अर्थ

बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित

बुढीगंगा नगरपालिकामा असिना पानी परेपछिको दृश्य ।

बाजुरा– असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन्।

असिनाले बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित छाम जिल्लामा समेत लाखौको अन्नबालीमा क्षति पुर्‍याएको छ। पानी र ठूला–ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्‍याएको खप्तड छेडेदह गाउँपालिका– ७ का वडा सदस्य रणबहादुर ओलीले बताएका छन्। दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई असिना पानी परेको स्थानीय बुढीगंगा नगरपालिका–९ का स्थानीय कृष्ण थापाले बताएका छन्। थापाका अनुसार बुढीगंगा र त्रिवेणी नगरपालिकाका सबैजसो वडामा ठूलो क्षति पुर्‍याएको बताए।

गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तााम छन्। बीउ उत्पादनका लागि समेत लगाइएको गहुँमा क्षति पुगेको स्थानीय बताउँछन्।

तरकारी र गहुँजौको नलमा रस समेत निस्कीने गरी क्षति पुगेको बुढीगंगा नगरपालिका गोमती कटुवालले बताएकी छन्। असिनाले गहुँ बारीहरु एकातिर पल्टीरहेको अवस्था छ। कुनै स्थानमा असिनाले नल पराल समेत नरहने गरी क्षति पुर्‍याएको छ।

खेतमा हेर्दा किसानले सुस्केरा हाल्नु बाहेक केहि नभएको किसानको दुखेसो छ। जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहूँ बाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगासहित स्थानीय तहमा चैत्रको अन्तिममा नै काट्न थाल्ने गरेका छन्। बेशी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ।

कृषि ज्ञान केन्द्रले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका भारी असिना परेको बताएको छ। क्षतिको विवरण एकीन नभएपनि हेर्दा नल परालको रस नै आउने गरी गहुँ जौ बालीमा क्षति पुगेको वडा सदस्य रणबहादुर ओलीले बताएका छन्।

 

प्रकाशित: १ चैत्र २०७६ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App