अर्थ

सुकुटे महोत्सवमा ३० प्रतिशत छुट

सिन्धुपाल्चोक-  उत्तेजक पानीका भंगालासहित कलकल बग्ने सुनकोसी नदीमा साहसिक खेल र्‍याफ्टिङको आनन्द लिन चाहानुहुन्छ ? यदि, चाहानुहुन्छ भने सहुलियत शुल्कमा र्‍याफ्टिङ बोट खियाउँदै सुनकोसीको चिसो पानीमा हुर्केका असला माछाको परिकार चाख्दै र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिने अवसर जुटेको छ।

प्रथम सुकुटे महोसत्सवको अवसरमा आयोजकले आन्तरिक तथा बाह्य पर्यटकलाई यो मौका उपलब्ध गराउन लागेका हुन्। आगामी शनिबारदेखि मंगलबार (फागुन १७–२०) सम्म चार दिन चल्ने महोत्सवमा र्‍याफ्टिङ, खाना, बाससहित होटल, रेष्टुराँको सम्पूर्ण सेवामा ३० प्रतिशत छुट दिन लागिएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक राजेन्द्र शर्माले बताए।

पर्यटकीय क्षेत्र सुकुटेमा याफ्टिङ खेलसमेत खेलाउने १० रिसोर्टको रहेको जानकारी दिँदै उनले भने, ‘यी सबै रिसोर्टले महोत्सव अवधिभर तोकिएको छुट दिने प्रवन्ध मिलाइएको छ।’                रिसोर्टका सञ्चालक आवद्ध सिन्धु पर्यटन व्यवसायी संघको अगुवाईमा नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउन महोत्सव आयोजना गरिएको हो। आयोजकका अनुसार पहिलो दिन नेकपाका कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्घाटन गर्ने छन्। अन्तिम दिन सुकुटे पर्यटन वर्ष घोषणापत्र जारी गर्दै महोत्सवको समापन प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले गर्ने छन्।

अल्पसंख्यक तथा सीमान्तकृत स्थानीय माझी समुदायको परम्परागत नाच ‘माझीको पितरा’ लाई महोत्सवकै प्रमुख आकर्षक बनाउने आयोजकको तयारी छ। सुनकोसी बगरमा चल्ने महोत्सवमा स्थानीय सामग्रीका ३० स्टल राख्ने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App