अर्थ

१२३ मेगावाट बिजुली थप

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा एक सय २३ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपिएको छ। अर्थमन्त्रालयले हालसालै सार्वजनिक गरेको चालु वर्षको बजेटको मध्यावधि प्रतिवेदन अनुसार गत साउनदेखि पुस मसान्तसमममा निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहत निर्मित आयोजनाबाट त्यत्ति बिजुली थपिएको हो।

गत आर्थिक वर्षको अन्त्यसम्म एक हजार दुई सय २० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको थियो।यो आर्थिक वर्षको थपिएको समेतले ग्रिडमा एक हजार तीन सय ४३ मेगावाट पुगेको छ।चालु आर्थिक वर्षको ६ महिनामा दुई सय ६२ सर्किट किलोमिटर प्रसारणलाइन पनि निर्माण भएको छ।  गत असारसम्म तीन हजार नौ सय ९० सर्किट किलोमिटर प्रसारणलाइन रहेको अहिले बढेर चार हजार दुई सय ५१ सर्किट किलोमिटर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनको जडित क्षमता तीन हजार नौ सय ३५ एमभिएबाट चार हजार एक सय ५६ एमभिए पुगेकोको जनाएको छ। ६ महिनामा दुई सय २१ एमभिए थपिएको मध्यावधि समीक्षामा उल्लेख  छ।

प्राधिकरणका अनुसार प्रतिव्यक्ति विद्युत् खपत पनि बढेको छ। पुस मसान्तसम्ममा काठमाडौं, भक्तपुर, स्याङ्जा र पर्वत लगायत जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ।बूढीगंगा जलविद्युत् आयोजना (२० मेगावाट) बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भइसकेको छ। त्यसैगरी, नलगाड जलविद्युत आयोजना (४१० मेगावाट) टेन्डर डकुमेन्टको मस्यौदा तयार भएको र विस्तृत डिजाइनको काम भइरहेको उल्लेख छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भएको छ। यो आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कार्य अन्तर्गत अन्डर सुलुइस तथा इन्टेकको कंक्रिटिङ, हेडरेस टनेलको अधिकांश भागमा कंक्रिटिङ तथा लाइनिङ र पावरहाउस तथा ट्रान्सफर्मर क्याभेनको कंक्रिटिङको काम सम्पन्न भएको छ।

प्राधिकरणले १४ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत निर्माणसम्पन्न भएको जनाएको छ। माथिल्लो साञ्जेनबाट यसै आर्थिक वर्षभित्र बिजुली उत्पादन सुरु गर्ने लक्ष्य छ। ट्रान्समिसन लाइन निर्माणतर्फ टावर फाउन्डेसनको करिब ६० प्रतिशत कामसकिएको प्राधिकरणले जनायो।

प्रकाशित: ७ फाल्गुन २०७६ ०२:०७ बुधबार

बिजुली राष्ट्रिय_ग्रिड प्रसारणलाइन