अर्थ

सीपले आत्मनिर्भरतर्फ

कर्णाली डिजेबल भोकेसनल ट्रेनिङ एन्ड प्रोडक्सन प्रालिमा काम गर्दै अपांगता भएका व्यक्ति। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - मुगुको छायानाथरारा नगरपालिकाकी कमला कुलाल (२३) को तल्लो शरिर चल्दैन। पोलियो रोगका कारण उनी जन्मदै अपाङ्ग भइन्। अपांगता भएकै कारण घर–परिवार र छर–छिमेकले कमलालाई ‘हेय’को दृष्टिकोणले हेर्दथ्यो। ‘अपांगता भएकालाई हाम्रोतिर बोझको रुपमा हेरिन्छ,’ उनले भनिन्, ‘हाम्रो क्षमता र आत्मविश्वासलाई कसैले विश्वास गर्दैनन्।’ मुगुको दुर्गम गाउँ कोटीलाकी कमला अहिले आत्मनिर्भर छिन्।

प्रदेश राजधानी वीरेन्द्रनगरको कर्णाली डिजेबल भोकेसनल ट्रेनिङ एन्ड प्रोडक्सन प्रालिमा कमलाले अघिल्लो वर्षदेखि रेडिमेट कपडा तयार गर्न सिकिन। ‘अहिले आफूजस्तै अपांगता भएका व्यक्तिलाई सीप सिकाउँछु,’ उनले भनिन्, ‘आफूजस्तै अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेकी छु।’ सल्यानको शारदा नगरपालिकाकी पवित्रा विक पाँच महिनाकी हुँदा आगोले पोलिइन। त्यसयता उनको देब्रे खुट्टा चल्दैन। उनी वीरेन्द्रनगरको डिजेबल भोकेसनल ट्रेनिङ एन्ड प्रोडक्सन प्रालिमा काम गर्छिन्।

‘सीपले आत्मनिर्भर मात्रै बनाएको छैन, मजस्तै अपांगता भएका व्यक्तिलाई अगाडि बढ्न हौसला पनि मिलेको छ,’ पवित्राले भनिन्, ‘शारिरिक रुपमा अपांग भए पनि क्षमता र आत्मविश्वासले सपांगजस्तै काम गर्न सक्षम छौं भन्ने उदाहरण पेस गरेका छौं।’ कमला र पवित्राजस्तै कर्णालीका १० जिल्लाका १४ जना अपांगता भएका व्यक्तिले अघिल्लो वर्ष सिलाई–कटाई प्रशिक्षण लिए। उनीहरु अहिले आफूले सिकेको सीपमार्फत टिसर्ट, ट्र्याकसुट, हाउस ट्रेसलगायत रेडिमेट कपडा उत्पादन गरिरहेका छन्। ‘हामी सम्पूर्ण रेडिमेट कपडा उत्पादन गछौं,’ जुम्लाकी दीपीका शाहीले भनिन्, ‘विभिन्न विद्यालय, कार्यालयले गरेको अर्डर अनुसारका पोशाक पनि उत्पादन गर्छौं।’

अघिल्लो वर्ष कर्णाली प्रदेश सरकारले मेसिन खरिदका लागि २० लाख रुपैयाँ दियो। त्यहीँ रुपैयाँबाट अपांगता भएका व्यक्तिले सुर्खेतमा ट्रेनिङ सेन्टर र प्रोडक्सन प्रालि स्थापना गरे। ‘अहिले तालिम लिएर काम गरिरहेका १४ जनालाई आ–आफ्नो जिल्ला पठाएर उद्योग स्थापना गर्न लगाउने तयारी गरिरहेका छौं,’ ट्रेनिङ सेन्टरका प्रमुख किशोरबहादुर शाहीले भने, ‘उक्त उद्योगमा उहाँहरुले आफूजस्तै अपांगता भएका व्यक्तिलाई तालिम दिएर स्वरोजगार बनाउनु हुन्छ।’ कर्णालीमा एक लाख ६० हजारको हाराहारीमा अपांगता भएका व्यक्ति छन्। तिमध्ये एक लाखको हाराहारीमा आफै श्रम गरेर खानसक्ने जनशक्ति छ।

‘अपांगता भएका व्यक्तिलाई आत्मर्निभर बनाउने लक्ष्यअनुसार प्रत्यक जिल्लाबाट कम्तीमा एक जनालाई छनोट गरेर तालिम सञ्चालन गरेका हौं,’ उनले भने, ‘अब जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र हुँदै पालिका–पालिकामा अपांगता भएका व्यक्तिलाई तालिम दिँदै उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं।’

प्रकाशित: ३ चैत्र २०७६ ०२:१५ सोमबार

छायानाथरारा_नगरपालिका मुगु