अर्थ

सोमबारबाट बाँधस्थल परीक्षण

दोलखा - दोलखाको लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा बाँधस्थल क्षेत्रको प्राविधिक परीक्षण गर्न सोमबारदेखि बाँधका ढोका बन्द गरेर बालुवा थिग्राउने पोखरीमा तामाकोसी नदीको पानी भरिने भएको छ।

परीक्षणका लागि सोमबारबाट चैत २२ गतेसम्म तामाकोसी नदीको पानीलाई बाँधस्थलको झन्डै २० लाख घनमिटर पानी अट्ने पोखरीमा क्रमिक रूपले भर्दै र निकाल्दै गरिने कारण तामाकोसी नदीमा पानीको मात्रा घटबट भइरहने भन्दै आयोजनाका अधिकारीहरूले परीक्षण अवधिभर नदी छेउछाउमा नजान र सावधानी अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्। दोलखाको लामाबगरमा तामाकोसी नदीलाई थुनेर बाँध बाँधी त्यहाँबाट आठ किलोमिटर सुरुङमार्ग र पेनस्टक हुँदै गएको पानीले भुमिगत विद्युत्गृहमा तयार गरिएका ६ ओटा टर्बाइन घुमाएर विगु गाउँपालिका–१ स्थित लामाबगर गाउँको गोंगरमा स्वदेशी लगानीमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बनाइँदैछ।

सिभिलतर्फका प्रायः काम सकिएको आयोजनामा हाइड्रोमेकानिकल कार्य अन्तर्गत ठुलठूला फलामे गेटहरू, पेनस्टक पाइप लगायतको जडान गर्ने कामको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले ढिलाइ गरेका कारण आयोजनाले निर्धारित र लक्ष्यअनुसारको गति लिन सकेको छैन।

हाल पेनस्टक पाइप जडानको काम चलिरहेको छ। बाँधस्थलमा भने प्रायः सबै काम सकिएको अधिकारीहरूले बताएका छन्। काम करिब करिब सकिएको बाँधस्थल क्षेत्रका संरचना साथै ठुलठूला गेट र ढोकाहरूले कसरी काम गर्छ या कुनै समस्या छ–छैन भनेर एक–एक गरी परीक्षण गर्न लागिएको आयोजनाका एकजना वरिष्ठ इन्जिनियर विमल गुरुङले जानकारी दिए। ‘सोमबार अर्थात चैत ३ गतेबाट २२ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, फलामका गेटसहित सबै सिभिल संरचनाले कस्तो काम गर्छ भनेर मसिनो गरी केलाएर परीक्षण गर्दैछौं,’ गुरुङले नागरिकसँग भने। ‘यो आयोजनाका निम्ति महत्वपूर्ण काम हो।’

गुरुङका अनुसार बाँध बाँधिएको इन्टेकका गेटहरू बन्द गरेर बालुवा थिग्राउने पोखरीमा पानी भरेपछि कुनै समस्या नआउने गरी बिस्तारै भर्दै र छोड्दै गरिने कारण यसले नदीमा पानीको सतह केही घटबढ हुन सक्ने बताए। ‘त्यस्तो एकैचोटि बन्द गर्ने र एकैचोटि छाड्ने गर्न लागिएको होइन,’ गुरुङले भने, ‘ट्यांकी भर्ने र छाड्ने काम क्रमिक रूपमा बिस्तारै हुन्छ।’ बिस्तारै छाडिने भए तापनि नदीको तटीय क्षेत्रमा पानीको मात्रा घटबढ भइरहने गुरुङले बताए। आयोजनाले शनिबार सूचना प्रकाशन गरेर बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोसी नदीका किनारामा पर्ने लामाबगर, छ्योत छ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले हुँदै सिंगटी बजारसम्म पानीको मात्रा बढी घटबढ हुन सक्ने कारण सावधानी अपनाउन स्थानियबासीलाई भनेको छ।

यस्तै, आयोजनाले परीक्षण अवधिभर सिंगटीदेखि बिपी राजमार्ग क्षेत्रमा पर्ने सिन्धुलीको खुर्कोटस्थित तामाकोसी र सुनकोसीको दोभानसम्मै पानीको सतह घटबढ भइरहने कारण सावधानी अपनाउन आग्रह गरेको छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार परीक्षण अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने, वस्तुभाउ लैजाने वा कुनै पनि कामले नजान सर्वसाधारणलाई आग्रह गरिएको छ। रामेछाप र दोलखाका जिल्ला प्रशासन, स्थानीय तह र प्रहरीका युनिटमार्फत तटीय क्षेत्रका बस्तीमा सूचना पुर्‍याइसकिएको न्यौपानेले जानकारी दिए।

पेनस्टकको काम अझै ढिलाइ
आयोजना नै पछाडि धकेलिएको पेनस्टक पाइप जडानको काम अझै सुस्त छ। पाइप जडानको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्याकोले पेनस्टक पाइप जडानमा ढिलाइ गरेकै कारण आयोजना धकेलिँदै आएको छ। पेनस्टक अन्तर्गत तल्लो ठाडो सुरुङमा तीन सय ७३ मध्ये अहिलेसम्म दुई सय ५० मिटर र माथिल्लो ठाडो सुरुङमा तीन सय १० मिटरमध्ये एक सय ४५ मिटर मात्र जडानको काम सकिएको अधिकारीहरूले बताएका छन्। आयोजनाका अनुसार शुक्रबारसम्म माथिल्लो ठाडोमा एक सय ३३ मिटर र तल्लो ठाडोमा एक सय ६२ मिटर पाइप जडान गर्न बाँकी छ।

आयोजनाका बाँधस्थल, सुरुङ मार्ग र विद्युत् गृहका प्रायः काम सकिएका छन्। पाइप जडानकै काममा ढिलाइका कारण आयोजना धकेलिएको भन्दै आयोजना सञ्चालक समिति अध्यक्ष समेत रहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैं आयोजनाका कामको निगरानी गर्दै आएका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App