अर्थ

मुख्य सुरुङको ब्रेक थ्रु

रसुवा -  रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको शुक्रबार ब्रेक थ्रु भएको छ। आयोजनाको मुख्य सुरुङ तीन हजार ६ सय ५० मिटर रहेको छ। निर्माण सुरु भएको साढे ३ वर्षमा सुरुङको ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ। सुरुङको ब्रेक थ्रु भएसँगै आयोजनाले ढलानको काम अघि बढाउने तयारी थालेको छ। कमजोर ठेकेदार, भूकम्प तथा नाकाबन्दीका कारण सुरुङ निर्माणमा ढिलाइ भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार एक वर्षभित्रमा आयोजनाले उत्पादन सुरु गर्ने छ। अहिले आयोजनाको ७७ प्रतिशत काम सकिएको छ।

सुरुङको ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ। सुरुङको ब्रेक थ्रु भएसँगै आयोजनाले ढलानको काम अघि बढाउने तयारी थालेको छ।

आयोजनाका अनुसार बाँध क्षेत्रका संरचना निर्माणको काम सकिएको छ। बाँध क्षेत्रमा साइफन पाइप हाल्ने काम पनि अन्तिम चरणमा पुगेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनीका चिनियाँ प्राविधिक तथा कामदार चीनमै रोकिएका छन्। त्यस्तै करिब नौ सय मिटर पेनस्टक पाइप राख्नुपर्नेमा एकातिरबाट पेनस्टक राख्ने काम सुरु गरेको छ। एकातिर ३० मिटर खन्ने काम बाँकी छ। यसको मुख्य पेनस्टक चार सय ५० मिटर रहेको छ। ४२.५ मेगावट क्षमताको आयोजनामा अहिले इलेक्ट्रोमेकानिलको काम बाहेक अरु काम भइरहेको छ।  

आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो। एसइडब्लु टुन्डी जेभीले आयोजना निर्माण गरिरहेको छ। आयोजनाको पाँच चरणमा काम भइरहेको छ। सिभिलमा एसइडब्लु टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एनड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ। चारवटा ठेकेदारले निर्माण कार्य गरिरहेका छन्। चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने छन्। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हबमा गएर जोडिने छ।

आयोजनाबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ। भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:४३ आइतबार

रसुवा जलविद्युत्_आयोजना