५ मा संघले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैअनुसार अर्थमन्त्री खतिवडाले संसदमा आइतबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। आगामी जेठ २ मा राष्टपति विद्यादेवी भण्डारीले आगामी बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
अर्थमन्त्री खतिवडाले कोभिड १९ ले असर पारेका क्षेत्रको पुनरुत्थान गर्न आगामी बजेटमा विभिन्न नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए। नयाँ रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन बढाउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेलगायतका कार्यक्रम बजेटमा समेटिने छन्।
खतिवडाले आगामी बजेटले कोभिड १९ ले पारेको असरबाट अर्थतन्त्रलाई जोगाउने र पुनरुत्थान गर्ने गरी मुख्य प्राथमिकता दिए पनि संचालनमा रहेका ठुला आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि साधनको कमी हुने नदिने बताए।
उनले विगतका वर्षहरुमा जस्तै बजेटमा सडक, जलविद्युत, सिंचाई, आवास , खानेपानीलगायतका आयोजना निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए। खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीतिक मार्ग, स्थानीय तहलाई केन्द्रसँग जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताए।
उनले शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई उच्च प्राथमिकतामा राखिने जानकारी दिए।
उनका अनुसार सुरक्षित आवास, महत्वपूर्ण सार्वजनिक भवन र अन्य शहरी पूर्वाधार निर्माण तथा विकासमा जोड दिएको बजेट आउने छ।
बजेटले भूकम्प पछिको पुनर्निर्माणका अधिकांश आयोजनाहरु आगामी वर्ष पूरा गर्ने लक्ष्य राखेको छ। निर्धारित समय र लागतमा आयोजना सम्पन्न गर्ने खालका नीति तर्जुमा गर्ने र अनुगमनलाई तीव्रता दिइने खतिवडाले बताए।
हाल संचालनमा रहेका र १५ औं योजनामा परेका कतिपय आयोजनालाई फेरी प्राथमिकतामा राखिने छ। नदी नियन्त्रणका आयोजनालाई पनि प्राथमिकतामा राखिएको खतिवडाले जानकारी दिए।
खतिवडाले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले चालेका कदम (बन्दाबन्दी) लगायतबाट निजी क्षेत्रका व्यवसायमा परेको असरलाई कम गर्न बजेटले कर सहुलियत दिने र मौद्रिक उपकरणहरुबाट थप सहुलियतहरु प्रदान गर्ने बताए।
यस्तै बजेटले कोभिड १९ का कारण हुने आन्तरिक स्रोतको कमीलाई वैदेशिक सहायतबाट पुरा गर्ने लक्ष्य राखेको छ।
विगतका सरकारहरु स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा उदासिन देखिदै आएका छन्। पछिल्ला केही वर्षदेखि अस्पताल, स्वास्थ्य चौकीलगायतका पूर्वाधार बन्न सकेका छैनन्। अहिले कोभिड १९ को समस्या पछि भने सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा विशेष चासो दिने भएको छ।
खतिवडाले कोभिड १९ को महामारी विरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सवल र सुदृढ बनाउने भन्दै संघ, प्रदेश र स्थानीयतहको सहलगानीमा स्वास्थ्य पूर्वाधारको विकास, जनशक्तिको विकास र स्वास्थ्य विमाका कार्यक्रम ल्याउने संकेत गरेका छन्।
कोरोना महामारीका कारण स्वदेश र वैदेशिक रोजगारी गुमाएकालाई पुनरुत्थान गर्ने कार्यक्रम ल्याउने खतिवडाले बताए। उनले रोजगारी सिर्जना गर्न र स्वरोजगार बनाउनका लागि कृषि, साना, घरेलु तथा मझौला उद्यमहरु र सेवा क्षेत्रमा संलग्न हुने गरी कार्यक्रमहरु ल्याइने जानकारी दिए। रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रमहरुलाई तीनै तहको सहकार्यमा एकीकृत रुपमा गरिने छ।
नेपाली अर्थतन्त्रको भरपर्दो माध्यम भनिएको कृषि उत्पादनमा अहिले टुटेको सम्बन्धलाई जोडेर कृषि क्रान्ति ल्याउन आगामी बजेट प्रयाप्त साधन र स्रोत परिचालन गर्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए।
बजेटले नीजि क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकता दिनेछ। कोभिड १९ का कारण सबैभन्दा प्रभावित होटल, रेष्टुरेन्ट, एयरलाइन्स, टाभल, टेकिड तथा पर्वतारोहणलगायत पर्यटन क्षेत्रको पुनरुत्थानमा बजेटले विशेष प्राथमिकता दिने बताइएको छ।
प्रकाशित: २८ वैशाख २०७७ ११:०३ आइतबार