अर्थ

पुँजीबजारमा दोहोरो कीर्तिमान

काठमाडौं – बैंकिङ समूहमा लगानीकर्ता आकर्षित हुँदा साताको सुरुकै दिन कीर्तिमानी कारोबार भएको छ। आइतबार नेप्से झन्डै ७० विन्दुले बढेको छ भने कारोबार रकम पनि ३ अर्ब ६० करोडभन्दा माथि पुगेको छ। एकै दिन नेप्सेमा यति धेरै वृद्धि देखिएको यो पहिलो पटक हो। यस्तै दैनिक कारोबार रकमले समेत यसअघिको कीर्तिमान तोडेको छ।

पुँजीबजारमा बजार पुँजीकरणका हिसाबले ठूलो हिस्सा ओगट्ने बैंकिङ समूहका कम्पनीको सेयर मूल्य बढ्दा त्यसले समग्र नेप्सेलाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यसअघि पनि झण्डै दुई महिनायता नेप्से उकालो नै लागिरहेको थियो। तर बैंकिङ समूहका कम्पनीको सेयर मूल्यमा खासै परिवर्तन आउन सकेको थिएन। आइतबार बैंकिङ समूहका कम्पनीको सेयर माग बढेपछि नेप्सेमा पनि उल्लेखनीय वृद्धि देखिएको हो।

नेप्से ७० विन्दु बढ्दा ३.६ अर्बको कारोबार

यस दिन नेप्से ६९.५६ विन्दुले बढेर १५०४.१४ विन्दुमा पुगेको छ। यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशत (१७.०७ विन्दु) ले बढेर ३१७.५ विन्दुमा उक्लेको छ। बैंकिङ समूहका कम्पनीको भाउ तुलनात्मक रुपमा बढी वृद्धि हुँदा नेप्सेमा भन्दा सेन्सेटिभ इन्डेक्समा बढी प्रतिशतले वृद्धि देखिएको छ।

सबै समूहमा हरियाली
यस दिन कारोबार भएका सबै १२ वटै समूहका सूचकमा वृद्धि देखिएको छ। सबैभन्दा बढी वृद्धि व्यापार समूहमा देखिएको छ भने त्यसपछि बैंकिङ समूह रहेको छ। व्यापार समूह ८.२५ प्रतिशतले बढ्दा बैंकिङ समूह ७.१५ प्रतिशतले उकालो लागेको छ। विन्दुगत आधारमा हेर्दा भने जीवन बिमा समूहको सूचकमा बढी वृद्धि देखिएको छ। यो समूहको सूचकमा १९२.३६ विन्दुले वृद्धि देखिएको छ।

यस्तै निर्जीवन बिमा समूह १३९.८५, बैंकिङ ८६.०१, विकास बैंक ८४.५९, व्यापार ७३.११ र लघुवित्त ५४.८९ विन्दुले उकालो लागेका छन्। उत्पादनमूलक समूह ३८.६२ विन्दुले हरियो बनेको छ भने जलविद्युत् ३३.७५, अन्य २४.६३, वित्त २२.५६, होटल्स ११.७७ र म्युचुअल फन्ड समूह ०.२८ विन्दुले हरियो बनेका छन्।

कारोबार रकममा ३० प्रतिशत वृद्धि
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। यस दिन तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा २९.६ प्रतिशतले बढी हो। गत बिहीबार दुई अर्ब ७८ करोड ५० लाख चार हजार नौ सय आठ रुपैयाँको कारोबार भएको थियो।

आइतबार नेप्से झन्डै ७० विन्दुले बढेको छ भने कारोबार रकम पनि ३ अर्ब ६० करोडमाथि पुगेको छ। एकै दिन नेप्सेमा यति धेरै वृद्धि देखिएको यो पहिलो पटक हो। यस्तै दैनिक कारोबार रकमले समेत यसअघिको कीर्तिमान तोडेको छ।

बिहीबारको तुलनामा आइतबार कारोबार रकमका साथै कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि वृद्धि भएको छ। बिहीबार २३ हजार नौ सय कारोबारबाट ५८ लाख २९ हजार पाँच सय १० कित्ता सेयर किनबेच भएकोमा आइतबार ३० हजार चार सय ५६ कारोबारबाट एक सय ७८ कम्पनीका ३० हजार चार सय ५६ कित्ता सेयर खरिदबिक्री भएका छन्।

एनएमबीको अग्रता
कारोबार रकमका आधारमा यस दिन एनएमबी बैंक पहिलो स्थानमा छ। यस कम्पनीको १२ करोड ५६ लाख २१ हजार सात सय ६६ रुपैयाँको कारोबार भएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्सुरेन्सको ११ करोड ८२ लाख ६४ हजार दुई सय ६ रुपैयाँको सेयर किनबेच भएको छ। शिखर इन्सुरेन्स, हिमालयन डिस्टिलरी र ग्रामीण विकास लघुवित्त कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। नागरिक लगानी कोष, प्रभु बैंक, एनआइसी एसिया बैंक, शिवम सिमेन्ट र ग्लोबल आइएमई बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र परेका छन्।

नौ कम्पनीमा पोजेटिभ सर्किट
यस दिन नौवटा कम्पनीको सेयर १० प्रतिशत हाराहारी बढ्दा नेपाल स्टक एक्सचेन्जले मूल्यमा सर्किट ब्रेक लगाउनुपरेको छ। सर्किट लाग्ने कम्पनीमा फस्र्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशीलघुवित्त, कालिका माइक्रोक्रेडिट विकास बैंक, मेगा बैंक, आरएसडिसी लघुवित्त, एभरेस्ट बैंक (अग्राधिकार परिवत्र्य), नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्स छन्। यस्तैसाल्ट ट्रेडिङ कर्पोरेसनको पनि ९.४६ प्रतिशतले सेयर मूल्य बढेको छ।

बढ्दो बजारमा पनि यस दिन तारा गाउँ रिजेन्सी होटलको ५.७ प्रतिशतले मूल्य घटेको छ। यस्तै बरुण हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:४७ सोमबार

पुँजीबजार