अर्थ

व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

आफ्नो पाखोबारीमा रोपेका स्याउका बिरुवालाई रेखदेख गर्दै कालै गाउँका किसान । तस्बिर: सुमन/नागरिक

मुगु- मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बालिले ६ महिना पुरै खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएको पाखोबारीमा व्यवसायीक स्याउ खेती सुरु गर्न थालिएको हो।

विश्व खाद्य कार्यक्रम डब्लु.एफ.पि.को आर्थिक सहयोगमा ग्रामिण सामुदयिक विकास केन्द्र आरसिडिसिद्धारा सञ्चालित जलवायु अनुकुलन तथा खाद्य सुरक्षा  अन्र्तगत जीवीकोपार्जन कार्यक्रम अन्तरगत कालै गाँउका २ सय २३ र सिडि गाँउ ३६ घरधुरीका किसानले खेती गर्दै आएको १ लाख १४ हजार बर्गमिटर जग्गामा व्यसायीक स्याउ खेती सुरु गरिएको ठिन्के रुख बुनिभिर फलफूल समितिका अध्यक्ष ज्ञानबहादुर रावलले जानकारी दिए।

एक हल जग्गामा रोपेको स्याउको बिरुवाबाट फलेको स्याउ बेचेर मात्र वर्षमा सात लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेपछि किसानले अनिवार्य ५० देखि १ सयसम्म स्याउका बिरुवा रोपी सकेका छन्। गाँउमा सडक यातायात पुगिसकेकाले आफूले फलाएको स्याउ समेत खेर नजाने भएकाले व्यवसायीक स्याउ खेती तर्फ आकर्षित भएको किसान कम्म नेपालीले बताएका छन्।

कोल्ड स्टोरको समेत निमार्ण गरि स्याउ खेतीबाटै किसानको जीबीकोपार्जनमा टेवा पुगि आर्थिकस्थिती बलियो बनाउने उद्देश्यले कालै र सिडि गाउँका २ सय ५९ घरधुरीका किसानलाई १ सयका दरले १९ हजार स्याउका बिरुवा बितरण गरिएको आरसीडिसी मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले जानकारी दिए।


 

प्रकाशित: १७ फाल्गुन २०७६ १२:२५ शनिबार

व्यवसायीक_स्याउ_खेती किसान