अर्थ

लकडाउनले फेरियो सडक स्वरुप

काठमाडौं -  कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ। अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन्। अत्यावश्यकबाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। तर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को सकारात्मक प्रभाव पनि देखिन थालेको छ। लकडाउनकै कारण उपत्यकाको वायुप्रदूषण ह्वातै घटेको छ। घमाइलो मौसम र चराचुरुंगीको चिरबिरले उपत्यकाम रौनक थपेको छ।

सवारीसाधनको अत्यधिक चापले भरिभराउ हुने सडक अहिले शान्त र आकर्षक  देखिन थालेका छन्। यसअघि सवारी चापका कारण सडक विभागले समयमै लेन तथा जेब्राक्रस मर्मतसम्भार गर्न समेत सक्दैनथ्यो। मेटिएर मधुरो भएका जेब्राक्रस र लेन चिह्नका कारण पैदलयात्रु मात्र होइन, सवारीचालक समेत झुक्किने गर्थे। ट्राफिक चिह्न नहुँदा झुक्किएरै सवारी दुर्घटना समेत हुने गरेको थियो।

लकडाउनमा सवारीसाधन नचलेको अवस्थाको फाइदा उठाउँदै सडक विभागले काठमाडौं उपत्यकाका सडकमा जेब्रा क्रसिङ र लेन चिह्न कोर्ने काम अघि बढाएको छ।
 

अहिले सडक खाल्डाखुल्डीरहित मात्रै होइन, सडक विभागले लकडाउनकै बीचमा कालोपत्रेका साथै लेन मार्किङ गरेपछि आकर्षक देखिन थालेका छन्। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले लकडाउनको अवसर छोपेर उपत्यकाका सडकमा जेब्राक्रस तथा लेन चिह्न राख्ने काम भइरहेको बताए। ‘पहिला सवारीसाधनको अत्यधिक चाप भएर बेलुका पनि जेब्राक्रस र लेन चिह्न बनाउन धेरै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले लकडाउनका कारण उपत्यकाका सडक सुनसानजस्तै भएका छन्। त्यसैले मौका छोपेर सडक मार्किङको काम गरिरहेका छौं। उनका अनुसार सडक विभागले मजदुरलाई पर्याप्त सुरक्षा सतर्कताका साथ जेब्राक्रस तथा लेन चिह्न बनाउन खटाएको छ। विभागले कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, सहिदगेट, सुन्धारा, एयरपोर्टलगायतका क्षेत्रमा काम भइरहेको जनाएको छ।

उपत्यकाका सडक खाल्डाखुल्डी र धुलोरहित बनाउने सरकारी योजनाअनुसार विभागमातहत पर्ने सडकमा २४ हजार तीन सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम  भएको छ। यस्तै सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको महानिर्देशक शर्माले बताए। नागढुंगा–नौबिसे खण्डमध्ये आठ किलोमिटर सडक लकडाउनकै समयमा मर्मतसम्भार गर्ने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार कसरी सुरक्षित ढंगले सडक मर्मतसम्भार गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको सडक मर्मतसम्भारमा पर्याप्त बजेट दिनुका साथै सरकारले नीतिगत समस्या सम्बोधन गरेकाले काम गर्न सहज भएको बताए। ‘हामीले उपत्यकाको सडकको समस्या मिहिन ढंगले अध्ययन गरेर नीतिगत समस्या र बजेटका विषयमा सरोकारवाला निकायलाई जानकारी  गरायौं,’ उनले भने, ‘अघिल्ला वर्षमा सरकारले उपत्यकाको सडक मर्मतसम्भारका लागि ५० करोडजति बजेट विनियोजन गथ्र्यो। यसपालि पौने दुई अर्बजति बजेट दिएकाले ठूलो उपलब्धि हात पार्न सकेका छौं। सडक कालोपत्रे गर्न पनि समयमै ठेक्का भएकाले तोकिएकै अवधिमा काम हुन सकेको उनले बताए।

‘उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री, मन्त्री र विभागीय प्रमुखको लगातारको समन्वय र आवश्यक टिमवर्ककै कारण सम्भव भएको हो,’ उनले भने। सडक विभागले चालु आर्थिक वर्षमा उपत्यकाको करिब ६५ किलोमिटर सडक मर्मतसम्भार गर्ने लक्ष्य लिएको छ। लक्ष्यअनुसार नै काम भइरहेको सापकोटाले बताए। चालु आर्थिक वर्षमा सडक विभागमातहतका आयोजनाका लागि एक खर्ब २४ अर्ब बजेट विनियोजन भएकोमा हालसम्म २८ प्रतिशत खर्च भइसकेको छ।

प्रकाशित: २९ चैत्र २०७६ ०२:३९ शनिबार

लकडाउन सडक_स्वरुप