अर्थ

उखुको अभावमा गरुडास्थित चिनी उद्योग बन्द

रौतहट- उखुको अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । गत माघ २७ देखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो । करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले नपत्याएपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।

२०५१ सालदेखि उखुको क्रसिङ थालेको उद्योगले चालू आर्थिक वर्षमा एक लाख क्वीन्टल पनि पु¥याउन सकेन । गत वर्ष करिब १५ लाख क्वीन्टल उखु क्रसिङ थालेको चिनीमिलले चालू सिजनमा मुस्किलले ७० हजार क्वीन्टल उखु क्रस गरेको छ । अढाई दशकभन्दा लामो समयावधिमा सबैभन्दा कम उखु पाएको वर्ष नै यही भएको संघका अध्यक्ष यादवले बताएका छन् ।

उद्योगले किसानलाई समयमा उखुको मूल्य भुक्तानी गर्दैन । हरेक वर्ष भुक्तानी पाउन किसानले झमेला गर्नु परिरहेको थियो । अहिले पनि करोडौँ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको किसानले चालू आर्थिक वर्षमा पनि उद्योगलाई उपलब्ध गराएको उखुको पैसा पाउन बाँकी नै छ । किसानको उखु चाहिँ लिने तर पैसा चाहिँ दिनै नचाहने उद्योगको कारणले किसानमा निराशा आएको किसानहरुको भनाइ छ । चिनी मिलप्रति भुक्तानीको अविश्वासले गर्दा किसानले यसपालि उखु उपलब्ध नगराएको संघका सदस्य सफिन्द्रप्रसाद यादवको भनाइ छ ।

समयमा उद्योग संचालनमा ल्याएको भए र किसानलाई भुक्तानी दिन उद्योगले आनाकानी नगरेको भए चालू आर्थिक वर्षमा पनि कम्तीमा दश लाख क्वीन्टल उखु उद्योगले पाउने निश्चित थियो । जिल्लाबाहिरका उद्योगहरुले रौतहटबाट अहिले पनि उखु किनेर लाने क्रम जारी छ । यसपालि समयमै उद्योगले भुक्तानी दिएमा अर्को वर्षदेखि फेरि किसानले पत्याउने वातावरण बन्ने सम्भावना रहेको यादवको भनाइ छ ।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App