अर्थ

असिनापानीले तरकारी तथा गहुँ बाली नष्ट

नौमुले गाउँपालिकाको सल्लेरीमा असिनापानीले नष्ट गरेको तरकारी। तस्बिर: गोविन्द/नागरिक

दैलेख – आइतबार, सोमबार र मंगलबार नौमुले र गुराँस गाउँपालिकामा परेको असिना पानीले आठ सयभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्। नौमुलेमा तीन फिटसम्म असिना परेपछि बालीनाली पूर्णरुपमा नष्ट भएको हो।

असिनाले नष्ट गरेको बाली मूल्यांकन तथा अनुगमन गर्न गाउँपालिकाको टोली किसानमाँझ पुगेको छ। किसानले लगाएको तरकारी, गहुँबाली पूर्ण रुपमा नष्ट भएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए।

नौमुले गाउँपालिकाका सबै वडामा असिना पानी परेको छ। असिनाले आफूहरुले लगाएको बाली पूर्ण रुपमा नष्ट गरेको नौमुले गाउँपालिका–३ द्वारीका किसान टिकाराम विकले बताए। ‘आफूहरुले लगाएको कुनै पनि बाली बचेन।’ किसान टिकाराम विकले भने, फल्ने बेलामा गहुँ तथा तरकारी पूरै नष्ट भयो।’

छिनभरमै आँखाअगाडि असिनाले आफूले लगाएको बाली नष्ट गरेको अर्का किसान दिपेन्द्र खत्रीले बताए। किसानका लागि असिनाले बर्सेनि दुःख दिने गरेको उनको भनाइ छ। गाउँपालिकाका अध्यक्ष भदे बुढामगरसहितको टोली किसानको बारीमा पुगेका छन्।

नौमुलेमा एक करोडभन्दा बढी क्षती हुनसक्ने अनुमान गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा असिनाले ठूलो क्षति गरेको छ। गाउँपालिका अध्यक्ष बुढामगरले भने, ‘मूल्यांकन र अनुगमन गर्न हामी किसानको बारीमै पुगेका छौं।’ आवश्यकताअनुसार असिनापीडित किसानलाई राहत दिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै गुराँस गाउँपालिकामा पनि बाक्लो असिना परेको छ। असिनाले तरकारी, गहुँ नष्ट भएको छ। गाउँपालिका अध्यक्ष खेमराज ओलीले किसानमाँझ पुगेर राहतका कार्यक्रम ल्याउने बताए। गुरासे तरकारीका लागि प्रख्यात क्षेत्र हो। कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले असिना दैलेखका धेरै ठाउँमा आएको खबर पाए पनि क्षतिको विवरण नआएको बताए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:३४ बुधबार

असिनापानी बाली नष्ट