अर्थ

भेडेटारबाट जिपलाइनको सफल परीक्षण, शनिबारदेखि सुरु हुने

धरान-४ भेडेटारबाट जिपलाइनको सफल परीक्षण हुँदाको तस्बिर । तस्बिर : नागरिक

धरान- पूर्वका पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायीकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

कोरोना भाइरस(कोभिड-१९)को कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायीहरुलाई साहसिक खेल पर्यटन जिपलाइनले उत्साह दिने अपेक्षा गरिएको छ। पूर्वको पर्यटकीयस्थल धरान ४ स्थित भेडेटारमा सुरु हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ। भेडेटारबाट धरान-४ कै देवीथानसम्म ६ सय ५० मिटर लम्बाईको यो जिपलाइनको परीक्षण सफल भइसकेको छ।

यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान-४ ले सञ्चालनमा ल्याउन लागेको हो। केदारबहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतले ३ करोड लागतमा जिपलाइन सञ्चालनमा ल्याएका हुन्। थापा र भण्डारी यसअघि काभ्रेको धुलिखेलमा सञ्चालनमा रहेको जिपलाइनका पनि सञ्चालक हुन्। ‘कानुनी प्रक्रियादेखि सम्पुर्ण तयारी, परीक्षण पूरा भइसकेको छ, शनिबार औपचारिक उद्घाटन हुनेछ,’सञ्चालक थापाले भने।

यो जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक पर्यटकले अनुभव लिन सक्नेछन्। यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकार रहेको पनि थापाले जानकारी दिए। क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयाँसम्म पर्नेछ। क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ। कपल जिपलाइनमा दुई जना आफ्नो साथीसँग अंगालो मारेर खेलिन्छ। धुलिखेमा यो निक्कै रुचाइएको पनि थापाले बताए। ‘धरानमा दैनिक २ सय जनालाई जिपलाइन खेलाउने लक्ष्य छ,’उनले थपे।

जिपलाइनमा कम्तीमा ८ वर्षदेखिमाथि उमेर समूहलाई खेलाउने कम्पनीले जनाएको छ। विदेशमा ५ वर्षका बच्चाले जिपलाइन गरेर रेकर्ड कायम गरेका छन्। धरानमा आफ्नो अभिभावकसँग ८ वर्षसम्मकालाई जिपलाइन गराउने सञ्चालकहरुले बताएका छन्। धुलिखेलमा ७५ वर्षका वृद्धले र ६८ वर्षकी वृद्धाले पनि जिपलाइनको मजा लिइसकेका छन्। ‘साहसिक पर्यटक ३ प्रकारमध्ये कुन खेल्ने हो, त्यसअनुसार तौल लिएर मात्र गराउछौं,’सञ्चालक भण्डारीले भने,‘प्रेसर भएकालाई गराउन हुँदैन।’ धरानमा तत्काल धुलिखेलमा प्रशिक्षण पाएका अनुभवी प्राविधिकहरु नै हुनेछन्। पछि धरानमा नै तालिम दिलाएर यहीकालाई रोजगारी दिने पनि उनले खुलाए।

जिपलाइन गर्ने साहसिक पर्यटकहरुलाई कानुन बमोजिमको ५ लाख रुपैयाँको विमा पनि गरिएको कम्पनीले जनाएको छ। यद्यपी, जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त र सफल कम्पनीको भएकोले सुरक्षाको चिन्ता नरहेको सञ्चालकहरुको दाबी छ। उनका अनुसार जिपलाइन्को तारको भार क्षमता ११ हजार किलोग्राको छ भने सेफ्टी बेल्ट(हार्नेस)को भार क्षमता २२ देखि २७ सय किलोग्रामको छ।

यस्तै, क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ। ‘हामीसँग वल्र्ड टेष्टेड कम्पनीको सामानहरु छन्, त्यसैले कुनै समस्या छैन,’थापाले भने,‘दुबईमा भएको संसारकै लामो जिपलाइनमा प्रयोग भएको कम्पनीकै सामानहरु यहाँ ल्याएका छौं।’

 

 

प्रकाशित: २२ फाल्गुन २०७६ १४:०६ बिहीबार

भेडेटार जिपलाइन