अर्थ

लकडाउनले सर्लाहीका पोखरीमा करोडौंका माछा थन्किए

ईश्वरपुर नगरपालिका–३ मा पर्ने माछागाउँको रुपले परिचित भक्तिपुरस्थित पोखरीमा जाल हानेर माछा निकाल्दै मजदुर । तस्बिर : टंक/नागरिक

सर्लाही- सरकारी लकडाउनका कारण सर्लाहीमा करोडौं मूल्यका माछा पोखरीमै थन्किँदा किसान मारमा परेका छन् । गर्मी मौसममा दैनिक ३० क्विन्टलसम्म माछा बिक्री हुने भए पनि लकडाउनका कारण व्यापारी किन्न नआएपछि ईश्वरपुर नगरपालिका–३ भक्तिपुर गाउँमा मात्र करोडौंका माछा पोखरीमै थन्किएको स्थानीय माछा किसान तेजनारायण सहनीले गुनासो गरे । ‘सामान्य अवस्थामा गर्मी मौसममा भक्तिपुरबाट मात्र दैनिक ३० क्विन्टल माछा व्यापारीले किनेर लैजान्थे’, सहनीले भने, ‘सरकारी लकडाउनका कारण ४० दिनसम्म कोही किसानको पनि माछा बिक्री हुन सकेन, अहिले तीन दिनयता १० क्विन्टल जति माछा गईरहेको छ ।’

सहनीका अनुसार माछा गाउँको रुपमा परिचित भक्तिपुरमा मात्र ४०० भन्दा बढी व्यवसायिक माछापालन हुने पोखरी छन् । भारतको सितामाढीसहित काठमाडौं, विराटनगर, सिन्धुली, लाहान, धरान, ईटहरी, राजविराज, गाईघाट लगायत मुलुकका प्रमुख शहरहरुबाट व्यापारी गाडी नै लिएर माछा किन्न आउने गरेपनि लकडाउन लागूभएपछि गाडी चलाउन नमिल्लने भएकाले कोही व्यापारी नआएको स्थानीय किसान प्रेमप्रसाद देवकोटाले गुनासो गरे ।

‘के गर्नु बिक्री नभएर माछाले पोखरी भरिईसक्यो, माछाको घनत्व बढेका कारण आकाशमा बादल लागेर मौसम परिवर्तन हुने वित्तिकै अक्सिजन अभावमा पोखरीमै भटाभट मर्न सुरु भएको छ’, पौने दुई विगहा क्षेत्रफलको पोखरीमा माछा पालेका देवकोटाले नागरिकसँग दुःखेसो पोखे, ‘दानावालाले उधारो दिँदैन, माछा बिक्री नहुँदा पैसा अभावले दाना ल्याउन सकिएको छैन, दाना नहुँदा माछाको वेट पनि स्वाट्टै घटेको छ, अनि साँझ परेपछि पोखरीको डिलमा आयो टोलाएर बस्यो ।’ माछाले गर्मी मौसममा अत्यन्त बढी दाना खाने र जाडो मौसममा अत्यन्त कम खाने हुँदा यस्तो मौसममा दाना खुवाउन नसकिएपछि आगामी जाडो सिजनमा माछाको तौल समेत निकै कमि हुने चिन्ताले किसान पिरोलिएका छन् ।

आफ्नो र ठेक्कामा लिएको गरी ६० विगहा क्षेत्रफलको पोखरीमा माछापालन गरेका भक्तिपुरका ठूला किसान तेजनारायण सहनी लकडाउनले ठूलो आर्थिक क्षति भएको बताउँछन् । ‘अरु कतिपय किसानको त माछा बाहेक अन्य व्यवसाय पनि छ’, सहनीले चिन्तित हुँदै नागरिकसँग भने, ‘मेरो त माछापालन बाहेक अन्य केही टेक्ने समाउने लौरो छैन, अब लकडाउनले माछा पोखरीमै थन्किँदा चुर्लुम्म ऋणमा डुब्ने निश्चित भएको छ ।’

यहाँका किसानले भकुरा, विगहेड, सिल्वर, कमलक्राफ, ग्राँसक्राफ, रहुँ, नैनी लगायत जातका माछा पाल्ने गरेका छन् । भक्तिपुरका अर्का किसान सन्तोष आचार्यका अनुसार दैनिक ३० क्विन्टलका दरले बिक्री हुने हिसाबले पनि लकडाउन सूरु भएयता ४३ दिनसम्म भक्तिपुरमा मात्र कम्तिमा १२९ मेट्रिक टन माछा पोखरीमै थन्किएको छ । माछाको साईज र जात हेरेर प्रतिकिलो २०० देखि ५०० रुपैयाँसम्ममा पोखरीबाटै व्यापारीले किन्ने गरेका थिए । यस हिसाबले भक्तिपुरमा मात्र झण्डै साँढे ४ करोडको माछा बिक्री हुन नसकेर पोखरीमै रहेको देखिन्छ । अझ जिल्लाभरकै तथ्यांक हेर्ने हो भने त १० करोड भन्दा बढीको माछा बिक्री नभएर पोखरीमै थन्किएको जानकारहरु बताउँछन् ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा लकडाउनका कारण माछापालक किसान निकै मारमा परेको बताउँछन् । ‘लकडाउनका कारण टाढाका व्यापारी आउन नसकेकाले माछा बिक्री नहुँदा किसान निकै मारमा परिरहेका छन्’, मेयर देवकोटाले भने, ‘अहिले केही दिनयता नजिकैका केही व्यापारीलाई बिक्री गर्ने व्यवस्था मिलाईएपनि किसानको पुरै समस्या समाधान त हुने कुरै भएन ।’

 

प्रकाशित: २३ वैशाख २०७७ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App