अर्थ

कालोबजारी नियन्त्रण माग गर्दै विभागको ध्यानाकर्षण

काठमाडौं – कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि हुँदा समेत चासो नदेखाएको भन्दै राष्ट्रिय कुखुरापालक संघर्ष समिति नेपालले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ।

समितिका संयोजक विष्णु खड्काले विभागमा १५ दिनअगाडि नै दाना र चल्लामा कालोबजारी भएको भन्दै सुझावसहित उजुरी दिएको भए पनि समाधानमा चासो नदेखाएको बताए। ‘बजारमा मासु महंगिएको छ तर किसानले लागतभन्दा २० देखि ३० रुपैयाँसम्म कममा कुखुरा बेच्नुपरेको छ,’ उनले भने, ‘चल्ला उत्पादनमा ३५ रुपैयाँ लागत लाग्छ तर किसानले ७० देखि ८० रुपैयाँसम्म तिर्नुपर्छ, जबकी चल्लाको भाउ बढाउनुपर्ने कुनै कारणै देखिन्न।’

खड्काले विभाग कालोबजारी नियन्त्रण नगरेर चुप लागेर बस्नुले विभागको मिलेमलोमा सबै भएको पुष्टि भएको आरोप लगाए। विभागका महाप्रबन्धक नेत्रप्रसाद सुवेदीले विभाग अनुसन्धान प्रकृयामै रहेको र ह्याचरी उद्योगले मूल्य बढाउने कुराको पुष्टि नगरे अझै पनि कारबाही गर्ने समय रहेको बताए।

संघर्ष समितिले विभागलाई बुझाएको ध्यानाकर्षण पत्रमा ह्याचरी उद्योगले चल्लाको मूल्य मनपरी निर्धारण गरेको, किसानले मूल्य निर्धारण गर्न नपाएको, कुखुराको नेट तौलमा एकदेखि डेढ प्रतिशतसम्म तौल कट्टा गर्ने, भ्याक्सिन, भिटामिन र दानाको मूल्यमा मनोमानी वृद्धि हुने लगायत समस्या भएको उल्लेख छ। समितिका संयोजक खड्काले यि समस्यासँगै समाधानका उपायसमेत सुझाएको बताउँदै समाधानमा चासो नदेखाए थप आन्दोलनका कार्यक्रम अगाडि सार्ने बताए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:४१ बुधबार

ह्याचरी कालोबजारी विभाग