अर्थ

फुङ्लिङ बजारमा पसलै पिच्छे फरक मूल्य, सिल गर्ने अनुगमन समितिको चेतावनी

ताप्लेजुङ- बजार अनुगमन समितिले ताप्लेजुङको फुङ्लिङ बजारमा गरेको अनुगमनका क्रममा पसलैपिच्छे फरक–फरक मूल्य पाएको छ। यो अवस्थामा पाएपछि अनुगमन समितिले बजारमूल्य भन्दा महंगो बिक्री गर्नेे पसलहरुमा शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा नेतृत्वको टोलीले तरकारी तथा फलफूल बिक्री गर्ने पसल, एलपी ग्याससहित इन्धन आपूर्ति गर्ने केन्द्र तथा खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तु बिक्री गर्ने फुङ्लिङ बजारका पसलहरुको अनुगमन गरेको थियो। अनुमगन समिति सदस्य तथा उद्योग अधिकृत देउप्रकाश तामाङले उपभोक्ता मारमा पर्नेगरी अचाक्ली मूल्य लिएर बिक्री भएको पाइए त्यस्ता पसलहरुलाई अबको अनुगमनबाट शिलबन्दी गर्ने चेतावनी दिए।

केहि पसलहरुमा ग्यास, दैनिक उपभोग्यबस्तु र तरकारीको मूल्य साविकभन्दा केहि बढी भएको पाईएकोले बजारमूल्य भन्दा बढीमा नबेच्न सचेत गराएको उनले जानकारी दिए। ‘अबको अनुगमनमा पनि यस्तो पाइए शिलबन्दी गर्ने चेतवानी पनि दिएका छौं’तामाङले भने।

सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले भने पसलपिच्छे फरक–फरक मूल्य पाईएकोले अब उप्रान्त मूल्यमा एकरुपता कायम गर्न र साबिकको तुलनामा मूल्य बृद्धि नगर्न सुझाव दिएको जानकारी दिए। उनले पहिलाभन्दा बढी मूल्य तिरेर दैनिक बस्तु खरिद गरेको भए जानकारी दिन समेत उपभोक्तालाई आग्रह गरेका छन्। खरिद गर्ने स्थलमै मूल्य बृद्धि भएको र ढुवानी गर्ने साधन यहाँबाट फर्कदा रित्तै फर्कने भएकोले ढुवानी खर्चमा समेत बृद्धि भएकोले साबिकभन्दा केहि महँगो पर्न जाने व्यवसायीको तर्क रहेको सहायक प्रजिअ खतिवडाले बताए।

तर यसका आधारमा बजार मूल्य भन्दा अचाक्ली मूल्य बृद्धि भएको भेटिए कारवाही गर्ने अनुगमन समितिको तयारी छ। कोभिड-१९ का कारण प्रभावित बनेको बजार अवस्था बुझ्न अनुगमन समितिले यो साता मात्र २ पटक बजार अनुगमन गरिसकेको छ। समितिले बजारमा रहेको खाद्यान्नसहितका दैनिक उपभमोग्य बस्तुको मौज्दात बिवरण समेत नियमित अद्यावधिक गर्दै आई रहेको छ।

प्रकाशित: ७ वैशाख २०७७ ०८:४० आइतबार

फुङ्लिङ_बजार मूल्य अनुगमन_समिति