अर्थ

१५ दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन

हलेसीमा बजार अनुगमन गर्दै नगरपालिका नेतृत्वको अनुगमन टोली। तस्बिर : नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी बजारका व्यवसायीलाई व्यवसाय दर्ताका लागि समय सीमा दिएको छ। मंगलबार गरिएको अनुगमनकाक्रममा कतिपय व्यवसायीले बिना दर्ता व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि नगरपालिकाले १५ दिनभित्र व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीलाई आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको नगरपालिकाका सातौं शाखा अधिकृत रविकिरण आचार्यले बताए। होटल, पसललगायत व्यवसाय दर्ता नगरेका व्यवसायीलाई पहिलो पटक दर्ताका लागि सुझाव दिइएको र बेवास्ता गरेको पाइए दोस्रो पटकदेखि सामान जफतसँगै अन्य कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।

नगरपालिकाले होटल व्यवसायी संघ, प्रहरी र पत्रकारसहित बजार अनुगमन गरेको थियो। बजार अनुगमनका क्रममा म्याद नाघेका र कम तौल भएका सामान फेला परे पनि अनुगमन टोलीले त्यस्ता सामान बिक्री वितरण नगर्न भन्दै सुझाव मात्र दिएर छाडेको छ। अनुगमन टोलीले होटल व्यवसायीलाई खाना तथा कोठाको मूल्यसूची राख्न, आगन्तुक पुस्तिका राख्न, दर्ताका कागजात देखिनेगरी राख्न सुझाव दिएको छ। आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिइने आचार्यले बताए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App