अर्थ

सबै क्षेत्रको प्रगति आधाभन्दा तल

काठमाडौं - चालु आर्थिक वर्षको दुई तिहाई समय सकिँदा सरकारले कुनै पनि क्षेत्रमा लक्ष्यको आधा प्रगति गरेको छैन। सरकारले चालु आवको फागुन अन्तसम्ममा पुँजीगत, चालु, वित्तीय व्यवस्थापन र कुल खर्च लक्ष्यको आधा पनि गर्न नसकेको हो। राजस्व असुली समेत लक्ष्यको आधा भएको छैन।

सरकारको आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले यो वर्षको फागुन (आठ महिना) सकिँदा पुँजीगत बजेट २३.६४, चालु बजेट ४७. १० र कुल बजेट ३९.८१ प्रतिशत खर्च गरेको छ। यस्तै, वित्तीय व्यवस्थापनमा पनि ३७.५२ प्रतिशत खर्च भएको छ। राजस्व असुली पनि सरकारले ४९.१७ प्रतिशत मात्र गरेको छ। यी सबै क्षेत्रमध्ये कुनै एक क्षेत्रमा पनि लक्ष्यको आधा प्रगति भएकोनदेखिएको हो। महालेखाका अनुसार फागुनसम्म सरकारले ९६ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ। चालु वर्ष सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो।

विगतमा अस्थिर सरकारका कारण पुँजीगत खर्च हुन नसकेको भन्दै खर्च बढाउन स्थिर र बलियो सरकारको खाँचो भएको बताइँदै आएको थियो। तर दुई तिहाइको बलियो सरकार आए पनि खर्च गर्ने प्रणालीमा सुधार हुन सकेको छैन। विगतका एक वर्षे सरकार र यो पाँचवर्षे सरकारमा पुँजीगत खर्च गर्ने सवालमा कुनै भिन्नता देखिएको छैन। सरकारको आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत १ सम्म सरकारको कुल खर्च ६ खर्ब १० अर्ब रुपैयाँ भएको छ। चालु वर्ष सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। पुँजीगत खर्चमा मात्र होइन कुल खर्चमा पनि सरकार फितलो देखिएको छ। चालु वर्षको आठ महिना बित्दा सरकारले आधा खर्च पनि गर्न सकेको छैन।

महालेखाका अनुसार फागुनसम्म चालु खर्च ४७. १० प्रतिशत भएको छ। यो वर्ष सरकारले नौ खर्ब ५७ अर्ब रुपैयाँ चालु बजेटमा खर्च हुने अनुमान गरेको थियो। फागुनसम्म चार खर्ब ५० अर्ब रुपैयाँ खर्च भएको छ। चालु खर्च कम हुँदा सरकार मितव्ययी भएको मानिन्छ। तर आठ महिनमा ५० प्रतिशतभन्दा तल खर्च हुनुलाई भने त्यत्ति राम्रो मानिँदैन। महालेखाका अनुसार वित्तीय व्यवस्थापनतर्फ सरकारले ६२ अर्ब ९७ करोड रुपैयाँ खर्चको छ। सरकार खर्चमा जस्तै राजस्व संकलनमा पनि लक्ष्य प्राप्तिमा चुकेको छ। चैत १ सम्म सरकारले पाँच खर्ब ४६ अर्ब ७३ करोड रुपैयाँ राजस्व असुली गरेको छ। यो वर्ष सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने भनेको थियो।

सरकारले चालु आवमा लक्ष्यअनुसार काम गर्न नसकेपछि बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएको थियो। अहिलेको खर्चको अवस्था हेर्दा सरकारको बजेटको संशोधित अनुमान पनि नपुग्ने देखिएको छ। विश्वभरलाई नै नराम्रोसँग गाँजेको कोरोना भाइरसका कारण आगामी दिन झनै समस्यामा पर्ने देखिएको छ। यसले पनि सरकारको लक्ष्य प्राप्तिमा थप समस्या ल्याउनेछ।

प्रकाशित: ७ चैत्र २०७६ ०३:०८ शुक्रबार

बजेट आर्थिक_वर्ष