अर्थ

पन्ध्र दिनमा ३५ करोड राजश्व संकलन

भैरहवा  - मुलुक लकडाउन भएसँगै दोस्रो ठूलो र पाँच नम्बर प्रदेशको पहिलो भन्सार भैरहवा भन्सार कार्यालयको दैनिक असुलीमा असर परेको छ। दैनिक सरदर २६ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य रहेको भन्सारमा लकडाउन भएदेखि नै दैनिक २ करोडको हराहारीमा राजश्व असुली भइरहेको छ। आयातमा कमी र निर्यात शुन्य भएकोले राजश्व संकलन समेत प्रभावित भएको छ। भन्सार कार्यालयले लकडाउन अवधि चैत ११ गतेदेखि २५ गतेसम्म १५ दिनमा ३५ करोड ८८ लाख मात्र राजश्व गर्न सकेको छ। १५ दिनको अवधिमा ४ अर्ब ५ लाखको लक्ष्य पाएको भन्सारले लक्ष्यको ९ प्रतिशत पनि असुली गर्न नसकेकोे भैरहवा भन्सार कार्यालय सूचना अधिकृत पूर्ण प्रसाद लम्सालले बताए।

लकडाउनपछिको १५ दिनमा यस नाकाबाट विभिन्न सामग्री बोकेका २ हजार ४५ वटा मात्र मालवाहक गाडी भित्रिएको छ जसमध्ये १ हजार ७ सय ४० वटा मालबाहक गाडी र ३ सय ५ वटा ईन्धनका गाडी आएको भन्सार कार्यालयले जानकारी दिएको छ। यस नाकाबाट दैनिक करिब ५ सयको हाराहारीमा मालवाहक गाडी भित्रिने गरपनि कोरोनाको संक्रमण र जोखिमले दैनिक सय एक सय ५० को हाराहारीमा मालवाहक गाडी पास भइरहेको छ। 

अन्य मालबाहक गाडीमा कमि आए पनि लकडाउनको समयमा ईन्धनमा खासै कमि आएको छैन दैनिक २०–२५ गाडी आइरहेका छन। पछिल्लो १५ दिनमा २५८ वटा एलपी ग्यास ३५ वटा पेट्रोल र १२ वटा डिजेल गरी ३ सय ५ वटा ईन्धनका गाडी भन्सार पास भएको कार्यालयले जानकारी दिएको छ। लकडाउनको पहिलो हप्तामा डिजेल, पेट्रोल आयात भएपनि चैत २० गते देखि कुनै पनि डिजेल पेट्रोलको टयाङकर आएको छैन। एलपीजी ग्यास भने निर्वाध रुपमा आइरहेको छ आइतबार, सोमबार र मंगलबार तीन दिनमा मात्रै ५९ वटा एलपी ग्यासका बुलेट आएका छन।
त्यस्तै कोइला,फरनान्स आयल, पेट कोक बल्क र विटुमिन गरी १२ हजार ३ सय १६ मेट्रिक टन अन्य पेट्रोलियम पदार्थ पनि लकडाउन अवधिमा आयात भएको छ। 

त्यस्तै आलु, गोलभेडा, प्याज, हरियो तरकारी, फलफूल गरी ९ हजार ७ सय ७८ मेट्रिक टन तरकारी तथा फलफूल र गहु मकै धान चामल कनिका लगायतका ३ हजार १ सय ३६ मेट्रिक टन खाद्यान्न आयात भएको छ। 

आएका मालबाहक गाडीहरु भन्सार विन्दुमा भित्र्यिाइरहेका छौ। भारतका उद्योग पनि प्राय बन्द रहेको अवस्था र नेपाल पनि पूर्ण रुपमा लकडाउन रहेको आयातमा कमि देखिएको छ। राजस्व बुझाउनका लागि सम्बन्धित बैंक सम्म जान नसक्दा पनि आयातमा कमी आएको सूचना अधिकृत लम्सालले बताए।

लकडाउन भएदेखि यस नाकाबाट निर्यात पनि ठप्प छ। नेपालबाट काँच, खोटो रेजिन, पिना, पलाष्टीक पाइप, भाडा, सेन्थेटिक यार्न(बोरा, झोला), अदुवा, जडीबुटी, चाउचाउ, चुनढुङगा, वियर, कोदो, फापर, कुचो लगायतका बस्तु निर्यातहुदै आएको थियो।

कार्यालयलाई भन्सार विभागले १ खर्ब ६ अर्ब ८८ लाख ८६ हजार वार्षिक लक्ष्य दिएको मा फागुन सम्म कार्यालयले लक्ष्यको ५५ दशमलव ३८ प्रतिशत मात्र असुली गर्न सकेको छ।

 

प्रकाशित: २६ चैत्र २०७६ १२:१५ बुधबार

राजश्व_संकलन भैरहवा_भन्सार लकडाउन