अर्थ

होलसेल लक्षित अस्थायी बजारमा भीड

कलंकीको अस्थायी तरकारी बजारमा किनबेच हुँदै।  तस्बिर : प्रेम/नागरिक

काठमाडौं - काठमाडौं महानगरपालिकाले कालीमाटी र बल्खुमा रहेको फलफूल तथा तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सञ्चालनमा ल्याएका अस्थायी बजारमा समेत भीड देखिएको छ। उपत्यकाका कलंकी, बाफल, स्वयम्भु, बनस्थली, गोंगबु, बसुन्धरा, तीनकुने, अस्थायी बसपार्क रत्नपार्क र कोटेश्वर सहित ११ स्थानमा खुद्रा व्यापारीलाई लक्ष्य गरी लकडाउन अवधिका लागि सञ्चालनमा ल्याइएका अस्थायी तरकारी बजार अव्यवस्थित समेत पाइएको छ।

यी अस्थायी तरकारी बजारस्थलमा निरन्तर प्रहरीको निगरानी र नियन्त्रण भए पनि प्रहरीकै अगाडि असुरक्षित तरिकाले खरिद बिक्री भइरहेको छ। महानगरीय प्रहरी कार्यालयमा प्रवक्ता श्यामलाल ज्ञवाली उपभोक्ता आफैं गैरजिम्मेवार बन्दा यस्तो अवस्था आएको दाबी गर्छन्। ‘यस्ता कुरामा नागरिक आफैं सचेत हुने हो, तरकारी बिक्री कै लागि खोलिएको बजारमा नआऊ भन्न मिलेन,’ उनले भने, ‘खुद्रा व्यापारीको लागि लक्षित बजारमा उपभोक्ताको मात्र भीड बढ्यो।’ प्रवक्ता ज्ञवाली खुद्रा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य असुल्ने प्रवृत्तिले थोरै परिमाण किनमेलको लागि पनि अस्थायी बजारमा भीड बढेको बताउँछन्। उनी भन्छन्, ‘यस्तो बेलामा सुपथ मूल्यमा खुद्रा पसलबाटै तरकारी पाएको भए चोकचोकमा को पुग्थ्यो ? व्यापारीले मौका पर्दा चर्को मूल्य असुल्न खोज्छन्, यस्तो भएपछि उपभोक्ता विकल्प खोज्दै हिँड्छन्।’

यी अस्थायी तरकारी बजारस्थलमा निरन्तर प्रहरीको निगरानी र नियन्त्रण भए पनि प्रहरीकै अगाडि असुरक्षित तरिकाले खरिद बिक्री भइरहेको छ।

प्रवक्ता ज्ञवाली अत्यावश्यकका नाममा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दै गएको बताउँछन्। ‘नागरिकले लकडाउनलाई राजनीतिक पार्टीको बन्द जस्तै ठानेका छन्। मुख्य सडक खालि देखिए पनि गल्ली गल्लीमा भीड लागेकै छन्,’ उनी भन्छन्, ‘ठाउँ–ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई कारवाही गर्दै आएका छौं। लकडाउनको समयमा घन्टौं नियन्त्रणमा पनि राखेका छौं तर पनि लकडाउन उल्लंघनमा कमी आएको पाइँदैन।’ उनी अधिकांशले केही समयका लागि अत्यावश्यक खाद्य सामग्रीको जोहो गरिसकेकोले किराना पसल पनि बन्द गर्नुुपर्ने तर्क गर्छन्। ‘पसल खुलेपछि खुलेकै त छ भनेर हेल्चेक्र्याइँ गरिन्छ। लकडाउनमा सबै गम्भीर नबने यसको के अर्थ ?,’ उनी भन्छन्, ‘तरकारीको हकमा डेलिभरी भ्यानले पसलमा पु¥याउनुपर्छ र पसलेले पनि सामान्य नाफा राखेर बिक्री गर्नुपर्छ।’

कलंकी खसी बजारमा किराना पसल गर्दै आएकी सुमित्रा न्यौपानेले अस्थायी तरकारी बजार सञ्चालनमा आएपछि पसलमा कोही पनि तरकारी खोज्न नआएको बताइन्। ‘अस्ति लिएर राखेको तरकारी जस्ताको तस्तै छ। सबै चोकतिरै जान्छन्,’ उनी भन्छिन्, ‘धेरै नाफा खाने भन्ने त हामीलाई पनि हुन्न तर परेकै मूल्य पनि नउठ्ने भयो।’वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी लकडाउनको अवधिमा चोकका सडक पनि खालि भएकोले दुरी कायम गरेर किनबेच गर्न सकिने बताउँछन्। ‘अन्य खाद्यान्नमा जस्तो हामीले तरकारीमा हामीले निगरानी गर्न सकिने विषय होइन, खुद्रा पसलको तरकारीको मूल्यसम्म त अनुगमन हुन सक्ला तर फुटपाथको बजारलाई केही गर्न सकिने अवस्था आउँदैन,’ उनी भन्छन्, ‘गाडी चलेका छैनन्। तरकारी खरिद गरेपछि त्यसको व्यवस्थापनका कुरा पनि होलान्, अर्कोतिर यस्तो अवस्थामा खुद्रा व्यापारी केही चलाख बनेका हुन सक्छन्, पाइए कारवाही गर्छौं।’

कालीमाटी फेरि चल्यो 
महानगरले उपत्यकाका ११ ठाउँमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याउने गरी गत बिहीबार बन्द गराएको कालीमाटी फलफूल तथा तरकारी बजार एक हप्ता नपुग्दै सोमबारदेखि सञ्चालनमा आएको छ। व्यवसायीले अस्थायी तरकारी बजार परिस्थिति अनुकूल नभएको भन्दै व्यवसायी कालीमाटीमै फर्किएका हुन्। ‘रातिदेखि नै सञ्चालन गर्न बत्ती, पानी, शौचालय नभएको र होलसेल बिक्रीको साटो खुद्रा बिक्रीमा मात्र सीमित हुनुपरेको भन्दै व्यवसायीले होलसेल कारोबार कालीमाटीबाटै गर्ने योजना बनाए,’ कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भने, ‘कालीमाटीबाट बिक्री गरिए पनि अस्थायी तरकारी बजारबाट पनि बिक्री गर्न व्यवसायी सहमत छन्।’

कालीमाटीमा बाहिरबाट प्याकिङ भएर आएका तरकारी नखोली बिक्री गर्ने नियम लगाइएको छ। कालीमाटी बजार राति १०ः०० देखि बिहान ७ः०० बजेसम्मा सञ्चालनमा रहने प्रवक्ता श्रेष्ठले बताए। ‘कालीमाटी बन्द हुँदा किसानले पनि कहाँ पठाउने भन्ने कुरामा अन्योल आयो, जसरी भए पनि  सुरक्षित रुपमा व्यापार होस् भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘व्यवसायीले त्यसमा प्रतिबद्धता जनाएका छन्।’ उनले  कालीमाटी बन्द भएपछि तरकारी बल्खुमा थुप्रिएर व्यवस्थापन गर्न गाह्रो भएकोले कालीमाटी खोल्नैपर्ने बाध्यता आएको समेत बताए।

प्रकाशित: ३ वैशाख २०७७ ०६:२१ बुधबार

भीड लकडाउन असुरक्षित