अर्थ

रसुवामा चीज उत्पादन अनिश्चित

रसुवा- रसुवामा यो वर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण जिल्लामा सञ्चालनमा हुँदै आएका छ वटै उत्पादन केन्द्र अहिले बन्द छन् ।

चारवटा चीज उत्पादन केन्द्रका प्रमुखहरू अहिले आफ्नै जिल्ला गएका छन् । थुमन र क्यान्जिन चीज उत्पादन केन्द्रका प्रमुख जिल्लाकै हुन् भने बाँकी केन्द्रका प्रमुख दोलखाका हुन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले उत्पादन केन्द्र कहिलेबाट सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको बताए ।

‘चीज उत्पादनका लागि आवश्यक पर्ने केमिकल छैन, उनले भने, ‘यो सबै बाहिरबाट आउन पर्ने भएकाले समस्या छ ।’ केमिकल डेनमार्क र भारतबाट आयात हुँदै आएको छ । जिल्लाका  छवटै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा एउटा निजी उत्पादन केन्द्र पनि छ ।

उत्पादन केन्द्र नखुल्दा कृषकले दुध बिक्री गर्न पाएका छैनन् । केन्द्रका प्रमुख जिरेलका अनुसार यसअघि कृषकलाई पेस्की दिँदै आएकोमा यस वर्ष त्यो पनि दिन सकिएको छैन । यसले कृषकलाई समस्या परेको उनको भनाइ छ ।

समयमै दुध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट गते वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन भएको थियो ।

जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा आएका छन् । २०७५ सालदेखि थुमन र तातोपानी थप भएका हुन् । तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चीज तथा मखन उत्पादन गर्दै आएका छन् । चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका हुन् ।  

संस्थानले जिल्लाको चन्दनबारी, धुन्चेको पाङलेखर्क, गत्लाङ र लाङटाङ गरी चार स्थानबाट चीज उत्पादन गर्दै आएकोमा गत वर्षदेखि दुई स्थान थप गरेको हो । लाङटाङमा गत वर्ष ४ हजार किलो चीज र ९ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए ।

गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र ३ हजार ९ सय किलो मखन, पाङलेखर्क चीज उत्पादन केन्द्रले ११ हजार ३ सय ८० किलो याक चीज र ३ हजार ९ सय किलो मखन र गत्लाङमा १३ हजार ३ सय किलो याक चीज र ३ हजार ७ सय किलो मखन उत्पादन भएको थियो ।

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।

चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र  लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।

प्रकाशित: २६ वैशाख २०७७ ०८:३५ शुक्रबार

रसुवा चीज उत्पादन