अर्थ

आपूर्ति समिति निष्क्रिय

मोरङ- प्रदेश १ मा दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि उद्योग, वन तथा वातावरण मन्त्री जगदिश कुसियैयतको संयोजकत्वमा गठित समिति निष्क्रिय भएको छ।  

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) परिचय तथा रोकथामका लागि गठित दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति निष्क्रिय रहेको उद्योगीहरुले गुनासो गरेका छन्।  उद्योग मन्त्री कुसियैतको संयोजकत्वमा गत चैत्र १५ गते गठित समितिले तत्काललै ९ वटा निर्णय गरेको थियो।  ‘समिति गठन हुँदा बसेको बैठकपछि कुनै पनि बैठक बसेको छैन,’ समिति सदस्य तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘समिति बने पनि आवश्यक समन्वय हुन सकेको छैन र त्यसपछि के कस्तो काम भएको छ, छैन केही थाहा छैन। ’

त्यस्तै समितिका सदस्य तथा विराट व्यापार संघका अध्यक्ष सुजन थापाले भने, ‘नामका लागि मात्रै गठन गरेको जस्तो भयो।  १/२ पटक बैठक बसे पनि खासै उपलब्धि हुन सकेन। ’ ‘लकडाउनमा खाद्य सहजताका लागि उपलब्ध गराउनका लागि तयार रहेका थियौं,’ थापाले भने, ‘तर समितिबाट अहिलेसम्म के गर्ने भन्ने विषयमा केही पनि कुरा आएको छैन। ’

‘मोरङका ठूला तथा साना उद्योगी व्यवसायीका तीन वटा संगठनले सुरक्षित रुपमा खाद्यन्न उद्योग सञ्चालनका लागि तयार रहेको समितिलाई जानकारी दिएका थियौं,’ थापाले भने, ‘तर, प्रदेश सरकारबाट आधिकारिक जानकारी आएको छैन। ’ प्रदेश १ का सबै जिल्लामा सहज रुपमा दैनिक उपभोग्य वस्तु आपूर्तिको व्यवस्था मिलाउने बैठकमा निर्णय भएको थियो।  तीन वटै संगठनसँग अहिलेसम्म कुनै पनि समन्वय नभएको थापाले बताए।  

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘प्रदेश सरकारसँग आपूर्तिका लागि सहजीकरण भइरहेको र समितिको बैठकभन्दा पनि सहकार्य महत्वपूर्ण हुनेछ। ’ 

उद्योग मन्त्रालयका अनुसार बैठक नबसे पनि आवश्यक कार्य निरन्तर भइरहेको जनाएको छ।  मन्त्रालयका शाखा अधिकृत राकेश निरौलाका अनुसार हाल समिति राहत संकलन र स्थानीय तहतर्फ ढुवानी गर्न लागेको बताए।

प्रकाशित: ६ वैशाख २०७७ ०४:३३ शनिबार

कोरोना_भाइरस आपुर्ति समिति