अर्थ

राष्ट्रिय प्रसारण लाइन विस्तार

काठमाडाैँ - जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने काम शुरुआत गरिएको छ। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा राष्ट्रिय प्रसारण पुर्‍याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए।

ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम शुरु भएको छ। पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ।

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि  एक वर्षभित्र सक्ने गरेर अमृत इन्द्रधनु जेभीसँग दुई करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुुख कर्णले जानकारी दिए। सो सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भइसकेको छ। जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्‍याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो।

यस्तै नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो वर्ष विद्युत् बाल्ने हिसाबले काम गरिरहेको विद्युत् प्राधिकरणका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिए। रासस

प्रकाशित: ८ फाल्गुन २०७६ ०६:४३ बिहीबार

विद्युत्_प्राधिकरण प्रसारण_लाइन