अर्थ

सडकमा सिमेन्ट प्रयोग गर्न माग

काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘समृद्ध नेपाल सुखी नेपालीको नारा जनतालाई आकर्षित गर्न मात्रनभई राष्ट्रिय आकांक्षा भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित दिगोपनका लागि सिमेन्ट कंक्रिट सडक विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले मुलुकको समृद्धिको लागि विकास आवश्यक भएको र विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै राज्यसँग निजी क्षेत्रले अनुभव र लगानीको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए।

सरकारले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारलाई प्राथमिकता दिएको छ,’ उनले भने,‘पूर्वाधारमा शिक्षा र भौतिक निर्माणको कामलाई प्राथमिकतामा राखेका छौं।’पूर्वाधारको काम छिटो र गुणस्तरीय नभए राष्ट्रिय आकांक्षा पूरा नहुने उनले बताए। सडक बन्छ तर महिना दिन नपुग्दै भत्किन्छ, यसमा प्रक्रिया, प्रविधि र सामग्रीको कमजोरी हो, उनले भने,‘यो सरकारको मात्र होइन सबै निकायको लागि चुनौती हो। सिमेन्टको उत्पादन बढ्दै गएको र त्यसलाई निर्यात र निर्माण कार्यमा यसको प्रयोग बढाउने कुरामा सहयोग गर्न सरकार तयार रहेको उनले बताए। उनले भने, निर्माणदेखि निर्यातसम्ममा सहयोग गर्न सरकार तयार छ, तर उद्योगीले पनि गुणस्तर दिन सक्नुपर्छ। उनले उद्योगीले राज्यसँग अमूर्त माग तेर्स्याउदै गुनासो गर्नुभन्दा पनि मूर्तरुपमा माग अगाडि सार्न आग्रह गरे।

भौतिक पूर्वाधार तथा यातयात मन्त्री बसन्तकुमार नेम्बाङले सिमेन्ट कंक्रिट सडकको अवधारणा अन्तर्राष्ट्रिय अभ्यास नेपालमै निर्माण भएका यस्ता सडकबाट यसको महत्व स्पष्ट भएको भन्दै सडकको दिगोपनाका लागि सिमेन्ट कंक्रिट सडकका योजना अगाडि सार्न सरकार सकारात्मक भएको बताए। उनले भने, ‘सुरुमा लागत बढी देखिएपनि निर्माणपछि मर्मत खर्च तथा वर्षौंसम्म टिकाउ हुने भएकोले दीर्घकालीन रुपमा यो सस्तो हुने देखियो, यस्ता कुरामा निर्माण व्यवसायीले सरकारलाई सुझाव दिइरहनुपर्छ।’

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारले सिमेन्ट उत्पादनमा सहुलियत दिन र निर्यातको वातावरण बनाउन पहल गर्ने बताए। ‘भारतमा यसको निर्यातका लागि हामी छिट्टै कुरा अगाडि बढाउँछौं,भारतीय सीमा क्षेत्रका निश्चित एरियामा मात्र लैजान सके पनि पर्याप्त हुन्छ,’ उनले भने, ‘हामी उद्योगीको मनोबल बढाउन र लगानीको वातावरण बनाउन जस्तोसुकै सहयोग गर्न तयार छौं।’उनले उद्योग मन्त्रालय जे समस्या परे पनि उद्योग मन्त्रालयबाटै समस्या सल्टाउन तयार छ, हामी उद्योगीलाई ज्वाइँको सम्मान दिन्छौं,’ अनुभव साट्दै उनले भने,‘त्यो कुराको महसुस उद्योगीले पनि गर्नुभएको छ। एकजना उद्योगीले त मलाई पठाएको पत्रमा तपाईंको ज्वाइँ भनेरै लेख्नु भयो।

सुरुमा लागत बढी देखिएपनि निर्माणपछि वर्षौ टिक्ने भएकाले दिर्घकालीन रुपमा सस्तो हुने ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्रराज थापाले नेपाली कच्चापदार्थ र उद्योगले एक सय ५० अर्बको सिमेन्ट उत्पादन गरिरहेको भन्दै उत्पादन नभएको आधा सिमेन्ट मात्र खपत हुने अवस्था देखिएको बताए। ‘सबैभन्दा राम्रो विकल्प निर्यात नै हो। त्यसको लागि भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्छ, उनले भने,‘हाम्रो उत्पादन भारतीय भन्दापनि गुणस्तरीय छ तर उत्पादन लागत कम गर्न कर र विद्युत्मा सहुलियत दिई भारतसँग निर्यातको वातावरण बनाइदिनुपर्छ।’ उनले उत्पादन लागत घटे निर्यातको संभावना र नेपालकै पूर्वाधार निर्माणको समेत लागत घट्ने बताए।

सडक विभागका उपमहानिर्देशक राजेन्द्र शर्माले सिमेन्ट कंक्रिट सडकको सम्भावना र आवश्यकताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कार्यपत्रमा तथ्यांक प्रस्तुत गर्दै हरेक दृष्टिले कंक्रिट सडक फाइदाजनक भएकोले त्यसको अभ्यास बढाउनुपर्नेमा जोड दिए। नारायणगढ–लोथर सडकखण्डको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सडक विभागका इन्जिनियर नारायणप्रसाद लामिछानेले आफ्नो अध्ययनबाट अन्यको तुलनामा सिमेन्ट कंक्रिट सडक सुरुको लागत सात प्रतिशतले बढी देखिएपनि दीर्घकालीन रुपमा १३ देखी २१ प्रतिशत कम लागत लाग्ने तथ्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:४७ बिहीबार

रक्षामन्त्री सडक सिमेन्ट