अर्थ

लकडाउन अवधिमा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकियो

रसुवा - रसुवामा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकिएको छ। लकडाउन अवधिभर काउन्टर बन्द हुने भएकाले विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकिएको हो। 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को लकडाउन अवधिको विद्युत् महसुल संकलनका लागि नयाँ व्यवस्था गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। केन्द्रले शनिबार एक सूचना प्रकाशित गरी लकडाउन अवधिभरका लागि नयाँ व्यवस्था गरेको जानकारी दिएको हो।

टिओडी मिटर जडान भएका ग्राहकका लागि धनबहादुर तामाङ तोकिएका छन्। त्यसैगरी थ्रि फेज र सिंगल फेजका ग्राहकका लागि धुन्चेमा शर्मिला लामा, कालिकास्थानमा अर्जुन शाह तेली र बेत्रावतीमा रामकृष्ण अर्याल तोकिएको छ भने अनलाइन भुक्तानी तथा आय फाँटका लागि छुट्टै नम्बरको व्यवस्था गरिएको छ। 

टिओडी मिटर जडान भएका ग्राहकको एएमआर विधिद्वारा रिडिङ गर्न सकिने ग्राहकको बिल टेलिफोन, एसएमएस तथा इमेल मार्फत जानकारी गराएको केन्द्रले जनाएको छ। यसका लागि केन्द्रको आय फाँटमा सम्पर्क गरी भुक्तानी गर्न सकिने छ। 

युसैगरी थ्रि फेज तथा सिंगल फेजका ग्राहकले चैत महिनाको आफ्नो मिटर अंक एकिन गरी सो अनुसारको खपत टिपाउन सक्ने छन्। खपत नटिपाउने ग्राहकको हकमा २०७६ फागुन महिनाको खपत अंक बराबरको मिटर रिडिङ तथा बिलिङ हुने केन्द्रले जनाएको छ। विद्युत् महसुल अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन्। सरकारले लक डाउनको अवधि बढाएमा पछि आउने महिनामा समेत सोही अनुसार रिडिङ तथा बिलिङ हुने छ।

प्रकाशित: २३ चैत्र २०७६ ०४:२० आइतबार

लकडाउन विद्युत्_महसुल