अर्थ

सिलौटाको आम्दानीले आधारभुत आवश्यकता पूरा गर्नै मुस्किल

काठमाडौंको चावहिलमा सिलौटा बनाउँदै कामदार। तस्बिर : कविराज/नागरिक

काठमाडौं - चावहिल चोकमा ढुंगाका सिलौटा बनाउने पत्थरकट्टा यो पेसाबाट दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्म कमाउने बताउँछन्। त्यो रकममा तर खर्च कटाउँदा पाँच सय रुपैयाँ हाराहारी मात्रै नाफा हुने हुँदा परिवारको आधारभूत आवश्यकता पूरा गर्नै मुस्किल हुने उनीहरु बताउँछन्।

बुटवलका महेन्द्र पत्थरकट्टा चार वर्षअघि काठमाडौं आए। त्यसअघि उनी वुटवलमा बुबासँग मिलेर सिलौटा बनाएर चोकचोकमा बेच्थे। परिश्रम अनुसारको फल नपाएपछि परिवार लिएर उनी काठमाडौं आएको उनले सुनाए। अहिले चाबहिल चोकलाई मुकाम बनाएका उनी सिलौटा व्यापारको आम्दानी सन्तोषजनक नरहेको बताउँछन्। उनले भने, ‘दैनिक १५ सयदेखि दुई हजार रुपैयाँ हाराहारी आम्दानी हुन्छ। सबै खर्च कटाउँदा पाँच सय पनि नाफा बस्दैन।’ उनका अनुसार एउटा सिलौटा बनाउने ढुंगा किन्न पाँच सय रुपैयाँ तिर्नुपर्छ। त्यसलाई आकार निकालेर बेच्दा हजार रुपैयाँ जति आउँछ। एक दिनमा एकजनाले पूरै खटिएर काम गर्दा दुइटा जति सिलौटो तयार गर्ने पत्थरकट्टाले बताए।

ढुंगासँग खेलिरहने उनी भिन्नभिन्नै प्रकारका सिलौटा बनाउँछन्। ‘हात ढुंगामै बसिसकेको छ,’ उनले सुनाए। सिलौटा बनाउने ढुंगा उनी बुटवलबाट किनेर ल्याउँछन्। यो पेसाबाट पाँचजनाको परिवारको गुजारा मुस्किलले चलिरहेको उनको भनाइ छ। आम्दानी गतिलो नभए पनि छोराछोरी पढाउन चाहिँ उनले छाडेका छैनन्। छोराछोरीलाई सामुदायिक स्कुलमा पढ्न पठाएको उनले सुनाए। विहानैदेखि उनी सिलौटाको काममा व्यस्त हुन्छन्। दिनमा दुइटा सिलौटा बनाउने गरेको उनले बताए। तयारी सिलौटा पनि त्यही संख्यामा बिक्री हुने महेन्द्रको भनाइ छ। पढ्ने रहर भए पनि नपाउँदा पुख्र्यौली पेसा अँगालेको महेन्द्रको भनाइ छ। ‘पढेको भए राम्रै ठाउँमा काम गर्थें होला,’ उनले गुनासो गरे, ‘त्यसकारण पनि यो पुख्र्यौली पेसा अंगाल्न बाध्य भएँ।’ काम गरेअनुसार दाम नआउँदा बेलाबेलामा समस्या हुने गरेको उनले सुनाए।

सबै खर्च कटाउँदा पाँच सय रुपैयाँ हाराहारी मात्रै नाफा हुने हुँदा परिवारको आधारभूत आवश्यकता पूरा गर्नै मुस्किल

ढुंगालाई हम्मरले ठोकेर उनले सिलौटाको आकार दिन्छन्। सिलौटाको आकार दिने क्रममा धेरै ढुंगा खेर जान्छ। महेन्द्रका अनुसार यस्तो हुँदा ढुंगा मात्र नभएर मेहनत पनि खेर जान्छ। बुटवलकै सरोज सिल्पकार पनि सिलौटा बनाउनमै व्यस्त हुन्छिन्। उनले भनिन, ‘अहिले यसको माग घट्दै गएको छ, मेसिनरी सामग्रीको प्रभावले आक्कलझुक्कल बिक्री हुन्छ।’ मेसिनरी सामान केही समयमा बिग्रेर गइहाल्ने तर ढुंगाका सामग्री पुस्तौंसम्म रहने उनले सुनाइन्। तैपनि यसको महत्व घट्दो क्रममा रहेको उनको बुझाइ छ। उनले चाहिँ सिलौटो बाहेक ओखल, जाँतो जस्ता सामान पनि बनाउँछिन्। ‘अर्डर आयो भने ढुंगाको मूर्ति पनि बनाउँछु,’ उनले आफ्नो सीप र क्षमताबारे जानकारी दिइन्।

उनका अनुसार सिलौटा, ओखल, मूर्ति जस्ता सामग्री बनाउन भारतका ढुंगा राम्रा हुन्छन्। तर भारतीय ढुंगा महँगो भएकाले बुटवलबाटै ल्याएर सामान बनाउने गरेको सरोजको भनाइ छ। ‘अरुभन्दा ढुंगाको काम नै सजिलो लाग्छ,’ उनले भनिन्, ‘सानैदेखि यहीँ काम गर्न थालियो। अरु काम गर्न पढेको पनि छैन। अब यसैले गुजारा चलाउनुपर्छ।’ महिनामा कोठाभाडा तिर्नुपर्छ, खाना खानुपर्छ। सबैखर्च कटाएर मासिक १० हजार जति बचत हुन्छ। सिलौटा बनाउन उनलाई श्रीमान्ले पनि सघाउँछन्। सरोज भने दम्पतीको आम्दानीले गुजारा चलाउन मुस्किल भएको गुनासो गर्छिन्। ‘परिवार ठूलो छ, आम्दानी थोरै छ,’ उनले गुनासो राखिन्, ‘छोराछोरी पढाउन पनि प¥यो। काठमाडौंको महँगीमा यति थोरै आम्दानीले धेरै समस्या पर्छ।’ बुटवलमा सिलौटाको राम्रो व्यापार नभएपछि उनी परिवारसहित काठमाडौं आएकी हुन्। काठमाडौं आएपछि बुटवलको तुलनामा आम्दानी बढे पनि यसले परिवारको आधारभूत आवश्यकता टार्न गाह्रो परेको उनको भनाइ छ।

सरोजका दम्पती बिहानैदेखि सिलौटा बनाउन लागिपर्छन्। दुईजनाले मेहनत गर्दा दिनमा चारवटा सिलौटा तयार हुन्छ। उनले दैनिक रुपमा सिलौटा बनाउँदा कहिलेकहीँ माग आउँछ। उनी सिलौटा घरमै पुर्‍याइदिने गरेको बताउँछिन्। ममता सिल्पकारको दैनिकी पनि सिलौटामा सीप पोख्दैमा बित्छ। उनले दैनिक तीनवटासम्म सिलौटा बिक्री गर्छिन्। कहिले त एउटै सिलौटो नबिकेको अनुभव ममताको छ। व्यापार नभएको दिन अघिल्लो दिनको आम्दानीले दैनिकी चलाउने गरेको उनले सुनाइन्। पुर्खाले गरेको हेर्दाहेर्दै पत्थर काट्न सिकेको बताउने ममताले पढ्ने मन हुँदाहुँदै पनि नपाएको सुनाइन्। अरु काम गर्न नआउने भन्दै उनले यसबाट जति आम्दानी हुन्छ त्यसैमा चित्त बुझाउनुपरेको सुनाइन्। पुर्खाको सीप र कला सिकेर काम गर्दै आएको बताउने ममताको बुझाइमा सरकारले जनजातिको हकहितमा काम गरे पनि उसको नजरमा पत्थरकट्टाहरु परेका छैनन्।

सरकारले रोजगारीका अवसरको सिर्जना गरेको भए काम गर्थ्यौ , उनले गुनासो पोखिन्, ‘सरकारले रोजगारी सिर्जना नगरे पनि पूर्खाले सिकाएको सीपमा सन्तुष्ट हुनुपरेको छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:२१ बिहीबार

सिलौटा आधारभुत_आवश्यकता