अर्थ

बेलिब्रिज निकाल्ने तयारीसँगै खाद्य एबं निर्माण सामग्री ढुवानीको हतारो

खोटाङ– सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।

खोटेहाङ गाउँपालिकाले बेलिब्रिज निकाल्न अगाडि नै उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको निर्णय गरेको केही दिनपछि बिहिबार दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि आवश्यक खाद्य सामग्री तथा वर्षा याम अगाडि नै सार्वजनिक र निजीस्तरका अधुरा आयोजनाको काम सम्पन्न गर्नका लागि आवश्यक निर्माणका सामग्री ढुवानी गर्ने निर्णय गरेको छ । जारी लकडाउन अझै लम्बिने संकेत देखिएको तथा फोक्सिङटारको बेलिब्रिज निकालेपछि लामो र घुमाउरो बाटो प्रयोग गरेर सामान ढुवानी गर्नुपर्ने भएकाले सोभन्दा अगाडि नै आवश्यक खाद्य तथा निर्माण सामग्री भित्र्याउने निर्णय गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

फोक्सिङटारमा हिँउदमा राख्ने र वर्षामा निकालिने बेलिब्रिज आगामी जेठ ३ गतेदेखि निकाल्ने तयारी गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज गत मंसिर २७ गतेदेखि सञ्चालनमा आएको थियो । बेलिब्रिज निकाल्ने सूचना जारी भए लगत्तै खोटेहाङ गाउँपालिकाको मंगलबार बसेको बैठकले बेलिब्रिज निकाल्न अगावै आवश्यक खाद्य तथा निर्माणका सामग्री ढुवानी गरिसक्ने निर्णय गरिसकेको छ ।

खोटेहाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका स्थानीयलाई पुर्वी शहर आउजाउ गर्नका लागि फोक्सिङटारको बेलिब्रिजको बाटो सबैभन्दा छोटो दुरीको हो । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको बेलिब्रिज हटाइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने छोटो बाटो वर्षाभरीका लागि बन्द हुने छ । त्यही भएर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रिज निकाल्न अगाडि आवश्यक सामान भित्र्याएर स्टकमा राख्ने तयारी थालेको जनाएको छ ।

फोक्सिङटारको बेलिब्रिज हटाइएपछि घुमाउरो बाटो उपयोग गरेर सामान ढुवानी गर्नुपर्ने अवस्था आउने भएकाले सो भन्दा अगावै उपभोग्य सामग्री ढुवानी गर्ने र स्टक गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रकाशित: २६ वैशाख २०७७ १२:०९ शुक्रबार

बेलिब्रिज निर्माण_सामग्री ढुवानी