अर्थ

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

काठमाडौं, - कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौं नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौतीको नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी विज्ञहरुले बताएका हुन् । 

कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् ।  कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए ।

गत आर्थिक वर्षमा नेपालमा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । केन्द्रीय बैंकले यो वर्ष पाँच प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गिरेको थियो । तर अहिले आएर पोहोर जति पनि नआउने उसकोे अनुमान छ । गत वर्ष १६.५ प्रतिशतले रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथ्यांक छ । 

 कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् ।  कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्छ ।

भिडियो कन्फरेसमा बोल्दै केन्द्रीय बैंकका प्रवक्ता भट्टले बहुपक्षीय साझेदारले दिने ऋण सहयोगको भरपूर प्रयोग गर्नुपर्ने बताए । यतिबेला विश्व बैंक, एसियाली विकास बैंक जस्ता संस्थाबाट सहयोग लिन सकिने उनको भनाय छ । ‘सामान्य अवस्थामा त हामी आइएमएफ जस्तो संस्थासँग सहयोग लिदैनौं तर यतिबेला आइएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्ने सर्तमा सहयोग गर्न सक्ने जनाएको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, एआइबीको सहयोगलाई पनि परिचालन गर्न सकिने उनले बताए ।

संक्रमणले नेपालको आर्थिक अवस्था पनि प्रभावित हुनेछ । त्यसैले यस्तो जोखिम कम गर्न नेपालले आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्ने भट्टले बताए । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । तैपनि बर्सेनि एक खर्ब बराबरको आधारभूत कृषिजन्य वस्तुको आयात हुन्छ । नेपालले चाहने हो भने यो आयात प्रतिस्थापन हुन सक्छ । 

‘खुला अर्थतन्त्रमा प्रतिस्धापन गर्न गाह्रो हुन्छ । तर आधारभूत कृषिजन्य सामग्रीमा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने । यसबाट पनि बर्सेनि एक खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए । यसैगरी, जलविद्युतबाट पेट्रोलियम पदार्थको आयात कम गरी व्यापार घाटा घटाउन सकिने उनले बताए ।

नेपाल राष्ट्र बैंकले बहुक्षीय संस्थाहरुबाट कर्जा लिएर निजी क्षेत्रलाई सहुलियत ब्याजमा कर्जा दिनु राम्रो विकल्प हुन सक्ने प्रवक्ता भट्टले बताए । उनका अनुसार यसमा सहयोगी संस्थाहरु सकारात्मक छन् । यसले निजी क्षेत्रलाई उत्पादनको वातावरण सिर्जना हुने उनले दाबी गरे ।

प्रवक्ता भट्टले पछिल्लो समय बैंकिङ क्षेत्रको ब्याजदरमा स्थायित्व रहेको बताए । ‘अर्थतन्त्रमा स्थिर ब्याजदर महत्वपूर्ण हो । पछिल्लो एक वर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदरमा स्थायित्व कायम गर्न सक्यौं भने त्यसले उद्योगी, व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता मिल्छ । बचत गर्नेलाई प्रोत्साहित गर्छ,’ उनले भने ।

संक्रमणले भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टले बताए । ‘उनका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, वैदेशिक लगानी, वैदेशिक सञ्चितिबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अप्ठेरो अवस्थामा रहे पनि आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताए । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिमप्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्तव्य मुलुकमा पठाउन सक्छौं,’ उनले भने ।

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार बिचल्लीमा परेको श्रम आप्रवासन विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताए । श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कूटनीतिक छलफल बढाउनुपर्ने उनको सुझाव छ । ’धेरै मुलुकले आफ्ना कामदार फिर्ता लैजान दबाब दिइरहेका छन् । यदि यही अवस्थामा नेपाल आफैंले लगानी गरी कामदार फिर्ता ल्याउनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कूटनीतिक तवरबाट नै छलफल चलाउनुपर्छ,’ उनले भने  ।

अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवासन विज्ञ नेपालले बताए । ‘धेरैजना एउटै क्याम्पमा बस्नुपर्ने तथा रोजगारदाताले सुरक्षा उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ,’ उनले भने । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जाँदा कामदारहरु बेरोजगार बन्दै गएको नेपालले बताए ।

इक्विडेम रिसर्च सेन्टरले खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदारलाई बेतलबी बिदामा रहन रोजगारदाताले दबाब दिएको देखाएको छ । केही कामदारले भुक्तानी पाए पनि अधिकांशले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । 

‘यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,’ उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिइरहेको छ, त्यसैगरी यस्ता कामदारलाई पनि निब्र्याजी कर्जा दिएर मुलुकभित्र नै रहन सक्ने वातावरण बनाउनुपर्ने नेपालले बताए ।

प्रकाशित: ६ वैशाख २०७७ ०३:१४ शनिबार

रेमिट्यान्स काेराेना_भाइरस आर्थिक_वर्ष