अर्थ

यार्सा पाइने बुकीपाटन सुनसान

रुकुम, - विगतका वर्षमा यतिबेला रुकुम तथा डोल्पाका बुकीपाटनमा सर्वसाधारणको भीडभाड हुने गथ्र्याे । यतिबेला यार्सा टिप्ने समय भएकाले रुकुम तथा अन्य जिल्लाका सार्वसाधारण पाटनमा पुग्ने गर्थे ।तर यस वर्ष भने कोभिड १९ को त्रासले लकडाउनका कारण बुकिपाटनयार्सा टिप्न नपाइने भएपछि सुनसान हुन पुगेको हो । 

यार्सा टिप्न जानेको लर्का लाग्ने सडकसमेत सुनसान रहेका छन् । जाजरकोट–डोल्पा सडक झन्डै महिनादिनदेखि सुनसान छ । यो सडकमा यतिबेला सबभन्दा बढी चहलपहल हुनुपर्ने हो ।

सवारीसाधन तथा पैदलै डोल्पा पुग्न उछिनपाछिन गर्नुपर्ने बेला सडक र पैदलै हिँड्ने बाटोघाटो सुनसान छ । कोरोना भाइरस (कोभिड–१९) को कारण नै चहलपहल हुनुपर्ने ठाउँ सुनसानबनेका हुन् । कोरोना भाइरसकै कारणयो सडक र बाटोमा हिँड्नेहरूले घर छाडेका छैनन् ।

डोल्पा र रुकुम पूर्व बहुमूल्य जडिबुटी यार्सा पाइने नेपालको मुख्य स्थान हुन् । डोल्पाका अधिकांश पाटनमा यार्सा पाइन्छ । यो समय सिजन सुरुवातको मुखैमा लकडाउन भएका कारण यार्सा खोज्न तथा खोजेको यार्सा संकलनका लागि पाटन जानेहरू घर छाडेका छैनन् । अहिले विशेष गरीसुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिमबाट यार्सा खोज्न जानेहरूले खाद्यान्न ओसार्ने, बन्दोवस्तिका सामग्री पाटन पु¥याउने बेला भएपनि सुनसान रहेको रुकुम पूर्वको भूमे गाउँपालिका–४ का स्थानीय रामकुमार बुढाले बताए । यार्सा सिजनको सुरुवात हुने बेला लकडाउन भएका कारण पाटन जान सक्ने अवस्था नभएको उनको भनाइ छ ।

यार्सा खोज्ने र खरिदका लागि आउनेहरू जिल्ला पुग्ने समय भइसकेको उनले बताए । लकडाउनका कारण यो वर्ष डोल्पामा यार्सा खुला नगर्ने तयारी भइसकेको छ । कोरोनाको त्रास बढिरहेकैले पनि यसतर्फ कोही नलागेको उनले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिले यार्सा खुला नगर्ने निर्णय गरेको छ । जिल्लास्थित अन्य सरोकारवालासँगको समन्वय तथा छलफलपछि यार्सा टिप्नका लागि सिजन सञ्चालन नगर्ने निर्णय भएको थियो ।कोरोनाको त्रास फैलिरहेका बेला धेरै मान्छे जम्मा हुँदा ठूलो जोखिम हुने निष्कर्षसहित यार्सा नखुलाउने निर्णय भएको डोल्पाकाप्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।

रुकुम पूर्वका पाटनमा पनि यो वर्ष सिजन सुरु नहुने भएको छ । पाटनमा हजारौं मान्छे जम्मा हुने र त्यसबाट संक्रमणको खतरा धेरै हुने भएकाले यार्सा टिप्नका लागि अघिल्ला वर्षमा खुला गरिने पाटन यो वर्ष बन्द गर्ने निर्णय भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद आर्यालले जानकारी दिए ।

‘झण्डै २० वर्षदेखि पाटन निरन्तर खुलेको रहेछ,’ डोल्पाका प्रजिअ सुनारले भने ‘योपटक भने यही कोभिड–१९ कै कारण पाटन नखोल्ने निर्णय भएको हो ।’ यसमा धेरै मान्छे जम्मा हुने र कोरोना संक्रमणको ठूलो जोखिम रहेको उनको भनाइ छ । 

डोल्पाकाजगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका काइके गाउँपालिका, ठूलीभेरी नगरपालिका, माथिल्ला डोल्पाका डोल्पोबुद्ध, शेफोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिकाका विभिन्न पाटनमा यार्सा पाइन्छ । यस्तै रुकुम पूर्वका मैकोट, सिस्नेलगायतका पाटनमा यार्सा पाइने गर्दछ । हरेक वर्षको यार्सा सिजनको क्रममा रुकुम र डोल्पामा धेरै मान्छेको चहलपहल हुन्छ । 

यार्सा रुकुम र डोल्पा तथा यस आसपास जिल्लाका धेरै मानिसको मुख्य आम्दानीको स्रोत हो । गत वर्षको सिजनमा प्रतिकिलो ११ देखि २० लाख रूपैयाँसम्ममा यार्सा बिक्री भएको थियो । 

प्रकाशित: २३ वैशाख २०७७ ०२:२३ मंगलबार

कोभिड_१९ लकडाउन यार्सा