अर्थ

ईन्दुशंकरले उखु क्रसिङ बन्द गर्‍यो

उखु क्रसिङ बन्द गरेपछि सुनसान देखिएको ईन्दुशंकर चिनी उद्योग परिसर। तस्बिर : टंक/नागरिक

सर्लाही - सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ। बुधबार साँझबाट उखु क्रसिङ बन्द गरिएको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। उनका अनुसार उद्योगले यस वर्ष २६ लाख ६७ हजार नौ सय ७१ क्विन्टल उखु क्रसिङ गरेको छ।

‘ईन्दुशंकरले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ,’ रजकले भने, ‘उखु सकिएकाले यस वर्ष चाँडै उद्योग बन्द भएको छ।’ ईन्दुशंकरले गत वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। तेस्रो पटक सूचना प्रकाशित गरेर उद्योग बन्द गरिएको र सर्भे गरिएको किसानको कतिपनि उखु बाँकी नरहेको रजकले दाबी गरे। यस वर्ष उखु खेती निकै घटेकाले उखु अभाव भएको उखु प्रबन्धक रजकले जानकारी दिए। ‘सरकारले दिने अनुदान तथा कतिपय उद्योगले दिनुपर्ने भुक्तानीमा समेत निकै ढिलाइ भएपछि धेरै किसानले उखु खेती छाडेका छन्,’ रजकले भने, ‘त्यसैले यस वर्ष उखुको अभाव रह्यो।’ पुस ११ गतेदखि सञ्चालनमा आएको उद्योगले ८३ दिन उखु क्रसिङ गरेको छ।

तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा यस वर्ष दक्षिण–पश्चिम क्षेत्रको धनकौलस्थित अन्नपूर्ण सुगर मिल भने चलेन। तीन–चार वर्षदेखिको किसानको भुक्तानी दिन नसकेको उक्त उद्योगलाई यस वर्ष किसानले चल्नै दिएनन्। उक्त उद्योगले गत वर्ष नौ लाख सात हजार ६ सय ९२ क्विन्टल उखु क्रसिङ गरेको थियो। त्यस क्षेत्रका किसानले यस वर्ष महोत्तरीको एभरेस्ट, हरिवनको ईन्दुशंकरलगायत चिनी उद्योगमा उखु दिएका थिए। त्यस्तै जिल्लाको दक्षिणी क्षेत्र गोडैता नगरपालिका अन्तर्गत बगदहस्थित महालक्ष्मी सुगर मिल पनि केही समयअघि नै बन्द भइसकेको छ। ६ लाख ८१ हजार क्विन्टल उखु पेलेर सो उद्योग बन्द भएको हो। उखु नपाएपछि महालक्ष्मी फागुन १५ मै बन्द भएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र राय यादवले जानकारी दिए।

महालक्ष्मीले भने किसानको गत वर्षको सबै भुक्तानी सम्पन्न गरेको र यस वर्षको पनि ३५ प्रतिशत हाराहारी भुक्तानी सकेको मेयर यादवले जानकारी दिए। सो उद्योगले गत वर्ष ११ लाख २७ हजार तीन सय ९५ क्विन्टल उखु क्रसिङ गरेको थियो। सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। यहाँ यस वर्ष २० हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती भएको थियो।

प्रकाशित: ७ चैत्र २०७६ ०२:५१ शुक्रबार

ईन्दुशंकर उखु_क्रसिङ