अर्थ

अन्नपूर्ण फेरोको विकल्प सेभेन पास सर्किट

पोखरा - मोटरबाटो विस्तार भएसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोको पदमार्गलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले अन्नपूर्ण फेरोसँगै जोडेर मनाङको उपल्लो क्षेत्रलाई समेटेर नयाँ पदमार्ग प्रस्ताव गरेको हो। भ्रमण वर्षमा नयाँ प्रोडक्टका रुपमा यो रुटलाई प्रचार गर्ने तयारी सचिवालयले गरेको छ। मनाङका अधिकांश भाग छुने यो पदमार्ग हुँदै पर्यंटक मुस्ताङ पनि निस्कन सक्नेछन्।

सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले भ्रमण वर्षमा नयाँ प्रडक्टका रुपमा ‘सेभेन पासेस अन्नपूर्ण सर्किट’ नाममा नयाँ पदमार्गको प्रबर्द्धन गर्न थालेको जानकारी दिए। अहिले अन्नपूर्ण फेरोको पदयात्रा मोटरबाटोका कारण खुम्चिएकाले आगामी दिनमा नयाँ पदमार्गको रुपमा नयाँ सर्किट प्रबर्द्धन गर्न थालेको उनले बताए। ‘नेपाल भ्रमण वर्ष २०२० पारेर नयाँ गतिविधि गर्न आवश्यक छ। त्यही क्रममा नयाँ पदमार्ग विस्तार गर्न थालिएको हो,’ उनले भने, ‘साहसिक गतिविधि रुचाउने पर्यटकलाई नयाँ पदमार्गमा लैजान सकिन्छ।’

‘सेभेन पासेस अन्नपूर्ण सर्किट’को अध्ययन गरेका परामर्शदाता आलोक तुम्बाहाम्फेका अनुसार अन्नपूर्ण फेरोलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको हो। ‘अन्नपूर्ण फेरोमा एउटा मात्र भञ्ज्याङ (थोराङला) पार गरे पुग्छ। तर, प्रस्तावित नयाँ पदमार्गमा सातवटा भञ्ज्याङ पार गर्नुपर्दा निकै नै साहसिक रुट बनेको छ,’ उनले भने, ‘अन्नपूर्ण फेरो मोटरबाटोले त छोटियो नै धुलोधुँवाका कारण हिँडडुलमा पनि समस्या छ। तर, नयाँ रुटमा यो समस्या केही छैन। तत्काल मोटर पुग्ने अवस्था पनि छैन।’

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले अन्नपूर्ण फेरोसंगै जोडेर मनाङको उपल्लो क्षेत्रलाई समेटेर नयाँ पदमार्ग प्रस्ताव गरेको हो ।

मोटरबाटोको पहुँच तत्काल नपुग्ने भएकाले पनि नयाँ रुट आवश्यक रहेको उनले बताए। तुम्बाहाम्फेका अनुसार रुटमा पर्ने कुजुम्रु, यार्चा, मेता, फू, नार, काङला र मेसोकान्ता भञ्ज्याङ पार गर्नेगरी नयाँ रुट प्रबर्द्धन गर्न थालिएको छ। ‘साहसिक गतिविधि रुचाउने जो कोही विदेशी पर्यटकका लागि पनि प्रस्तावित रुट आकर्षक हुनेछ,’ उनले भने, ‘नयाँ ब्रान्डका रुपमा पनि यो रुटलाई हामीले प्रवद्र्धन गर्न जरुरी छ। नेपाल भ्रमण वर्षमा नयाँ प्रोडक्टका रुपमा यो रुटलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्न सकिन्छ।’

उनका अनुसार मनाङको तालभन्दा केही दूरी अगाडिबाट यो रुट सुरु हुन्छ। तालको नाचे हुँदै सुरु हुने पदमार्ग क्रोमतोङ–धर्मशाला, डोनालेक, विजयफेँदी पुग्नेछ। त्यसपछि रुटले घो (ट्रिपल पास) बाट अघि बढेपछि ताची हुँदै सोङली जोड्नेछ। सोङलीबाट क्रुमजुङ फेदी हुँदै अघि बढेको रुटले यार्चापास, मेता, फू, लोवाङ, नार, काङला हुँदै मनाङ निस्कनेछ। ‘५४ सय मिटर उचाइसम्मको पदयात्रा हुने र निकै नै रोमाञ्चक दृष्यसहित गतिविधि अवलोकन गर्न पाइने भएकाले पर्यटकका लागि आकर्षक बन्नेछ,’ उनले भने।

तुम्बाहाम्फेका अनुसार यो रुटको अवधि तीन सातासम्मको हो। यसअघि अन्नपूर्ण फेरोको पदमार्गको अवधि पनि तीन साता थियो। मोटरबाटो विस्तार भएसँगै अन्नपूर्ण फेरो एक सातामा झरेको छ। पदयात्राको समय कम हुने पर्यटकले प्रस्तावित नयाँ पदमार्गमा जाँदा पनि बीचबाटै गन्तव्य परिवर्तन गर्न सक्ने उनले बताए। प्रस्तावित नयाँ रुटमा पुगेका पर्यटकहरु टी हाउस र क्याम्पिङको अनुभव गर्न पाउने भएकाले पनि आकर्षक रहेको उनले बताए। ‘फेरोको पदयात्रामा अहिले पनि धेरै पर्यटक जान्छन्। ती पर्यटकले धुलो, धुवा र भीडभाडको सामना गर्नुपरेको छ। तर, प्रस्तावित नयाँ रुटमा धुवाधुलोसहित भीडभाड खेप्नुपर्दैन,’ उनले भने, ‘फेरोमा भन्दा पनि बडी हिमाली भञ्ज्याङ पार गर्नुपर्ने र हिमाली दृष्य अवलोकन गर्न पाउने भएकाले पनि आकर्षक छ।’

उनका अनुसार यो रुटमा पदयात्रामा जाँदा कम्तिमा पाँच रात क्याम्पिङ गर्नैपर्छ। त्यसबाहेक टिहाउस र ठाउँठाउँका बस्ती, होमस्टेमा समेत पाहुना बस्न सक्नेछन्। चैत–वैशाखमा चर्काे घाम लाग्ने हुँदा हिउँ पग्लेपछि मात्र यो रुटको पदयात्रामा जाँदा बढि उपयुक्त हुने उनले सुनाए। मनाङको माथिल्लो भेगका बासिन्दाको भेषभुसा, भाषा, संस्कृति, यार्चा संस्कृति, प्राकृतिक सुन्दरता, जंगली जनावर, जडीबुटी, ल्यान्डस्केप दृष्य र हिमाली भेग मुख्य आकर्षक रहेको उनले बताए।

‘अहिलेसम्म प्रचारप्रसार नभएको पदमार्ग भएकाले तत्काल ठूलो संख्यामा पाहुना लैजान समस्या छ,’ उनले भने, ‘एकातिर प्रचारप्रसार भएको छैन भने त्यहाँ ठूलो समूहमा जाँदा बसोबास र खानपिनका लागि पनि समस्या हुन्छ। त्यसैले सानो आकारमा पर्यटक समूह पठाउँदा उपयुक्त हुन्छ।’ साहसिक र नयाँ गन्तव्य भएकोले त्यस क्षेत्रमा जाँदा तालिमप्राप्त गाइड लिएर जानुपर्ने पनि उनले सुझाए।
नेपाल भ्रमण वर्ष २०२० को गण्डकी प्रदेशका सहसंयोजक अग्नी कँडेलले २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य हुँदाहुँदै सुरुवाती चरणमा केही समस्या आएकाले आगामि दिनमा नयाँ प्रोडक्ट ल्याउन जरुरी रहेको बताए। उनले पर्यटक आइरहेका मुख्य गन्तव्य (चीन) मा समस्या आइपरेकोले आगामि दिनमा सम्भावित नयाँ गन्तव्यमा प्रवद्र्धन गरेर पर्यटक तान्नुपर्ने बताए। ‘२०२० को लक्ष्य पूरा गर्नका लागि हामीलाई नयाँ चुनौती आइपरेको छ। अब नयाँ गन्तव्य पहिचान गरेर बजार प्रवद्र्धन गर्न जरुरी छ,’ उनले भने। सरकारी लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय बजार प्रबर्द्धनको तयारी भइरहेको उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले नयाँ पदमार्ग विस्तार जरुरी रहेको बताए। पुराना पदमार्ग मोटरबाटोका कारण ध्वस्त भएकाले आगामी दिनमा नयाँ पदमार्ग विस्तार गर्न जरुरी रहेको उनले बताए। ‘अन्नपूर्ण फेरोको पदमार्ग मोटरबाटोकै कारण एक सातामा झरेको थियो। त्यसको विकल्प नदिई सुखै थिएन,’ उनले भने, ‘साहसिक गतिविधि रुचाउने पर्यटकका लागि नयाँ गन्तव्य अति नै आवश्यक छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App