अर्थ

दिक्तेल महोत्सवको तयारी तीव्र

प्रथम दिक्तेल महोत्सवका लागि निर्माणाधिन स्टल । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी तीव्र पारिएको छ। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक उद्योग बाणिज्य संघ खोटाङले जनाएको छ।

महोत्सवलाई सफल र भब्य बनाउनका लागि आवश्यक पूर्वाधार तयारी तीव्र्र पारिएको उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए। दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवका लागि १२० वटा स्टल निर्माण, वाल उद्यान, रोटे पिङ लगायतका संरचना निर्माणको काम भइरहेको छ।

खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा दिक्तेल महोत्सवको तयारी गरिएको हो। महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औधोगिक उत्पादन, बैंक वित्तीय संस्था र सेवा, अटोमोबाईल सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका स्टल रहने जनाइएको छ। ‘हालसम्म ९० प्रतिशत तयारी पुरा भएको छ,’ अध्यक्ष राईले भने, ‘प्रचार–प्रसार र अतिथि सत्कार, व्यवस्थापनको काम पनि भइरहेको छ।’

आदिबासी जनजातीको साँस्कृतिक भेषभुषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगीतात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक स्टल, जातीय खानाका मौलिक परिकारको विक्री तथा प्रदर्शनी लगायत महोतसवको प्रमुख आकर्षण हुने बाणिज्य संघका महासचिव मनोज बजिमयले बताए।

एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने भएकाले सिक्ने र सिकाउने अवशर प्राप्त हुने र व्यवसायीबीचमा सञ्जाल स्थापना हुने दाबी गरिएको छ। ‘महोत्सवको अल्पकालिन र दिर्घकालिन लक्ष्य निर्धारण गरिएको छ,’ महासचिव बजिमयले भने, ‘बजार पहिचान गर्ने, बजार सिर्जना गर्ने र व्यवसायीबीचमा सञ्जाल निर्माण गर्ने हाम्रो मूख्य लक्ष्य हो।’

हलेसी तुवाचुङ नगरपालिकामा रहेको त्रि–धार्मिकस्थल हलेसी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका धार्मिक, साँस्कृतिक र रमणीय पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी व्यवसाय प्रवद्र्धनमा सहयोग पुरयाउने, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत, जडिबुटी, वन पैदावार लगायतका बारेमा जानकारी गराएर लगानीको अवशर सिर्जना गर्ने, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पुयाउने लक्ष्यकासाथ महोत्सवको तयारी गरिएको हो।

यस्तै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका आधुनिक प्रविधि, वस्तु एबं सेवाहरुको बृहत प्रदर्शनी गरी व्यापक प्रचार–प्रसार गर्ने, अवलोकन गराएर जानकारी गराउने, वस्तु उत्पादनका प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ उपलव्धीलाई जनमानसमा प्रस्तुत गर्ने, जिल्ला तथा जिल्ला बाहिरका व्यवसायीबीमा व्यापार सम्वन्ध बढाउने लगायतका लक्ष्य राखिएको अध्यक्ष राईले बताए।

महोत्सवका माध्यमबाट आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै दिगो आर्थिक संमृद्धि हासिल गर्नमा टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहको कार्यान्वयनसँगै साविकको दिक्तेलबजारको घट्दो व्यापार–व्यवसायलाई पुनः जागृत गराउनका लागि महोत्सवको बिकल्प सोचिएको हो।

एक अर्वको कारोबार हुने प्रक्षेपण
दश दिने महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको बाणिज्य संघले जनाएको छ। करिब एक लाखभन्दा बढि अवलोनकर्ताले जिल्लाको धार्मिक, साँस्कृतिक, रमणीय, प्राकृतिकस्थल, मौलिक संस्कृतिको बारेमा जानकारी पाउने जनाइएको छ। महोत्सवको माध्यमबाट पर्यटन सम्बन्धि प्रचारप्रसार हुँदा  जिल्लाका होटल, लज लगायतका सेवामुलक उद्योग व्यवसाय फस्टाउनमा योगदान पुग्ने संघले जनाएको छ।

‘निरासाजनक अवस्थामा रहेको जिल्लाको व्यवसायीक क्षेत्रलाई नयाँ सिराबाट प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष राईले भने, ‘जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय उत्पादन, जडिबुटी, वनपैदावार, हस्तकलाको बजार प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।’ महोत्सवको अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने जानकारी दिइएको छ।

 

प्रकाशित: २९ माघ २०७६ १२:५६ बुधबार

दिक्तेल_महोत्सव