अर्थ

बहानेपोखरी महोत्सवमा ४० लाख बढीको कारोबार

काठमाडौंबाट हेलीकोप्टरमा बहानेपोखरी महोत्सवमा आइपुगेका स्थानीय । तस्बिर : नागरिक

खोटाङ– करिब ४० लाखको कारोबार गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित बहानेपोखरी महोत्सव सम्पन्न भएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न भएको हो।

करिब ३० हजारले अवलोकन गर्ने र ५० लाखको कारोबार गर्ने लक्ष्य राखिए पनि करिब ८ हजारले मात्र अवलोकन गर्दा करिब ४० लाखको कारोबार भएको महोत्सव आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए। महोत्सव प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुन १३ गते उद्घाटन गरेका थिए।

प्रतिकुल मौसमका कारण कम अवलोकनकर्ता आएकाले लक्ष्यभन्दा थोरै आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। पाँच दिने महोत्सवमा अर्गानिक कृषि उपज, स्थानीय खानाका परिकार लगायतको ३६ वटा स्टल राखिएको थियो। महोत्सव उद्घाटनपछि बर्षा भएकाले अवलोकनकर्ता कम आएको संयोजक राईले बताए।

महोत्सवका दौरान सहभागीले बहाने पोखरी अवलोकन, शङ्खे ढुङ्गा, नाग ढुंगा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फुलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्राको अनुभव संगालेका छन्। महोत्सवको अवशरमा मिनि–म्याराथन, वडास्तरीय महिला/पुरुष भलिवल, खुल्ला पुरुष डबल ब्याटमिन्टन, खुल्ला बुद्धिचाल, खुल्ला लोकदोहोरी लगायतका प्रतियोगिता गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

पर्यटनको सम्भावना रहेपनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचना रहेको बहानेपोखरीमा जनै पूर्णिमा र मंसिर पूर्णिमाकाबेला धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ।

बहानेपोखरीका आसपासमा चौरी गाई र भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने गाउँपालिकाको दाबी छ। ओझेलमा रहेको बहानेपोखरीमा नयाँ वर्ष लगायतका अवसरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए।
 

प्रकाशित: १८ फाल्गुन २०७६ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App