अर्थ

दुई दिनमा चार करोडको कारोबार

मोरङ - औद्योगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो, कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन गर्नेको घुइँचो छ। मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको बिहारबाट समेत आएका छन्। दुई दिनमा करिब ४० हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले बताए। उनले भने, ‘दुईदिनमा हामीले अपेक्षा गरेभन्दा बढीले मेला अवलोकन गरे।यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको संख्या धेरै हुने देखिन्छ। दुई दिनमा ४० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै चार करोड बढीको कारोबार भएको बताइएको छ।

शनिबार मेलाको विशेष आकर्षण हात्ती थियो। हात्ती चढेर रमाइलो गर्ने र छेउमा सेल्फी खिच्नेको घुइँचो थियो। ‘मेलामा एक अर्ब बराबरको कारोबार हुने अपेक्षा गरेका छौं,’ मेलाका संयोजक भोलेश्वर दुलालले भने, ‘मेलामा अटोमोबाइल्स लगायत अन्य दैनिक उपभोग्य वस्तुबजार भाउ भन्दा सस्तोमा दिएका छौं।हाम्रो उद्देश्य नाफा कमाउने भन्दापनि उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने हो।’ होराइजन होलिडेले मेलाको अवसरमा हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकनका साथै पाथीभरा र हलेसीको दर्शन गराइरहेकोछ। मेलामा बालबालिकाका लागि विभिन्न खेल्ने सामग्रीका साथ सेल्फीजोन बनाएको छ।

यस्तै राष्ट्रिय र स्थानीय स्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन सो गर्दै आएका छन्। फागुन १० गतेसम्म सञ्चालन हुने मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ। एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैया प्रवेश शुल्कको व्यवस्था गरिएको छ। तीन सय ४० स्टल एक्स्पोमा रहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:०२ आइतबार

एक्स्पो औद्योगिक अवलोकन