अर्थ

फेरि ब्युँताउन सम्भव होला काठमाडौं–हेटौंडा रोपवे ?

काठमाडाैँ - वाग्मती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने प्रयास गरेको छ। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १८ वर्षदेखि ठप्प रहेको काठमाडौं– हेटौंडा रोपवे फेरि सञ्चालन गर्ने योजना बनाएको छ। प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पर्यटन र आर्थिक दृष्टिकोणबाट उपयुक्त देखिएको खण्डमा उक्त रोपवे फेरि सञ्चालन गर्ने योजनामा रहेको बताए।

‘पर्यटकीय र आर्थिक हिसाबले काठमाडौं–हेटौडा रोपवे सम्भव छ कि छैन भनेर अहिले सम्भाव्यता अध्ययन गरिरहेका छौं,’ मन्त्री फुयालले नागरिकसँग भने, ‘सम्भाव्यता अध्ययनले उपयुक्त देखिए मात्रै रोपवे सञ्चालन गर्ने योजनामा छौं।’ मन्त्री फुयालले सम्भाव्यता अध्ययनले दिएको प्रतिवेदनकै आधारमा रोपवे सञ्चालन गर्ने या नगर्ने निर्णय गर्ने बताए। ‘अहिले काठमाडौंतर्फ बाक्लो बस्ती बसिसक्यो। तर इन्द्रसरोवर वारपार मात्र रोपवे सञ्चालन गर्न सके पनि धेरै हदसम्म पर्यटन प्रवद्र्धनको साथसाथै आर्थिक उपार्जन गर्न सकिन्थ्यो,’ उनले भने, ‘प्रदेश सरकार सम्भव भएसम्म ऐतिहासिक रोपवे सञ्चालन गर्नेतर्फ अग्रसर भएका छ।’

इन्द्रसरोवार वारपार रोपवे सञ्चालन गर्न सके धेरै हदसम्म स्वेदेशी तथा विदेशी पर्यटक आर्कषित गर्न सकिने उनको विश्वास छ। मन्त्री फुयालले केही दिनअघि रोपवेमा काम गरेका ४२ जना पूर्वकर्मचारीसँग यसको सञ्चालनबारे छलफल गरिसकेका छन्। मन्त्री फुयालले सम्भाव्यता अध्ययनबाट रोपवे सञ्चालन सम्भव देखिए आगामी आर्थिक वर्ष ०७७/७८ मा आवश्यक बजेट विनियोजन गरेर अघि बढाउने तयारी गरिरहेको बताए। ‘सम्भाव्यता अध्ययन नसकिँदै बनाइहाल्छौं भन्न मिल्दैन,’ उनले भने, ‘हरेक तवरबाट सम्भव देखिए यसलाई अघि बढाउन हामी तयार छौं।’

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले काठमाडौं–हेटौंडा रोपवे सुरु गरेका थिए। चन्द्र शमशेरले सञ्चालन गरेको रोपवे तत्कालीन राजा महेन्द्रले प्रबलीकरण गरेर फेरि चलाउन लगाए। तत्कालीन राजा महेन्द्रले २०२१ सालमा अमेरिकी आर्थिक सहयोगमा रोपवे प्रबलीकरण गरेका थिए। सरकारले उक्त रोपवे २०५८ साल मंसिरमा बिघटन गर्ने निर्णय गरेको थियो। तत्कालीन समयमा सञ्चालित रोपवेले प्रतिघन्टा २२ टन सामान ढुवानी गथ्र्याे। अहिले रोपवेका तार तथा क्यारियरहरू जीर्ण अवस्थामा छन्। त्यो बेला सञ्चालित रोपवेमा आठवटा टर्मिनल र सातवटा स्टेसन थिए। जसमा तीन सय ५३ वटा टावर थिए।

त्यो बेला खासगरी सामान ओसारपसार गर्न रोपवे सञ्चालनमा ल्याइएको थियो। पूर्वसचिव भीमप्रसाद उपाध्याय पनि काठमाडौं–हेटौडा रोपवे सञ्चालन गर्न उपयुक्त हुने बताउँछन्। ‘ऐतिहासिक रोपवेलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सके आर्थिक लाभ लिन सकिन्छ,’ उनले भने, ‘सरकार आफैंले सञ्चालन गर्दा फेरि घाटामा जान सक्ने भएकाले सार्वजनिक–निजी साझेदारीमार्फत अघि बढाउँदा उपयुक्त होला कि !’ पूर्वसचिव उपाध्यायले अहिले नेपाल बिजुली उत्पादनमा क्रमशः आत्मनिर्भरतर्फ अघि बढेकाले पनि विद्युत्बाट चल्ने उपकरणलाई प्रवद्र्धन गर्नुपर्ने बताउँछन्।

‘रोपवेको सुरुआती लागत बढी भए पनि दीर्घकालीन रूपमा सस्तो नै पर्ने गर्छ,’ उनले भने, ‘सवारी साधनको तुलनामा रोपवे धेरै सस्तो पर्न आउँछ।’ पूर्वसचिव उपाध्यायले केबलकारभन्दा पनि रोपवे आर्थिक हिसाबले धेरै सस्तो पर्न आउने दाबी गरे। ‘केबलकारको यात्रा अलि महँगो पर्ने गर्छ,’ उनले भने, ‘केबलकारको तुलनामा रोपवे धेरै हदसम्म सस्तो र किफायती पर्न आउँछ।’

प्रकाशित: ३ चैत्र २०७६ ०३:२६ सोमबार

भौतिक_पूर्वाधार हेटौंडा