अर्थ

प्रांगारिक खेतीमा जम्दै सिँजाली

अर्गानिक कृषि प्रविधिबारे किसानलाई जानकारी दिदै। तस्बिर : धनबहादुर / नागरिक

जुम्ला - सिँजा गाउँपालिका–२ का प्रेमबहादुर खत्री प्रांगारिक खेती गर्न निकै हौसिएका छन्। उनले दुई वर्षयता कृषिमा विषादी प्रयोग गरेका छैनन्। ‘म आफू पनि रासायनिक विषादी प्रयोग गर्दैन, अरु किसानलाई पनि विषादी प्रयोग नगर्न सहजीकरण गर्दै आइरहेको छु,’ प्रेमबहादुरले भने, ‘अहिले प्रांगारिक खेती आवश्यक छ। प्रांगारिक वस्तुको माग तीव्र छ।’

स्वास्थ्यका हिसाबले पनि प्रांगारिक खेती अंगाल्न थालेको उनी बताउँछन्। उनले भने, ‘आँगनमा गाडी गुड्छन्, तर हामीले कृषि जन्य वस्तु पठाउन सकेका छैनौं। अब प्रांगारिक खेती गरेर कुनै पनि गाडी खाली जान दिनु हुँदैन।’ अहिले उनी आफ्नो खेतबारी र पाखोबारीमा लगाउने कुनै पनि कृषि वस्तुमा विषादी प्रयोग गर्दैनन्। सिँजाकै सुनकेशा नेपाल पनि गाउँगाउँमा प्रांगारिक खेतीबारे जागरण फैलिएको बताउँछिन्। पुर्खाले गर्दै आइरहेको खेती प्रणाली बचाउन आफूहरू लागिपरेको बताउँदै उनले थपिन्, ‘अब सिंगो सिजा क्षेत्रलाई प्रांगारिक क्षेत्रका रुपमा स्थापित गरेर लाग्ने प्रेरणा मिलेको छ।’

प्रांगारिक सिँजा घोषणा गरेर कृषि क्षेत्रमा निकै ठूलो हलचल ल्याउन किसान जमिरहेका छन्। कर्णाली प्रदेश सरकारले सिँजा क्षेत्रका तीनवटा स्थानीय तहमा एकै साथ अर्गानिक नमुना गाउँ अभियान थालेपछि किसान उत्साहित छन्। प्रांगारिक सिँजा बनाउन थुप्रै चुनौती छन्। तर किसान प्रांगारिक खेती गर्न उत्साहित छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा किसानलाई प्रांगारिक खेती गर्ने तौरतरिका र जैविक मल उपलब्ध गराइरहेको बताउँछन्। अहिलेका तीनवटा स्थानीय तह तत्कालीन सिँजा क्षेत्रका ११ वटा गाविस मिलेर बनेको हो। प्रांगारिक वस्तु उत्पादन गरेर जुम्लालाई चिनाउने किसान बताउँछन्। अब हरेक कार्यक्रमदेखि भोजभतेर, भेला, सम्मेलन गोष्ठीमा समेत यहाँकै खान्की उपलब्ध गराउने तयारी भइरहेको छ। सिँजामा फापर, चिनो, कागुनो, मार्सीधान, स्याउ, सिमी र आलु सबै पाइन्छ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही समृद्ध कर्णाली, सुखी कर्णालीबासी र प्रांगारिक कर्णाली निर्माण अभियानमा स्थानीय सरकार लागिपरेको बताउँछन्। उनले भने, ‘यहाँका स्थानीय तहले आफू अनुकूलमा कृषि वस्तु स्थानीय तहबीचमै साटासाट गरेर प्रयोग गर्ने वातावरण मिलाउँदैछौं। आलु, सिमी हुने स्थानीय तहले धान, चिनो, कागुनो हुने ठाउँका किसानसँग कृषि वस्तु विनिमय गर्न सक्नेछन्।’ सिँजा आफैंमा आत्मनिर्भर छ। तर सडक सञ्जाल जोडिएसँगै यहाँका किसान कृषि खेतीमा जागरका साथ लाग्न सकेका छैनन्। अध्यक्ष शाही भन्छन्, ‘यहाँ नुन र तेलबाहेक सबैको प्रांगारिक उत्पादन हुन सक्ने देखिन्छ। उनले ब्युटाकोलर नामक विषादी प्रयोग गर्न रोक लगाएको बताए। पहिले प्रयोग भएको विषादीले पशुवस्तुको स्वास्थ्यमा असर पारिरहेको छ। पछिल्लो समयमा मानव स्वास्थ्यमा समेत असर परिरहेको किसान बताउँछन्।

म आफू पनि रासायनिक विषादी प्रयोग गर्दैन, अरु किसानलाई पनि विषादी प्रयोग नगर्न सहजीकरण गर्दै आइरहेको छु,’ प्रेमबहादुरले भने, ‘अहिले प्रांगारिक खेती आवश्यक छ। प्रांगारिक वस्तुको माग तीव्र छ।’

अहिले सिँजाका तीनवटै स्थानीय तहले रासायनिक विषादीको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। खेतबारीको भरपुर प्रयोग गर्न र प्रांगारिक खेती गर्न किसानलाई उत्साहित बनाउन थालिएको छ। बर्सेनि यो क्षेत्रबाट करोडौको सिमी, आलु, चामल बाहिर निर्यात भइरहेको छ। अब सिँजाभित्रै उत्पादित अन्न साटासाट हुन्छ। सिँजा क्षेत्रका तीनवटै स्थानीय तह मिलेर उपभोक्ता सहकारी गठन गर्ने तयारी भइरहेको छ। त्यो सहकारीले किसानको प्रांगारिक उत्पादन खरिद गर्ने छ। कर्णाली प्रदेश सरकारलाई बेच्ने छ। बाह्य बजारसम्म यहाँको उत्पादनलाई लैजानका लागि पहल थाल्नेछ। सिँजा क्षेत्रकै प्रांगारिक लोगो र स्टिकर बनाएर काठमाडौंको मूल्यमा यहाँको प्रांगारिक उत्पादन खरिद बिक्री हुने हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्। पहिलो चरणमा कुन क्षेत्रमा कुल खेती उपयुक्त हुन्छ। त्यसको पहिचान भइरहेको छ। यहाँ जैविक तेल समेत प्रशोधन भइरहेको छ।

अध्यक्ष शाहीले भने, ‘अन्नपातमा घुनपुत्ला लागेमा ओखरका पात हाल्न र बोटबिरुवामा किरा लाग्दा द्यारको तेल प्रयोग गर्न किसानलाई सुझाव दिएका छौं।’ उनका अनुसार किसानलाई बाझो जग्गा राख्न दिइने छैन। ‘अहिले बजारमा यहाँको स्थानीय अन्न जौ, कोदो, मकै, फापरको बढी माग छ। प्रविधि नयाँ हुनुपर्छ, खेतीपाती पुरानै उपयुक्त छ,’ उनले थपे। जुम्लालाई २०६६ मा प्रांगारिक जिल्ला घोषणा गरिसकिएको थियो। जुम्लाको प्रांगारिक उत्पादनको नाममा अन्य जिल्लाको उत्पादन बिक्री भइरहेको छ। त्यो रोक्न सबैलाई उनले सुझावसमेत दिए। उनले जुम्लालाई प्रांगारिक पकेट क्षेत्रका रुपमा स्थापित गर्न कर्णाली सरकारले जोड दिएको बताए। उनले भने, ‘जुम्ला आफैंमा प्रांगारिक जिल्ला हो। किसानले लुकिछिपी विषादी प्रयोग गरेको सुनिए पनि स्थानीय सरकारले प्रतिबन्ध लगाइसकेको छ। सिँजा क्षेत्र नाग्म रारा करिडोरभित्र पर्ने भएकाले पर्यटकले पनि यहाँ प्रांगारिक उत्पादनको स्वाद लिन पाउनेछन्। अब यहाँका प्रत्येक होटलमा प्रांगारिक उत्पादनको नास्ता पाइनेछ।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाले प्रांगारिक कृषि र यसको महत्व, अर्गानिक र रासायनिक खेतीबीचको फरक र फाइदा बेफाइदा, प्रांगारिक मलको प्रयोग र महत्व, प्रांगारिक खेतीमा रोगकिराको व्यवस्थापनबारे किसानलाई पटकपटक सहजीकरण गर्दै आइराखेको छ। प्रांगारिक कृषिमा ध्यान दिनुपर्ने विषय, अर्गानिक बजारको महत्व, प्रांगारिक प्रमाणीकरण, प्रांगारिक प्रमाणीकरणको जोखिम विषयमा समेत किसानलाई जागरुक बनाइएको छ। यहाँका किसानले अर्गानिक खेतीको तरिकाबारे राम्ररी बुझेका छन्। कृषि डायरी भर्न थालिसकेका छन्। सामूहिक प्रमाणीकरणबारे समेत चनाखो भइसकेको कृषि कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७६ ०३:४१ आइतबार

प्रांगारिक_खेती जुम्ला