अर्थ

अन्नपूर्ण आधारशिविर पदमार्ग खुल्यो

माघ पहिलो साता हिउँले भरिएको माछापुच्छ्रे आधारशिविर क्षेत्र। फाइल तस्बिर : नागरिक

पोखरा - अधिक हिमपातपछि माघ पहिलो सातादेखि रोकिएको अन्नपूर्ण आधारशिविरि (एबिसी) को पदमार्ग सञ्चालनमा आएको छ। पदमार्ग सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित सबै होटल खुलेका छन् भने विदेशी पर्यटक पनि आधारशिविरसम्म उक्लिन थालेका छन्।

हिमपातका कारण माघ ३ गतेदेखि पदमार्गको छोमरोङमाथिको खण्ड पूर्णतया बन्द रहेको थियो। हिमपातसँगै आधारशिविर पदमार्गको हिङ कु केभ र देउरालीबीचमा आएको हिमपहिरोमा परेर हराएका चार कोरियाली र तीन नेपालीसहित सात पदयात्री भने अझै बेपत्ता छन्। बाक्लो हिउँ जमेको पदमार्गमा आउजाउ रोकिएपछि आधारशिविरका सबै होटल बन्द भएका थिए। अहिले हिउँ पर्न रोकिएको र हिडडुल गर्न सकिने अवस्था आएपछि होटल सञ्चालन गरिएको र पर्यटक पनि उक्लिन थालेको व्यवसायीले बताए। त्यस क्षेत्रका सबै होटल खुलेको र न्यून संख्यामा पर्यटक पनि आधारशिविर उक्लिन थालेको व्यवसायीले बताए। माघ २७ गतेदेखि होटल खुलेकामा त्यसपछि पर्यटक आधारशिविर पुग्न थालेका थिए। आधारशिविरमा अन्नपूर्ण सेन्चुरी होटल सञ्चालन गरिरहेका सञ्चालक जेबी गुरुङले पदमार्गका सबै होटल सञ्चालनमा आएको बताए।

अन्नपूर्ण र माघ पहिलो साता हिउँले भरिएको माछापुच्छ्रे आधारशिविर क्षेत्र। फाइल तस्बिर : नागरिक आधारशिविरका सबै होटल खुलेको उनले बताए। अधिक हिमपात भएपछि माघ ४ गते आधारशिविर पुगेका विदेशी पर्यटक र त्यहाँका होटलका व्यवसायी र कामदारलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो। ‘हिउँ पर्न रोकिएपछि हामीले माघ २७ गतेदेखि अन्नपूर्ण आधारशिविरका होटल सञ्चालनमा ल्याएका हौं। पदमार्गका सबै होटल सञ्चालनमा आएका छन्,’ गुरुङले भने, ‘अहिले पनि स्की खेलका १७ जना खेलाडी आधारशिविरमै बसिरहेका छन्। होटल कामदार काममा फर्केका छन् भने विदेशी पनि आधारशिविरसम्म उक्लिन थालेका छन्।’ पदमार्गको हिउँ पुरै नपग्ले पनि अरु हिउँ नथपिएका खण्डमा आउजाउमा समस्या नरहेको उनले बताए। ‘पोहोर हिउँले पुरिँदा महिनौसम्म होटल बन्द भए। अहिले आउजाउमा मात्र मार परेको हो,’ उनले भने, ‘आउजाउ गर्न सकिने अवस्था छ। तर, पदमार्गमा सचेतना भने अपनाउनुपर्छ।

पदमार्ग सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित सबै होटल खुलेका छन् भने विदेशी पर्यटक पनि आधारशिविरसम्म उक्लिन थालेका छन्।

हिउँ नपरेको अवस्थामा हिडडुलमा कुनै समस्या छैन।’ हिउँ परेको खण्डमा शिरानमा थुप्रिएको हिउँको ढिस्को खस्ने जोखिम रहेकोले हिडडुल गर्दा सचेत हुुनुपर्ने उनले बताए। एबिसीमा अन्नपूर्ण सेन्चुरी, स्नोल्याण्ड, अन्नपूर्ण गेष्टहाउस र प्याराडाइज गरि चारवटा होटल छन्। त्यसको केहीदुरी तलको माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा गंगापूर्ण, माछापुच्छ्रे , शंकर, गुरुङ र फिस्टेल गरि पाँचवटा होटल रहेका छन्। ती बाहेक पदमार्गका ठाउँठाउँमा होटल रहेका छन्। ती सबै होटल सञ्चालनमा आएको गुरुङले जानकारी दिए। ‘अहिलेका लागि त आउजाउ सहज भएको छ। कतै जोखिम नदेखेपछि हामीले होटल सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘तर, हिउँ थपियो भने सचेत हुनैपर्छ। अहिले पनि सबै हिउँ पग्लेको होइन।’

अन्नपूर्णं संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने आधारशिविरमा जाँदा विदेशीले छोमरोङको अन्तिम चेकपोष्टमा जानकारी दिनुपर्छ। छोमरोङ चेकपोष्टका अनुसार हिमपातपछि खुलेको पदमार्गमा अहिलेसम्म ७१ जना विदेशी पाहुना गएका छन्। ती मध्ये ५६ जना फर्किसकेका छन्। छोमरोङ पार गरेका सबै पर्यटक आधारशिविर पुगेको नभई बीचबाटैबाट फर्किने पनि हुन्छन्। ‘छोमरोङ कटेका सबै पर्यटक आधारशिविर पुगेका होइनन्। आधाजति एबिसी पुगेका होलान। कति संख्यामा आधारशिविर पुगे भनेर तथ्यांक रहन्न,’ चेकपोस्टका प्रमुख नेत्र शर्माले भने, ‘हामीले छोमरोङमा अन्तिम चेक गरेर पर्यटक पठाउँछौ। छोमरोङ पार गर्दा पर्यटकले चेकपोस्टमा अनिवार्य रुपमा व्यक्तिगत विवरण टिपाउनुपर्छ।’

शर्माले पनि असोज–कात्तिकमा हुने जस्तो सहज पदयात्रा यतिखेर नभएपनि सचेतना अपनाउँदै  आधारशिविरसम्म पर्यटक उक्लिन थालेको बताए। ‘छोमरोङ पार गर्ने पर्यटकलाई बिहानीपख मात्र पदयात्रा गर्नु भनेर सचेत गराएका छौं। किनकी दिनको समयमा हिमपहिरो झर्न सक्छ,’ उनले भने, ‘हिउँ नपर्दा अहिले समस्या छैन। तर, हिउँ प-यो भने पदयात्रामा फेरि अवरोध आउन सक्छ।’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भूजेलले पदमार्गका सबै होटल सञ्चालनमा आएको र पर्यटक पनि आधारशिविरसम्म पुग्न थालेको जानकारी दिए। ‘पदमार्गको हिमचुलीभन्दा माथि जाँदा विशेष सावधानी अपनाउन भनेका छौ। फाट्टफुट्ट विदेशी पाहुना आधारशिविरसम्म पूग्न थालेका छन,’ भूजेलले भने, ‘अब हिउँ थपिएन भने आधारशिविरसम्म आउजाउ सहज हुनेछ।’ हिमपातका कारण पदमार्गमा जमेको हिउँ भने अझै पग्लिनसकेपछि सचेतना अपनाउँदै हिड्डुल गर्नुपर्ने उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने आधारशिविरमा २०३८ देखि होटल सञ्चालन गर्न थालिएको थियो। सुरुमा सामान्य गोठको रुपमा रहेका ती भवनलाई २०५० को दशकतिर बल्ल होटलमा परिवर्तन गरेर एबिसीमा व्यावसायिकता दिइएको थियो। विदेशी पदयात्री बढेपछि बास बस्न र खानका लागि व्यवस्थित रुपमा बल्ल त्यहाँ होटल सञ्चालनमा आएका थिए। पदयात्री बढेर बास बस्न समस्या हुन थालेपछि व्यवसायीले मुस्किलले सामान ढुवानी गरेर आधारशिविरमा होटल सञ्चालन गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार एबिसीमा वर्षमा ३५ हजार हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:४५ बिहीबार

पदमार्ग हिमपात आधारशिविर