अर्थ

ग्यास, आलु र प्याज आयात दोब्बर

भारतबाट भन्सार आउँदै गरेका मालबाहक ट्रक । तस्बिर:मोहम्मद हबिब-नागरिक

भैरहवा,- भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ । 

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । त्यस्तै, एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक आयात भए पनि डिजेल पेट्रोलको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भटराईले बताए । 

गत वर्ष यस अवधिमा आठ सय ६१ ट्यांकर डिजेल र एक सय १५ ट्यांकर पेट्रोल आएकामा अहिले २५ दिनको अवधिमा डिजेल पेट्रोलका गरी ४७ वटा ट्यांकर मात्र आए । लकडाउनले सवारीसाधन बन्द हुँदा खपत घटेकाले आयात पनि न्यून मात्रामा भइरहेको छ । 

भन्सार कार्यालयले अतिआवश्यक प्रकृतिका गाडी छिटोभन्दा छिटो भन्सार पास गरी गन्तव्यतिर पठाउँदै आएको छ । मुलुककै दोस्रो ठूलो नाकामा रहेको भन्सार कार्यालयले प्रक्रिया पु-याई आएका सबै अतिआवश्यक मालबाहक गाडीलाई सोही दिन केही घन्टामै भन्सार पास गरिरहेको छ ।  

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक पुगेको छ ।

भैरहवा भन्सार कार्यालयले लकडाउन अवधिको बिहीबारसम्म २३ दिनमा अतिआवश्यक दुई हजार एक सय ६८ मालबाहक गाडी भन्सार पास गरेको छ । बिहीबार साँझसम्म भन्सार बिन्दुमा आएका सबै मालबाहक गाडी जाँचपास गरी पठाएको कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । 

बिहीबार साँझसम्म इन्धनका तीन सय ८३, खाद्यान्नका चार सय ७९, तेलहन तथा तेल १८, आलु र प्याजका दुई सय ९८ र तरकारी तथा फलफूलका नौ सय ९० गाडी भन्सारमा आएकामा साँझ अबेरसम्म सबै जाँचपास गराइएको लम्सालले बताए ।

डिस्प्याच भए पनि लकडाउनले भारतमै रोकिएका अन्य अतिआवश्यक बाहेकका ट्रक र कन्टेनर पनि भन्सार यार्डमा प्रवेश भइरहेका छन् । अतिआवश्यक बाहेकका अन्य नौ सय ५२ गाडी आएकामा सात सय ८१ को जाँचपास भएको कार्यालयले जानकारी दिएको छ । 

लकडाउन अवधिमा अन्य गाडीमा कोइला, एमएस बिलेट, बिटुमिन, टाल मार्बललगायत सामान आएका छन् । प्रक्रिया नपुगेका र औद्योगिक प्रतिष्ठान नखुल्दा एक सय ७१ गाडी भन्सार पास नभई यार्डमा रहेको कार्यालयले जनाएको छ ।

दैनिक करिब पाँच सयको हाराहारीमा मालबाहक गाडी भित्रिने गरे पनि अहिले संक्रमणको डरले सो संख्या घटेर सय हाराहारीमा छ । आयातमा कमी र निर्यात शून्य भएकाले राजस्व संकलनसमेत प्रभावित भएको छ । लकडाउन अवधि चैत ११ देखि वैशाख ३ गतेसम्म २३ दिनमा ५७ करोड चार लाख राजस्व संकलन भएको छ । दैनिक २७–२८ करोडको लक्ष्य भन्सार विभागले दिए पनि ८–९ प्रतिशत असुली भइरहेको छ । 

विभागले एक खर्ब ६ अर्ब ८८ लाख ८६ हजार वार्षिक लक्ष्य दिएको वैशाख ३ गतेसम्म लक्ष्यको ५८.०२ प्रतिशत अर्थात ६१ अर्ब ५० करोड ६२ लाख मात्र असुली गर्न सकेको छ ।

प्रकाशित: ६ वैशाख २०७७ ०४:१० शनिबार

ग्यास आलु प्याज आयात