अर्थ

मुआब्जा बुझेर पनि सरेनन्

बल्चौरस्थित बस्तीमा पक्की संरचना निर्माण हुँदै। तस्बिर : योगेश/नागरिक

टीकापुर - रानी जमरा कुलरीया सिँचाइ आयोजनाको नहर निर्माणका क्रममा जग्गा अधिग्रहणवाफत मुआब्जा बुझेका १६ घरपरिवार अझै सर्न मानेका छैनन्। लम्की चुहा नगरपालिका–३ बल्चौरमा रहेका ती घरपरिवारलाई आयोजनाले जानकी गाउँपालिका–५ अमौरीमा जग्गा खरिद गरेर स्थानान्तरणको व्यवस्था गरेको छ।

सो ठाउँमा आयोजनाले गत वर्ष ३५ कट्ठा जमिन खरिद गरेर प्लटिङ गरेको छ। प्लटिङ गरिएको ठाउँमा आयोजनाले सडक ग्राभेल, विद्युत् विस्तार, खानेपानीलगायतको व्यवस्था गरिदिएको जनाएको छ। लम्की–टीकापुर सडक नजिकै रहेको सो बस्तीमा जान आयोजनाले दुईवटा कल्भर्टसमेत निर्माण गरेको छ। आयोजनाले गत वर्ष नै प्रतिघरपरिवार दुई कट्ठाका दरले जग्गाधनी पूर्जासमेत प्रदान गरिसकेको छ। त्यस्तै आयोजनाले उनीहरुलाई घर निर्माणमा समेत आर्थिक सहयोग गरेको सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घर निर्माणअन्तर्गत पहिलो किस्तावाफतको रकम सबै घरपरिवारले बुझिसकेका छन्। उनले केही घरपरिवारलाई दोस्रो किस्तावाफतको रकम उपलब्ध गराउने तयारीसमेत भइरहेको बताए।

यतिबेला मुआब्जा बुझेका ती घरपरिवारले उल्टै नहर आसपासका क्षेत्रमा पक्की संरचना निर्माण थालेका छन्। उनीहरुले पूर्व–पश्चिम राजमार्ग र नहरबीचमा धमाधम घर निर्माण गरिरहेका छन्। यसरी घर निर्माण गर्नेमा मुआब्जा बुझेका मात्रै हैन अन्य घरपरिवारसमेत रहेको बताइएको छ। सो बस्तीका बडघर कालिचरण चौधरीले आफूहरुले मात्रै नभई अरुले समेत घर निर्माण गरिरहेको बताए। उनी समेत मुआब्जा बुझ्ने मध्येका एक हुन्। उनले समेत घर निर्माण गरिरहेका छन्। उनले मुआब्जा बुझेका घरपरिवारबीच सर्ने वा नसर्ने भन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको बताए। ‘मुआब्जा बुझिसकेपछि ढिलो चाँडो सर्न त सर्नै पर्ला,’ उनले भने, ‘तर कहिले सर्ने भन्नेबारे सल्लाह भएको छैन।’ यो मुक्त कमैया बस्ती हो। यहाँ सरकारले करिब तीन सय  मुक्त कमैया घरपरिवारलाई बसाएको हो। आयोजनाले मुआब्जा दिएर सार्न खोजेका मध्ये सबै मुक्त कमैया घरपरिवार हुन्।

उनीहरु लामो समयदेखि यो ठाउँमा बस्दै आएका छन्। विगत १० वर्षदेखि यो ठाउँमा बस्दै आएका सहदेव चौधरीले मिलेको समाज छोडेर जान मन नलागेको बताए। उनी पाँचजनाको परिवारसहित अहिले पनि नहर किनारको घरमा बस्दै आएका छन्। ‘लामो समयदेखि सँगै बसेका दाजुभाइलाई छाड्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘त्यसकारण पनि स्थानान्तरणमा ढिलाइ भएको हो।’ कतिपयलाई आयोजनाले मुआब्जास्वरुप दिएको जमिन चित्त बुझेको छैन। उनीहरुमध्ये कतिपयले आयोजनाले स्थानान्तरणका लागि दबाब दिएको गुनासोसमेत गरेका छन्। तर उनीहरुले यसअघि आयोजनासँग नहर किनारको बस्ती छाड्न सहमति भने गरिसकेका छन्। ‘त्यो जमिन राम्रो छैन। त्यहाँ बस्न मन लागेको छैन,’ लक्ष्मीराम चौधरीले भने, ‘तैपनि सर्नैपर्छ। बिस्तारै सर्ने हो।’

मुआब्जा बुझेका घरपरिवारले उल्टै नहर आसपासका क्षेत्रमा पक्की संरचना निर्माण गरेर बस्न थालेका छन्।

उनले काम गर्ने मान्छे नभएका कारण सर्न खोजेको ठाउँमा घर निर्माण गर्न नसकेको बताए। उनको यस भनाइमा धेरैजसोको समर्थन छ। उनीहरु सबैजना ज्यालादारी काम गरेर जीविकोपार्जन गर्छन्। हरेक दिन काम नगरे उनीहरुलाई साँझ बिहानको छाक टार्न समस्या छ। उनीहरुले काम छाडेर घर निर्माणमा समय दिन नसकेको बताए। ‘पेट पाल्नका लागि काम गर्ने कि घर निर्माण गर्ने भन्ने समस्या छ,’ देशराज चौधरीले भने, ‘फुर्सद नभएका कारण पनि घर निर्माणमा ढिलाइ भएको हो।’ तर कतिपय घरपरिवारले भने प्लटिङ गरिएको ठाउँमा घरको जग निर्माण गरेका छन्। आयोजनाले नहर क्षेत्रमा घेराबार गर्ने तयारी गरेको छ। उनीहरुलाई आयोजनाले बारम्बार बस्ती खाली गरिदिन आग्रह गर्दै आएको छ। सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले तत्काल बस्ती सार्नका लागि आग्रह गरेको भए पनि काममा बाधा हुने देखिए बल प्रयोग गरिने बताए। ‘अहिले आग्रह गरिरहेका छौं,’ उनले भने, ‘काम नै नहुने अवस्था देखियो भने स्थानीय सरकारसँगको सहकार्यमा बल प्रयोग गर्नैपर्छ।’

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले दुवै पक्षले सहमति पालना गर्नुपर्ने बताए। उनले आयोजनाको काममा कुनै बाधा नपुगेको तर बस्ती सर्ने काममा ढिलाइ भइरहेको बताए। ‘आयोजनाको काममा कुनै समस्या छैन,’ उनले भने, ‘बस्ती सर्नुपथ्र्यो तर उनीहरु सरेका छैनन्।’ आयोजनाको उद्देश्य कैलालीको पूर्वी क्षेत्रमा रहेको करिब ४० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्‍याउने रहेको छ। आयोजना नेपाल सरकार र विश्व बैंकको ऋण सहयोग गरी २७ अर्ब लगानीमा निर्माण भइरहेको छ। हाल आयोजनाको दोस्रो चरणको काम भइरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:४४ शुक्रबार

मुआब्जा सिँचाइ कल्भर्ट