अर्थ

बहानेपोखरी महोत्सवमा ४० लाखको कारोबार

खोटाङ – करिब ४० लाखको कारोबार गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाको राखाबांदेलमा आयोजित बहानेपोखरी महोत्सव सम्पन्न भएको छ। बहानेपोखरीको पर्यटन प्रबर्द्धनका लागि आयोजना गरिएको महोत्सव शनिबार राती सम्पन्न भएको हो।

करिब ३० हजारले अवलोकन गर्ने र ५० लाखको कारोबार गर्ने लक्ष्य राखिए पनि करिब आठ हजारले मात्र अवलोकन गर्दा करिब ४० लाखको कारोबार भएको महोत्सव आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए। महोत्सव प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फागुन १३ गते उद्घाटन गरेका थिए। प्रतिकुल मौसमका कारण कम अवलोकनकर्ता आएकाले लक्ष्यभन्दा थोरै आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। पाँचदिने महोत्सवमा अर्गानिक कृषि उपज, स्थानीय खानाका परिकारलगायत ३६ स्टल राखिएको थियो। महोत्सवका बेला वर्षा भएकाले अवलोकनकर्ता कम आएको संयोजक राईले बताए। ‘वर्षा भएकाले सडक हिलाम्मे भए। चिसो पनि बढ्यो। त्यही कारण अपेक्षा गरिएजति मान्छे आउन सकेन,’ राईले भने, ‘अपेक्षा गरेअनुसार उपस्थिति र कारोबार नभए पनि पर्यटकीयस्थल बहानेपोखरीको प्रचार गर्न सफल भएका छौं।’

महोत्सवका दौरान सहभागीले बहाने पोखरी अवलोकन, शंखे ढुंगा, नागढुंगा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फुलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्राको अनुभव संगालेका छन्। महोत्सवको अवशरमा मिनि–म्याराथन, वडास्तरीय महिला/पुरुष भलिवल, खुल्ला पुरुष डबल ब्याटमिन्टन, खुल्ला बुद्धिचाल, खुल्ला लोकदोहोरीलगायत प्रतियोगिता गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने दुई सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरी घुमफिर गर्न र दृश्यावलोकनका लागि चर्चित छ। पर्यटकीय सम्भावना रहे पनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमशृंखला अवलोकन गर्न सकिन्छ।

पूर्वतर्फ शंख ढुंगा, नागढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचना रहेको बहानेपोखरीमा जनै पूर्णिमा र मंसिर पूर्णिमाका बेला धामी झाँक्रीसहित दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ। बहानेपोखरीका आसपासमा चौरी गाई र भेंडापालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने गाउँपालिकाको दाबी छ। ओझेलमा रहेको बहानेपोखरीमा नयाँ वर्षलगायत अवसरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App