अर्थ

२५ व्यवसायीलाई सिआइपी सम्मान

काठमाडौं - निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ। मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै एक दर्जन विधामा २५ उद्योगी व्यवसायीलाई मंगलबार एक कार्यक्रमबीच सम्मान गरिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार महत्वपूर्ण व्यावसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गएिको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई अवार्डबाट प्रदान गरेका थिए। मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलाई सम्मान गरिएको थियो।

विभिन्न वर्गमा व्यापारीलाई सम्मान गरिएको हो। वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका वस्तु निर्यात गर्ने उद्योगी, व्यवसायीलाई सरकारले सम्मान गरेको हो। बैंकिङ प्रणालीबाट सबैभन्दा धेरै वैदेशिक मुद्रा ल्याउने आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका अध्यक्ष पवन गोल्यान, पर्यटन व्यवसायबाट विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेशलाल श्रेष्ठलाई सिआइपी सम्मान दिइएको छ।

सम्मानितलाई विमानस्थलका सिआइपी लाउन्ज तथा सरकारी र निजी क्षेत्रले आयोजना गर्ने उद्योग वाणिज्य क्षेत्रका कार्यक्रममा प्राथमिकता

विदेश निकासी गर्नेमध्ये सबैभन्दा धेरै पाँच वस्तु निर्यात गर्ने उद्योगीलाई सम्मान गरिएको छ। धागो निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालिका अध्यक्ष रामचन्द्र संघई, गलैंचा निर्यात गर्ने द सांग्रिला क्राफ्ट एन्ड ह्यान्डिक्राफ्टस इन्डस्ट्रिज प्रालिका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्जेन लामा, तयारी पोसाक निर्यात गर्ने काठमाडौं स्टार फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य, पस्मिना सल निर्यात गर्ने एभरेस्ट पस्मिना निटिङ एन्ड वेभिङ इन्डस्ट्रिजका अध्यक्ष सूर्यकुमार गुरुङ, एभरेस्ट फेसनका प्रोप्राइटर रविन श्रेष्ठ सम्मानित भएका छन्।

त्रिवेणीले तेस्रो मुलुकतर्फ तीन अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको धागो, द सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट इन्डस्ट्रिज प्रालिले ९४ करोड १७ लाख रुपैयाँको उनी गलैंचा, काठमाडौं स्टार फेसनले ८२ करोड ८७ लाख रुपैयाँ बराबरको तयारी पोसाक, एभरेस्ट पस्मिना निटिङ एन्ड वेभिङ इन्डस्ट्रिजले ४८ करोड १४ लाख रुपैयाँ बराबरको ऊनी तथा पस्मिना सल निर्यात गरेको छ। त्यसैगरी, एभरेस्ट फेसनले  ६९ करोड ७१ लाख बराबरको ऊनी फेल्टका सामान निर्यात गरेको छ।

त्यसैगरी, डाबर नेपालका बिजनेस हेड हरिकिरतसिंह बेदी, आरती स्ट्रिपका महाप्रबन्धक दिव्यराज सापकोटा, हुलास वायरका निर्देशक युक्ति गोल्छा, न्यू हस्तकला एक्सपोर्टका सञ्चालक पेम्बादोर्जे शेर्पा, गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्टका विश्वराज बस्नेत, न्यू प्यागोडा इन्टरप्राइजेजका प्रोप्राइटर मच्छिन्द्र पाण्डे सम्मानित भएका छन्। डाबरले १२ अर्ब ७० करोड ६७ लाखको, आरतीले पाँच अर्ब तीन करोड ३५ लाखको, हुलास वायरले चार अर्ब ९५ करोड ६० लाखको, न्यू हस्तकला एक्सपोर्टले ४३ करोड ६० लाखको, गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्टले ३९ करोड ३३ लाखको, न्यू प्यागोडा इन्टरप्राइजेजले २२ करोड ४२ लाख रुपैयाँका सामान निर्यात गरेको जनाइएको छ।

त्यसैगरी, सिजी बायोटेकका अध्यक्ष निर्वाणकुमार चौधरी, पिपुल्स क्राफ्ट एक्सपोर्ट, मनराम हिमालयन ह्यान्डिक्राफ्टस, हुलास वायर्स इन्डस्ट्रिज, सफ्टवेयर निर्यात गर्ने एलआइएस नेपाललाई पनि सम्मान गरिएको छ। उत्पादनमूलक उद्योगतर्फ होङ्सी सिमेन्टका प्रबन्ध निर्देशक लिऊ सु कुवाङलाई सम्मान गरिएको छ। सिआइपीबाट सम्मानित हुने व्यवसायीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलको आगमन–प्रस्थान कक्षमा रहेको सिआइपी लाउन्ज प्रयोग  गर्न पाउँछन्। सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका कार्यक्रम, व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीमा प्राथमिकता पाउने छन्।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गरे। ‘ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु,’ उनले भने, ‘निजी क्षेत्रको साथमा सरकार छ।’ प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने पनि बताए। उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई उनले आग्रह गरे। राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै अबको लक्ष्य आर्थिक विकास भएको उनले बताए।

निजी क्षेत्र समृद्ध भए देश पनि समृद्ध हुने उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताए। सिआइपी सम्मान हरेक दुई वर्षमा प्रदान गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले जानकारी दिए। निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यले व्यवसायीको मनोबल बढ्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।

प्रकाशित: २९ माघ २०७६ ०२:१५ बुधबार

व्यवसायी मन्त्रालय सम्मान