अर्थ

स्थानीयलाई सेयर निष्कासन गर्न सातबुँदे निर्णय

रसुवा - रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन गर्न लागेको सेयरलाई व्यवस्थित बनाउन सातवटा निर्णय गरेको छ। स्थानीयका लागि पहिलो पटक चिलिमे जलविद्युत् आयोजनाले सेयर निष्कासन गरेको थियो।

सो समयमा सेयर खरिदकर्तामा अन्योल हुनुका साथै अवैज्ञानिक र अव्यवहारिक भएको सरोकारवालाले बताएका छन्। दुवै कम्पनीको सेयर निष्कासन तथा बिक्री वितरण गर्ने विषयमा  बुधबार जिल्ला समन्वय समिति रसुवामा बसेको सर्वपक्षीय बैठकले व्यवस्थापनका लागि सातबुँदे निर्णय गरेको हो। निर्णयअनुसार बाहिरी जिल्लाबाट रसुवा बसाइँसराई गरेर आएकाले बसाइँसराईको अलावा अन्य प्रक्रिया पूरा गरे मात्र स्थानीय सेयर पाउने छन्। बसाइँसराई गरेर आउनेहरूले सेयर आवेदन दिनका लागि घर टहरा बनाई स्थायी रूपमा बसोबास गरिरहेको, धारा बिजुली जोडिएको, उमेर पुगेकाको हकमा मतदाता नामावलीमा नाम दर्ता भएको यकीन गरी सम्बन्धित वडा कार्यालयले प्रदान गर्ने सिफारिस पत्र पेस गर्नुपर्ने छ।

रसुवागढी हाइड्रोपावर कम्पनी दर्ता भएको मिति २०६८ साउन १७ र सान्जेन जलविद्युत् कम्पनी दर्ता भएको मिति २०६६ माघ १८ गतेभन्दा पछि सेयर निष्कासनका लागि विवरणपत्र स्वीकृत मितिसम्म अन्यत्र जिल्लाबाट आएकाले यी प्रक्रिया पूरा गर्नुपर्ने भएको हो। यो भन्दा अगाडि आएकाले भने बसाइँसराई गरेको कागज मात्र पेस गर्न पुग्छ। जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार सय कित्ता र सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै छ। सेयर निष्कासनका लागि प्रभावितलाई वर्गीकरण गरेको छ। रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशत र सान्जेनले अति प्रभावितका लागि ४.२५, प्रभावितका लागि ३, सामान्य प्रभावितका लागि १.५ र न्यून प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्कासन गर्ने तयारी गरेको छ।

आवेदकलाई ऋण व्यवस्था मिलाउने
कम्पनीहरूले सेयर निष्कासन तथा बिक्री वितरण गर्ने सेयरमा आवेदन दिने जिल्लाबासीका लागि बैंकबाट ऋण लिने व्यवस्था मिलाउने तयारी गरेको छ। आवेदनकर्तालाई वित्तीय सहजताका लागि  जिल्ला तथा स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थालाई ऐन नियमको परिधिभित्र रही आवश्यक ऋण प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको हो। यसका लागि आवशयक समन्वय गरिदिन सेयर निष्कासन गर्ने कम्पनीलाई अनुरोध गरिने छ। रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाका प्रमुख र जिल्लाका जनप्रतिनिधि तथा पार्टीका प्रमुखसहितको बैठक राख्न कम्पनीले अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले बताए। जिल्लामा चिलिमे जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्दा तत्कालीन जनता बैंकले ऋण प्रवाह गरेको थियो। चिलिमेले सेयर निष्कासन गर्ने समयभन्दा अघि जिल्लामा निजी बैंक आएका थिएनन्।

आवेदनका लागि आस्बा अनिवार्य
रसुवा जिल्लाका करिब १२ हजार आस्बा प्रणालीमा आवद्ध भइसकेका छन्। जिल्लाको पाँचवटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगिसकेकाले सेयर आवेदन दिँदा डिम्याट खाता उल्लेख गरेर आस्बा प्रणालीबाट बैंकमार्फत आवेदन दिने व्यवस्था मिलाउन कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ। बढीमा सात सय कित्तासम्म आवेदन दिन सकिने कम्पनीले सेयरमा आवेदन दिँदा जिल्लाबासीले बढीमा सात सय कित्तासम्मका लागि आवेदन दिन पाउने भएका छन्। न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ। कम्पनीले जिल्लाबासीका लागि सेयर निष्कासन तथा बिक्री वितरण गर्नका लागि जिल्लाबासीलाई जानकारी दिनका लागि स्थानीय तहको बस्तीबस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App