अर्थ

आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

फाइल तस्बिर

काठमाडौं - महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक क्रियाकलापमा सुस्तता आउँदा यो वर्ष मुलुकको अर्थतन्त्र २.२७ प्रतिशतले मात्र बढ्ने देखिएको छ।

विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष २०७२–०७३ मा ०.२ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धि त्यसपछिका वर्षमा तंग्रिन थालेको थियो। भूकम्प आएको ५ वर्षपछि देखिएको कोरोना समस्याले फेरि अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको छ। सरकारले बजेट सार्वजनिक गर्दा चालु वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो।

मुलुकको अर्थतन्त्रबारे अनुसन्धान गर्ने सरकारी निकाय केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र आधारभूत मूल्यमा २.२७ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। योसँगै मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्नेछ।

२०७२ मा आएको भूकम्पपछि चालु आवको यो वृद्धिदर सबैभन्दा कम हो। यस्तै भूकम्पअघि २०६४–६५ मा अर्थतन्त्रको वृद्धिदर २.७५ प्रतिशत थियो। भूकम्पपछिको वर्ष भने अर्थतन्त्र सर्वाधिक ७.७४ प्रतिशतले बढेको थियो। 

विभागले चालु आवको ७ देखि ९ महिनामा भएको आर्थिक गतिविधिलाई हेरेर र आगामी दिनमा हुनसक्ने वस्तु तथा सेवा उत्पादन र गतिविधिको अनुमान गरेर यो तथ्यांक प्रक्षेपण गरेको हो। चालु आवका लागि यो अन्तिम तथ्यांक भने होइन। विभागले गत वर्ष भने ६.७५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको संशोधित अनुमान रहेको र त्यसभन्दा अघिको वर्ष २०७४–०७५ मा अर्थतन्त्र ६.३५ प्रतिशतले वृद्धि भएको जनाएको छ।

मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्ने तथ्यांक विभागले जनाएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विश्वले अवलम्बन गरेका आन्तरिक तथा बाह्य प्रयासको प्रभाव नेपाल र विश्वभर कति लामो र कुन स्तरको हुन्छ भन्ने अहिले अनुमान गर्न नसकिएको भन्दै विभागले होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र अत्यधिक प्रभावित रहने, अन्य क्षेत्र भने जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमानित तथ्यांक तयार गरिएको जनाएको छ।

विभागका अनुसार तीन वर्षयता कुल गार्हस्थ उत्पादन (जिडिपी) मा प्राथमिक तथा सेवा क्षेत्रको विस्तार राम्रो देखिएको छ भने द्वितीय क्षेत्रको विस्तार सुस्त छ। चालु वर्ष भने यी तीनै क्षेत्रको विस्तार अघिल्लो वर्षभन्दा कम हुने अनुमान छ। प्राथमिक क्षेत्रभित्र पर्ने कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रमा यो वर्षको वृद्धिदर गत वर्षभन्दा घटेको छ।

यो वर्ष धान उत्पादनमा कमी तथा कोभिड १९ को महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा आएको रोकावटले यो क्षेत्रमा गत वर्षभन्दा न्यून वृद्धि देखिएको हो। यो वर्ष यो क्षेत्र २.५४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। चालु वर्ष यो क्षेत्रले जिडिपीमा २८.२ प्रतिशत योगदान गर्ने बताइएको छ।

द्वितीय क्षेत्रभित्र पर्ने निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको यो वर्षको वृद्धिदर ३.३६ प्रतिशत हुने विभागको अनुमान छ। जिडिपीमा यो क्षेत्रको १३.७२ प्रतिशत योगदान देखिएको छ। ऊर्जा क्षेत्रमा विस्तार भए पनि कोरोनाका कारण आपूर्ति र उत्पादनमा भएको अवरोधले यो क्षेत्रको वृद्धिदरमा प्रभाव पार्ने अनुमान छ।  

कोरोनाका कारण सबैभन्दा नराम्ररी प्रभावित भएको सेवा क्षेत्र हो। यो क्षेत्रभित्र पर्ने थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट, व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाको वृद्धिदर यो वर्ष १.९९ प्रतिशतमात्र रहने अनुमान विभागको छ। चालु वर्ष जिडिपीमा यो क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहनेछ।

विभागका अनुसार चालु वर्ष जिडिपीमा कृषि क्षेत्रको २७.६५ तथा गैरकृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहनेछ। यस्तै उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशत हुनेछ। अघिल्लो वर्षको तुलनामा यो २.२७ प्रतिशतले कम हो। निर्माण क्षेत्रको वृद्धिदर पनि ऋणात्मक हुनेछ। होटल तथा रेस्टुरेन्टको योगदान १.४१ प्रतिशत छ। यसपालि यस क्षेत्रको वृद्धि दर १६.३ प्रतिशतले ऋणात्मक हुनेछ। यातायात तथा सञ्चार पनि २.४५ प्रतिशतले ऋणात्मक हुने देखिएको छ।

विभागका अनुसार यो वर्ष प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ पुगेको छ। यो एक हजार ८५ अमेरिकी डलरबराबर हो। यस्तै रेमिट्यान्स ७ खर्ब १६ अर्ब रुपैयाँ आउने र यो जिडिपीको १९.०१ प्रतिशत हुने विभागले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७७ ०१:२० बिहीबार

कोरोना_प्रभाव आर्थिक_वृद्धि अर्थतन्त्र