बाजुरा- बाजुरा आयात हुने र निर्यात नहुने जिल्लाको शिर्ष सूचीमा पर्ने गर्छ। जिल्लाको उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र उपयोग गर्ने परिचय बाजुराको हो। तर विगत एक वर्ष यता त्यो परिचय फेरिएको छ। बाजुराले पनि उत्पादन गर्न सक्छ र उत्पादीत वस्तु प्रयाप्त छ भन्ने प्रमाण पेश गरेको छ।
सात सय क्वीन्टल स्याउ जिल्ला बाहिर बिक्री गरेको बाजुराले एक हजार क्वीन्टल आलु पनि जिल्ला बाहिर नै पठाएर आफ्नो बजार क्षेत्रलाई विस्तार गरिसकेको छ। जिल्लामै उत्पादन भएको कागती समेत काठमाडौंका बजारमा बिक्री गर्न बाजुरा सफल बनेको छ।
ज्ञान केन्द्रले यो पटक सिमी जिल्ला बाहिर पठाउने तयारी थालेको छ।
किसानहरुले आफै बजारसँग जोडिन नसक्ने र सुरुमा जानकारी समेत नहुने भएपछि कृषि ज्ञान केन्द्रले त्यसको सहजीकरण गरिरहेको छ। अनुदान ढुवानीसहित बजार पहिचान र व्यापारीसँगको सम्पर्क विस्तारमा ज्ञान केन्द्रले सहजीकरण गरिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन्।
ज्ञान केन्द्रले यो पटक सिमी जिल्ला बाहिर पठाउने तयारी थालेको छ। विशुद्ध बाजुराकै रैथानी सिमीलाई राजधानी काठमाडौंदेखि धनगढीसहितका शहरमा पठाउने तयारी थालिएको ज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताए।
स्थानीय तहसँगको समन्वय र किसानसँगको प्रत्यक्ष सहकार्यमा सिमी जिल्ला बाहिर लिन लागिएको कार्यालय प्रमुख सिजापतीको भनाई छ। खानमा पनि स्वादीलो र हिमाली भेगमा उत्पादन भएकोले स्वास्थ्यका लागि पनि फाइदा हुने कृषि प्राविधिकहरुको भनाई छ। यो वर्ष मात्र जिल्लाका रैथानी उत्पादनहरु बाह्य बजारसँग जोडिएका छन्। स्याउबाट सुरु गरिएको अभियान सिमीसम्म पुगेको छ।
कृषि उपजको बजारीकरण गर्ने अभियान अन्र्तगत कृषि ज्ञान केन्द्र बाजुराले ७५ क्वीन्टल सिमीमा ढुवानी अनुदान सहयोग गरेको छ। गौमुल गाउँपालिका कृषि विकास शाखाको प्याकेजिङ्ग सहयोग र सहकार्यमा गौमुलबाट मात्र ६५ क्वीन्टल सिमी जिल्ला बाहिर पठाउन लागिएको हो। यस्तै कोल्टी क्षेत्रबाट पनि १० क्वीन्टल सिमी संकलन गरिएको छ।
गौमुल गाउँपालिकाले दहकोट क्षेत्रलाई सिमी उत्पादनकै लागि पकेट क्षेत्र घोषणा गरि त्यसैअनुसार उत्पादनका गतिविधी अघि बढाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। हामी अरुको उत्पादन मात्र प्रयोग गर्ने भयौं, थोरै भएपनि हामीले पनि उत्पादन गर्नुपर्छ भन्ने मान्यताका साथ सुरुआत गरिएको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने रोकायाको भनाई छ।
विशुद्ध विषादी विना उत्पादन गरिएको र कृषि विज्ञद्धारा नै परीक्षण गरिएको अर्गानीक रैथानी सिमी भएकोले बजारमा माग बढ्दो हुने विश्वास गरिएको छ। सदरमुकाम मार्तडीसम्म ढुवानी अनुदानमा आइपुग्ने सिमीको थप बजारीकरण र बिक्री वितरणमा बाजुरा कोशेली घरले जिम्मा लिने सञ्चालक अमर खड्काले बताएका छन्।
बजारमा पाईने सिमी भन्दा २० देखि ५० रुपैयाँ सस्तो मूल्यमा बिक्री गर्ने तयारी गरिएको छ। मार्तडी बजारमा १८० देखि २ सय रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको छ। तर ढुवानी अनुदानमा आइपुगेका सिमी भने प्रतिकेजी १५० देखि १५५ रुपैयाँमा बिक्री गर्न सकिने गौमुल गाउँपालिका कृषि शाखाका रमेश विकले बताएका छन्।
बाजुरामा रैथानी अर्गानीक वस्तु उत्पादनको पहिचान बनाउने गरि कृषि ज्ञान केन्द्रले काम गरिरहेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताएका छन्। बाजुराको उत्पादनले यो वर्ष राम्रो बजार र पहिचान पाएकोमा संघीय सभा सदस्य लालबहादुर थापाले ज्ञान केन्द्रको कामको प्रशंसा गरेका छन्।
बाजुरामा कोदो, मकै, चिनो, कागुनो, फापर, जौसहितका बालीहरु प्रयाप्त मात्रामा पाइने गरेका छन्। त्यसको उत्पादन बढाएर जिल्ला बाहिर बजार विस्तारको अभियान नै सञ्चालन गरिने बाजुरा कोशेली घरका सञ्चालक अमर खड्काले बताए। कोशेली घरकै मार्फत जिल्ला बाहिर बजारीकरण गर्न लागिएको ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए।
अबको केही वर्षमा चामल बाहेक अन्य सबै खाद्यन्न बाजुरा आफै आत्मनिर्भर हुने र रैथानी बाली बाह्य जिल्ला पठाउने गरि उत्पादनका गतिविधी बढाईएको छ। यसै साता मात्र १ लाख बढी जंगली मेलमा कलमी गरेर नास्पाती फलाउने कामको कृषि ज्ञान केन्द्रले सुरुआत
गरेको छ।
प्रकाशित: २९ माघ २०७६ १०:०६ बुधबार