अर्थ

जगन्नाथको नियमित बजेटमा थप पाँच करोड

बाजुरा- स्थानीय तहमा आउने बजेटमा मात्र जनप्रतिनिधि सन्तुष्ट छैनन्। साविक गाविस र जिविसको तुलनामा भारी बजेट आएपनि उनीहरुले अझै अपुग नै भएको गुनासो गर्ने गरेका छन्। बजेट अपुग नै भएको अभिव्यक्ति दिन जनप्रतिनिधि पछि पर्दैनन्। संघ र प्रदेशले बजेट सहयोग गर्दैनन् र स्थानीय तहको बजेटमै सीमित हुनु परेको गुनासो अधिकांश जनप्रतिनिधिको छ।

तर जगन्नाथ गाउँपालिकाको हकमा भने यो गुनासो सुन्न पर्ने अवस्था छैन। गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले ठूलो मात्रामा विकासका लागि थप अनुदान बजेट ल्याएका छन्। नियमित गाउँपालिकामा आउने बजेटमा थप ५ करोड बढी बजेट अनुदान प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले जानकारी दिएका छन्।

अध्यक्षले संघीय र प्रदेश सरकारसँग राम्रो सम्पर्क समन्वय बढाउनु भएको छ, यो वर्ष मात्र निर्माण तर्फ ५ करोड २३ लाख बजेट थप आएको गैरेको भनाई छ। जगन्नाथ गाउँपालिकाको कुल १३ करोड बजेटमा संघिय सरकारबाट मात्र ५ करोड २३ लाख बजेट थप भित्रिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्।

जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही नेकपा बाजुराका पनि अध्यक्ष हुन्। राजनीतिक पहुँच र प्रभावले पनि राम्रै काम बन्ने रहेछ। त्यसैमा काम गर्ने इच्छा शक्तिकै कारण थप बजेट ल्याउन सफल भएको अध्यक्ष शाहीले बताएका छन्। जगन्नाथ जिल्लाकै दुर्गम गाउँपालिका मध्ये पर्छ।

राज्यले पनि बिशेष महत्व दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, हामीलाई थुप्रै लगानीका क्षेत्र छन्, वडामा पुर्‍याएका सडक गाडी गुड्ने बनाउनु छ, स्कुलका संरचनाको अवस्था त्यस्तै छ, ५ करोड पनि कम हो, अध्यक्ष शाहीले भने।

जगन्नाथमा यो वर्ष प्रदेश पूर्वाधार कार्यक्रमको ४८ लाख, संघीय सरकार पूर्वाधार विकास कार्यक्रमको ९० लाख, राष्ट्रिय योजना आयोगबाट समपुरक र विशेष अनुदान ३ करोड १० लाख र प्रदेश विशेष अनुदान थप ७५ लाख रुपैयाँ प्राप्त भएको गाउँपालिकाले बताएको छ।

गाउँपालिकाले निर्माण हुने योजनाको ५ प्रतिशत रकम अन्तिम भुक्तानी लिँदा गाउँपालिकाको धरौटी खातामा जम्मा गर्नुपर्ने र उक्त धरौटी रकम योजना सम्पन्न भएको एक वर्षपछि योजनामा कुनै समस्या नआएमा प्राविधिकको अनुगमन प्रतिवेदनका आधारमा फिर्ता गर्ने नीति लिएको छ।

गाउँपालिकाले राम्रो काम गर्ने उपभोक्ता समितिलाई ५० हजार पुरस्कारको व्यवस्था गरेको छ। प्रत्येक योजनाको गुणस्तर बारे जानकारी लिन गाँउपालिकाका वडा अध्यक्ष, प्राविधिक र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वममा रहेको टोलीले नियमित अनुगमन गर्ने गरेको छ।

गाउँपालिकाले भौतिक पूर्वाधारका योजनाहरुमा यो वर्ष ११ करोड ४० लाख रकम विनियोजन गर्नुका साथै प्रति वडा औषत २ करोड रुपैयाँ पूर्वाधार विकासमा खर्च हुने रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्।

 

प्रकाशित: २९ माघ २०७६ ०८:०७ बुधबार

जगन्नाथ बजेट