अर्थ

चिनियाँ कार्यरत क्षेत्रमा बढी निगरानी

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका कामदार। यहाँ दुई सय ३० चिनियाँ कामदार खटिएका छन्। फाइल तस्बिर:उमेश पुन/नागरिक

पोखरा - चिनियाँ कामदार कार्यरत उद्योगधन्दा र आयोजना क्षेत्र आसपास बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै निगरानी बढाइएको छ। चिनियाँ कामदार खटिएको क्षेत्र आसपासका बासिन्दा कोरोना भाइरसको संक्रमणको त्रासमा रहेको भन्दै विशेष सतर्कता अपनाउन थालिएको हो। चीनबाट कोरोना भाइरस फैलिएकाले कामदार आउजाउका क्रममा भाइरस संक्रमण भित्रिन सक्ने भएकाले सतर्कता अपनाएको स्वास्थ्यकर्मीले बताएका छन्।

कार्यक्षेत्रमा चिनियाँ कामदारको बढी आउजाउ हुने हुँदा भाइरस फैलिने त्रास बढेको भन्ने स्थानीय गुनासो आउने गरेपछि निगरानी बढाएको स्वास्थ्य पदाधिकारीहरुले बताएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लम्जुङको मस्र्याङदी गाउँपालिका–२ मा निर्माणाधि ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना, लवलपुरको होङसी सिमेन्ट कारखाना तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा खटिएका चिनियाँ कामदारको आउजाउ र उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी बढाइएको छ।

‘चिनियाँ कामदारले ती आयोजना र उद्योगमा काम गरिरहेकाले पनि विशेष सचेत हुनुपरेको हो। कामदारको आउजाउको क्रममा संक्रमण भित्रिन सक्छ भनेर सचेत हुनुपरेको हो,’ शर्माले भने, ‘कामदार खटिएको क्षेत्र आसपासका बासिन्दा पनि त्रसित भएकाले हामी पनि सचेत भएका हौ।’ कार्यक्षेत्रमा खटिने क्रममा चिनियाँ कामदार आउजाउ चल्दा भाइरस संक्रमण भित्रिन सक्ने जोखिम रहेको उनले बताए। शर्माका अनुसार निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय ३० चिनियाँ कामदार खटिएका छन्। ती कामदार आफैंले हरेक दिन तापक्रम नापेर मात्र काममा जाने गरेका छन्। विमानस्थलमा खटिएका चिनियाँ कामदारले नै आफ्नो मुलुकबाट भित्रिएका मजदुरलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र स्वस्थ भएको खण्डमा मात्र काममा खटाउने गरेको पाइएको शर्माले बताए।

चीनबाट कोरोना भाइरस फैलिएकाले कामदार आउजाउका क्रममा भाइरस संक्रमण भित्रिन सक्ने भएकाले सतर्कता अपनाएको स्वास्थ्यकर्मीकाे भनाइ

‘अझ कतिपय कामदार त थप सात दिन क्वारेन्टाइनमा बस्ने छन्। ती चिनियाँ कामदारको आउजाउबाट त्रसित हुन जरुरी छैन,’ शर्माले भने। लमजुङको न्यादी जलविद्युत् आयोजनमा ३८ चिनियाँ कामदार कार्यरत रहेको उनले बताए। केही दिनअघि मात्र त्रिभुवन विमानस्थल हुँदै लम्जुङ भित्रिएका ती कामदारको स्वास्थ्य परीक्षण नगरिएको थाहा पाएपछि कोरोना संक्रमण फैलिने त्रासमा स्थानीय परेका थिए। विमानस्थलमा ओर्लेपछि क्वारेन्टाइनमा नबसी सिधै कार्यक्षेत्रमा ती मजदुर खटिएपछि स्थानीय डराउन थालेका थिए। स्थानीयले चिनियाँको स्वास्थ्य परीक्षण गर्न समेत माग गरेका थिए। आयोजना निर्माणमा ६१ चिनियाँ कामदार खटिए पनि केही अझै चीनमै रोकिएका छन्। भित्रिएका चिनियाँलाई स्थानीयसँग भेटघाट नगर्न र केही दिन आराम गर्न आयोजनाले निर्देशन दिएको थियो।

नवलपुरको होङ्सी सिमेन्ट र नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कति चिनियाँ कामदार खटिएका छन् भन्ने अहिले यकिन भइनसकेको शर्माले बताए। सिमेन्ट उद्योग र सडक विस्तारमा खटिएका चिनियाँको तथ्यांक संकलन र उनीहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रदेश सरकारले विशेष टोली नै खटाएको शर्माले जानकारी दिए। ‘भित्रिएका चिनियाँ नागरिकले सुरक्षित भएरै काम गरेका छन्। तर, स्थानीय भने संक्रमणको त्रासमा छन्,’ शर्माले भने, ‘यो बेला कस्तो सचेतना अपनाउने र ती कामदारको स्वास्थ्य अवस्था थाहा पाउने जिम्मा प्रदेश सरकारको हो। त्यही भएर हामीले निगरानी बढाएका हौं।’

त्यसबाहेक भारतीय नाका हुँदै अहिले निर्वाधरुपमा पोखरासम्म बस चढेर पर्यटक आउजाउ गरेकाले पनि पोखरेली कोरोना संक्रमणबारे चिन्तित छन्। तर, नेपाल–भारत सीमा नाका भएर भित्रिने ती पर्यटकको स्वास्थ्य अवस्था परीक्षण गर्ने पूर्वाधार कमजोर रहेको शर्माले बताए। ‘पाहुना भित्रिने मूल नाकामा हामीले परीक्षण गर्न नसकेकै हो। त्यसमा पनि ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘अनावश्यक आउजाउ हुन नदिन सचेत हुनैपर्छ। भारतीय सहरमा पनि संक्रमण फैलिएकोले सचेत हुन जरुरी छ।’

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:४९ आइतबार

भाइरस_संक्रमण स्वास्थ्यकर्मी निगरानी