अर्थ

चिलिमे–त्रिशूली प्रसारण लाइन: निर्माण सामग्री र कामदार अभाव

रसुवा, - चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा निर्माण सामग्री र कामदार अभाव भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सामग्री आयातमा कठिनाइसँगै कामदार नहुँदा निर्माणमा समस्या आएको हो । 

कोरोना संक्रमणको त्रासका कारण चिलिमे हबमा स्थानीयले काम नगर्ने र बाहिरबाट कामदार पनि ल्याउन नपाइँदा समस्या आएको आयोजनाले जनाएको छ । पहिले हबमा ५० कामदार थिए । अहिले २५ जना छन् । प्रसारण लाइनतर्फ झन् ठूलो समस्या आएको छ । करिब चार सय जनाले काम गरिरहेको ठाउँमा अहिले ६० जनामात्रै छन् । 

आयोजनाले अहिले हब र प्रसारण लाइनतर्फ एक ठाउँमा मात्र काम भइरहेको आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । ‘पहिलो पाँच ठाउँमा प्रसारण लाइनको काम भइरहेको थियो,’ उनले भने, ‘अहिले एक ठाउँमा मात्र काम भइरहेको छ ।’ जिल्लाको तिरु, ग्रेलगायत क्षेत्रमा काम पूरै ठप्प छ । काम भइरहेको ठाउँमा सुरक्षाका उच्च उपाय अपनाएर काम गराइएको उनले बताए । 

चीनबाट आउनुपर्ने सामग्री आएको छैन । आयोजनाको सबस्टेसनका लागि आवश्यक सामग्री चीनमा र प्रसारण लाइनका लागि आवश्यक सामग्री परीक्षण भारतमा भइसकेको छ । चीनबाट आउने सामग्री कोलकत्ता हुँदै आउने भएकाले यतिखेर सामग्री ढुवानी सुरु भइसक्नुपर्ने हो । तर त्यो हुन सकेको छैन । 

चालु आर्थिक वर्ष ०७६÷७७ भित्र जिल्लाका दुइटा आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन् । जिल्लाको माथिल्लो क्षेत्रका तीनवटा आयोजनाको काम भइरहेको छ । सान्जेन, माथिल्लो सान्जेन र रसुवागढीले लकडाउनमा पनि काम गरिरहेका छन् । यो प्रसारण लाइन निर्माण नभए उत्पादित विद्युत् खेर जाने छ । प्रसारण लाइनको ५५ प्रतिशत काम सकिएको छ । 

आठ टावरको फाउन्डेसनको काम सकिएको छ । बाँकी टावरको एस्काभेसनको काम जारी छ । सन् २०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजना निर्माण सम्पन्न २०१९ जुन १३ मा गर्ने कार्ययोजना रहेको थियो । 

सम्झौताअनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समयअनुसार सन् २०२० अप्रिल ३० सम्ममा सबस्टेसन निर्माण गरिसक्नु पर्छ । तर यो नसकिने देखिएपछि म्याद थप्न लागिएको हो । 

भौगोलिक बिकटता, सडक पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेकाले निर्माणमा ढिलाइ भएको उनले बताए । रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ । प्रसारण लाइन साढे २७ किमि लामो छ । 

गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्री बीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । गोल्जुङदेखि थ्री बी हबसम्म ७८ टावर रहने बताइएको छ । 

प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन आयोजनाको विद्युत् जोडिने छ । 

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायत कारणले ढिलाइ भएको हो । 

यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावाटको रसुवा भोटेकोशी, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए को विद्युत् जोडिने छ । यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ ।

प्रकाशित: २ वैशाख २०७७ ०६:४७ मंगलबार

चिलिमे–त्रिशूली प्रसारण_लाइन निर्माण_सामग्री कामदार