अर्थ

पाहुना तान्न ‘काली–एक्स’ इभेन्ट

पोखरा – २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा घुम्न आउने विदेशी पर्यटकका लागि कोसेली के छ ? सरकारको भ्रमण वर्ष सचिवालयले साहसिक पर्यटक लक्षित गर्दै ‘काली–एक्स’ इभेन्टको तयारी गरेको छ। हिमाली जिल्ला मुस्ताङका विभिन्न भागमा गरिने यो इभेन्ट नेपाल भित्रिएका साहसिक पर्यटकका लागि निकै नै रोमाञ्चक हुने र नौलो कोसेली बन्ने व्यवसायीले बताएका छन्।

सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठका अनुसार मुस्ताङको कालीगण्डकी नदी क्षेत्रमा गरिने ‘काली–एक्स’ इभेन्ट साहसिक पर्यटक लक्षित गतिविधि हो। भ्रमण वर्ष २०२० मा आउने साहसिक पर्यटकका लागि यो निकै आकर्षक हुने उनको भनाइ छ। सन् २०२० मा मात्र नभई आगामी वर्षमा पनि यो इभेन्टलाई नियमितता दिने हो भने साहसिक पर्यटनबाट लाभ पाउन सकिने उनले बताए। ‘भ्रमण वर्ष २०२० मा कुनै न कुनै गतिविधि गर्न जरुरी छ, जसले पर्यटकलाई नेपालसम्म तान्न सघाओस्,’ उनले भने, ‘सन् २०२० मै नेपाल घुम्न किन जाने भन्नेका लागि यस्ता गतिविधि आवश्यक छन्।’

विश्वकै गहिरो गल्छीको पहिचान कमाएको कालीगण्डकी नदीको अन्धगल्छी क्षेत्र आसपासमा हुने यो इभेन्टले नेपालको पर्यटनमा नयाँ सम्भावना उजागर गर्ने ‘काली एक्स’ इभेन्टका परामर्शदाता विश्वराज ज्ञवालीले बताए। ज्ञवालीका अनुसार आगामि डिसेम्बर १ देखि ६ सम्म यो इभेन्ट आयोजना हुँदैछ। इभेन्टमा साहसिक पर्यटक तान्ने गरी माउन्टेन बाइकका गतिविधि हुनेछन्। ‘संसारकै गहिरो गल्छी क्षेत्रमा नेपाल भ्रमण वर्ष लक्षित माउन्टेन बाइकका गतिविधि गर्दा साहिसक पाहुना तान्न सकिने अपेक्षा छ,’ उनले भने, ‘साहसिक मात्र नभई अधिक खर्च गर्ने क्षमतायुक्त पर्यटक पनि आउनेछन्। नेपालको पर्यटन क्षेत्रका लागि यो नौलो र आकर्षक कार्यक्रम हुनेछ।’

स्वदेशी र विदेशी गरी एक हजारसम्म पाहुनालाई ‘काली एक्स’ इभेन्टमा सहभागी गराउने आयोजकको लक्ष्य रहेको उनले सुनाए। ज्ञवालीका अनुसार मुस्ताङको कागबेनीदेखि म्याग्दीको तातोपानीसम्म झन्डै ६० किलोमिटर क्षेत्रमा इभेन्ट गर्न सकिने अध्ययनले देखाएको छ। तर पहिलो चरणमा कागबेनीदेखि कालापानीसम्मको करिब ४० किलोमिटर दूरीलाई समेटेर आसपासका बस्ती, खोंच, डाँडाकाँडामा यो इभेन्ट हुनेछ। इभेन्टमा माउन्टेन बाइकसँग सम्बन्धित इन्ड्युरो, क्रसकन्ट्री, कल्चरल ह्विल, मास राइड, साइफोरा नाममा गतिविधि हुनेछन्।

माउन्टेन बाइकको इन्ड्युरोमा डाँडाकाँडामा साइक्लिङ हुन्छ। क्रसकन्ट्री निश्चित दूरीको स्पर्धाको रुपमा रहनेछ भने कल्चरल राइड्समा विभिन्न समुदायमा साइक्लिङ चढेर पाहुना पुग्नेछन् र समुदायसँग रमाउनेछन्। मास राइड्स सबैका लागि खुला हुनेछ। मास राइड्समा बढी भन्दा बढी सहभागिता जनाएर सहज ट्र्याकमा साइक्लिङ गराइनेछ भने साइफोरामा सबैका लागि साइक्लिङ भनेर फन राइडको रुपमा गतिविधि हुने ज्ञवालीले बताए।

यो इभेन्टमा सहभागी हुनेले बढीमा चार हजार तीन सय र कम्तीमा दुई हजार पाँच सय मिटर उचाइका विभिन्न क्षेत्रमा साइकलको मज्जा लिन पाउनेछन्। इभेन्टलाई बाँडफाँड गरेर एक साताको तालिका बनाइएको ज्ञवालीले बताए।

‘हिमाली क्षेत्रमा साहसिक पर्यटकको बसाइ अवधि बढाउनका लागि कुनै न कुनै खालको गतिविधि गर्न जरुरी छ,’ उनले भने, ‘अब पनि साहसिक र आकर्षक कार्यक्रम नगर्ने हो भने नेपालमा साहसिक पर्यटक बढ्दैनन।’

नेपाल भ्रमण वर्षका लागि मात्र पाहुना नखोजेर अब भविश्यका लागि पनि विदेशी आवश्यक परेको उनले बताए। त्यसका लागि निरन्तर गतिविधि हुन जरुरी रहेको ज्ञवालीको भनाइ छ। ज्ञवालीका अनुसार काली–एक्स इभेन्टका लागि यसअघि न विदेशी विज्ञहरू झिकाएर कालीगण्डकी क्षेत्रमा ट्रेल एसेसमेन्ट (पदमार्गको सम्भाव्यता अध्ययन) गरिसकिएको छ।

नेपालको प्राकृतिक सुन्दरता, हिमाली क्षेत्रको हावापानी, फरक संस्कारयुक्त समुदायलाई लक्षित गरेर कालीगण्डकी क्षेत्रमा यो इभेन्ट गर्न थालेको ज्ञवालीको भनाइ छ। ‘पहिलोपटक हुन थालेको यो इभेन्टमा एक हजार पाहुना सहभागी गराउनु भन्दा पनि यस्तो इभेन्टलाई हरेक वर्ष गर्न सकिने गरी तयारी गर्नुपर्छ,’ उनले भने, ‘एकपटक गरेर छाडियो भने त्यसले अर्थ राख्दैन। यस्तो इभेन्टले गन्तव्य मात्र प्रवद्र्धन गर्ने नभई नेपालका हिमाली क्षेत्रको पदमार्गको अवस्था पनि बुझाउँछ।’

पदमार्गको मार्किङ, सुरक्षाका बन्दोबस्ती गरेर इभेन्ट गर्दा अहिले वर्षमा तीन हजारको हाराहारीमा आउने साइक्लिस्टहरू आगामी दिनमा बढाउन सकिने उनले बताए। नियमित रुपमा यस्ता इभेन्ट हुने हो भने नेपालको माउन्टेन बाइक पर्यटन फस्टाउने ज्ञवालीको भनाइ छ।

‘यो गतिविधि कुनै पनि बेला गर्न सकिन्छ। पर्यटक आउने पिक सिजन कुर्न जरुरी छैन,’ उनले भने, ‘साहसिक पर्यटक भिœयाउने हो भने गतिविधि बिना सम्भव हुँदैन।’ उनका अनुसार अहिलेको मोटरबाटोलाई आधार मानेर कालीगण्डकी वारिपारिको क्षेत्रको ट्र्याकमा यो इभेन्ट हुनेछ। मोटरबाटो पुगेर मुस्ताङ जाने सडक छोटिएको छ। अहिले पर्यटकहरू धुलो र धुँवाको सामना गर्दै कालिगण्डकी क्षेत्रमा हिँडिरहेका देखिन्छन।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष हरि भूजेलले कुनै न कुनै गतिविधिबिना साहसिक पर्यटक भित्र्याउन नसकिने बताए। ‘सरकारी लक्ष्य पूरा गर्ने मात्र नभई साहसिक पाहुनाका लागि पनि गतिविधि आवश्यक छ,’ उनले भने। नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सहसंयोजक अग्नी कँडेलले प्रदेशभित्र हुन थालेको यो इभेन्टले भविश्यमा साहसिक पाहुना भित्र्याउन सघाउ पुग्ने बताए।

‘कुनै न कुनै गतिविधि बिना पाहुना आउँदैनन्। अहिले पाहुना आगमनमा समस्या भएको बेला यस्ता साहसिक गतिविधि गर्न जरुरी छ,’ उनले भने, ‘प्रदेशस्तरका गतिविधिको तयारी पनि भइरहेको छ।’

प्रकाशित: १२ फाल्गुन २०७६ ०६:०८ सोमबार

भ्रमण_वर्ष_२०२०