अर्थ

महासंघको साधारणसभा सर्‍यो

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत २८ र २९ गते गर्ने तय गरेको साधारणसभा सार्ने निर्णय गरेको छ। कोरोना भाइरसको कारण सरकारले सभा, सम्मेलन गर्न रोक लगाएपछि महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले साधारणसभा स्थगित गरेको हो। बैठकले साधारणसभाको लागि नयाँ मिति तय गरेको छ।

आगामी जेठ ७ र ८ गते साधारणसभा गर्ने निर्णय गरेको महासंघका अध्यक्ष भवानी राणाले बताइन्। ‘विश्वभर फैलिएको कोरोनाबाट जोगिन सचेत हुनुपर्ने अवस्था छ,’ राणाले भनिन्, ‘अहिलेलाई स्थगित गरेर नयाँ मिति तय गरेका छौं।’ कोरोना भाइरसबाट जोगिन पूर्वसावधानी अपनाउन सरकारले गरेको निर्णयमा महासंघले सघाउने राणाले बताइन्।

बजारमा हुन सक्ने खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई व्यवस्थित गर्नसमेत महासंघले पहल गर्ने उनको भनाइ छ। ‘अप्ठेरो परेको बेला सघाउन वस्तुगत संघलाई पनि आग्रह गरेका छौं,’ राणाले भनिन्।

प्रकाशित: ७ चैत्र २०७६ ०३:१४ शुक्रबार

महासंघ साधारणसभा